Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमन्त्रालयका कर्मचारीमा कोरोना देखिएपछि प्रदेश २ का मन्त्रालयहरुको कामकाज बन्द

मन्त्रालयका कर्मचारीमा कोरोना देखिएपछि प्रदेश २ का मन्त्रालयहरुको कामकाज बन्द


बटुकनाथ झा
जनकपुरधाम, साउन २२
प्रदेश २ स्थित मन्त्रालयका कर्मचारीहरु संक्रमित हुनथालेपछि मन्त्रालयको सम्पूर्ण कामकाज बन्द गरी कार्यालय बन्द गरिएको छ । पछिल्लोपटक समाजिक विकास मन्त्रालयमा ४ र मुख्यमन्त्री कार्यालय कार्यालयमा ६ जनामा कोरोना संक्रमण देखिएपछि सतर्कता र सुरक्षा अपनाउन प्रदेशस्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाहेक सबै मन्त्रालयको कार्यालय बन्द गरिएको हो ।

मुख्यमन्त्री लालबाबु राउतका प्रेस सल्लाहका अनुसार मन्त्रालयमा संक्रमित फेला परेपछि अन्य कर्मचारी र सेवाग्राहीको सुरक्षाको दृष्टिगत गर्दै सोही दिनदेखि कार्यालयको कामकाज बन्द गरिएको हो । कन्ट्राक्ट ट्रेसिङसहित सबै कर्मचारीको स्वाब संकलन गरिएको रिपोर्ट आएपछि मुख्यमन्त्री कार्यालयलगायत अन्य मन्त्रालयको कार्यालय खोलेर कामकाज सुरु गरिने उनले बताए । प्रदेश २ अहिले कोरोना संक्रमणको हटस्पट नै बनेको छ ।

उच्च जोखिमको दृष्टिगत गर्दै सर्तकता र सुरक्षाका लागि प्रदेशका ४ जिल्ला र ३ जिल्लाका प्रमुख सहरहरुमा निषेधाज्ञा जारी गरिएको छ । प्रदेश २ मा हालसम्म ५ हजारभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन । जनकपुरधामका वित्तीय संस्था, प्रदेश मुख्यालय, अस्पताल, न्यायालय तथा सुरक्षाकर्मीहरुमा समेत संक्रमण पुष्टि हुनथालेपछि प्रशासनले तत्काल सोमबार मध्यरात १२ बजेदेखि आगामी आइतबार मध्यरात १२ सम्म सात दिनका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रदेश २ मा २ सय २७ जनामा संक्रमण : प्रदेश २ मा थप २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेश २ का विभिन्न जिल्ला गरी २ सय २७ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रादेशिक अस्पताल र जनकपुरस्थित माछापुच्छ्रे बैंकका कर्मचारीहरूमा संक्रमण पुष्टि भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका ८, प्रादेशिक अस्पतालका दुई चिकित्सकसहित ५ र माछापुच्छ्रे बैंकका थप तीन जना कर्मचारीमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसअघि प्रादेशिक अस्पतालका १७ र माछापुच्छ्रे बैंकका चार जनामा संक्रमण पुष्टि भएको थियो । यसबाहेक जनकपुरधाम उपमहानगरपालिका २, ४ र ९ बस्ने एक महिलासहित ४ जना, सीएम क्वारेन्टाइनका १, हंसपुर नगरपालिकाका १ र धनौजी गाउँपालिकाका १ जनासहित धनुषाको २३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यसैगरी महोत्तरीको भंगहा नगरपालिकाका ११, जलेश्वर नगरपालिका, बर्दिवास नगरपालिका र एकडारा गाउँपालिकाका १÷१ जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।

यता पर्साको वीरगंज महानगरपालिकामा ९२, जगरन्नाथपुर गाउँपालिकामा १, वडा प्रहरी कार्यालय बिर्तामा १, इलाका प्रहरी कार्यालय प्रसौनीका ४, आर्मी ब्यारेकका १, सशस्त्र प्रहरी बल भन्सारका २, जीराभवानी गाउँपालिकाका १, विन्दवासिनी गाउँपालिकाका १, वीरगंज कारागारका ३०, वीरगञ्ज चिनीमिलका ५, पोखरिया नगरपालिकाका ४ र नारायणी अस्पतालका एक जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी बाराको सिमरा क्वारेन्टाइनका १७, फेटा गाउँपालिकाका १ र कलैया उपमहानगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ । सप्तरीको राजविराज नगरपालिकाको एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x