Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाबाट ८० पुरुष र २२ महिलाको मृत्यु, शिक्षण अस्पतालका एक तिहाइ शय्या आइसोलेसन

कोरोनाबाट ८० पुरुष र २२ महिलाको मृत्यु, शिक्षण अस्पतालका एक तिहाइ शय्या आइसोलेसन


काठमाडौं, साउन ३२
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरिका शिक्षण अस्पताललाई एकतिहाइ शय्या आइसोलेसनका लागि छुट्याउन अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरि कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमित राख्नका लागि अस्पतालले छुट्टै भवन वा कक्ष तोकी स्वीकृत सङ्ख्याको एक तिहाइ हुन आउने शय्या सङ्ख्या छुट्याई उपचारको व्यवस्था तत्काल मिलाउन अनुरोध गरिएको जानकारी दिए । यसैगरी मन्त्रालयले सभा, सेमिनार, आवासीय कार्यक्रम, गोष्ठी नगर्न अनुरोध गरेको छ । अर्को सूचना नभएसम्म र स्वास्थ्य मन्त्रालयको पूर्वस्वीकृत नलिई कुनै पनि सभा/गोष्ठी नगर्न अनुरोध गरेको छ ।

यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूले पाँच दिनपछि मात्र पीसीआर परीक्षण गराउन अनुरोध गरेको छ । मन्त्रालयले सङ्क्रमित व्यक्तिका सम्पर्कमा आएका व्यक्तिले तुरुन्तै पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको पाइएकाले त्यसो नगरी सङ्क्रमित व्यक्तिको रिपोर्ट आएको पाँच दिनपछि मात्र पीसीआर परीक्षण गराउन अनुरोध गरेको हो । ‘पीसीआर पोजेटिभ आउन पाँच/सात दिन लाग्ने भएकाले र तुरुन्तै पीसीआर परीक्षण गर्दा फाल्स नेगेटिभ (परीक्षण गर्दा नेगेटिभ तर दुई/चार दिनपछि पोजेटिभ आउनसक्ने) हुने भएकाले पाँच दिन नपुगी परीक्षण नगर्न, नगराउन अनुरोध गरेको छ’, स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले भने ।

अहिले उपत्यकामा १४ अस्पताललाई पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन केन्द्रका रूपमा तोकी स्वाब सङ्कलन गरिँदै आइरहेको छ । यसका साथै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र स्थानीय तहले पनि आवश्यकतानुसार स्वाब सङ्कलन गरिरहेका छन् । अहिलेसम्म नेपालमा पाँच लाख पाँच हजार छ सय ६० जनाको पीसीआर परीक्षण गरिएको छ ।

यस्तै, नेपालमा थप चार सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शनिबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा चार सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । गत २४ घण्टामा देशभरिको प्रयोगशालामा ११ हजार चार सय ४७ नमूना परीक्षण गर्दा चार सय ६८ जनामा कोरोना देखिएको हो ।

यससँगै कोरोना सङ्क्रमितको सङ्ख्या २६ हजार १९ पुगेको छ । हालसम्म १७ हजार दुई सय एक जना उपचारपछि निको भएर घर फर्केका छन् । मन्त्रालयका अनुसार हालसम्म पाँच लाख पाँच हजार छ सय ६० जनाको पीसीआर परीक्षण गरिएको छ । पछिल्लो समयमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि खटिएका चिकित्सक र नर्सहरूमा समेत कोभिड–१९ सङ्क्रमण देखिएको र उनीहरूमाथि दुर्व्यवहार भएको समाचार प्राप्त भएको भन्दै दुर्व्यवहार नगर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

हालसम्म विश्वमा दुई करोड १३ लाख ५७ हजार आठ सय ९० कोभिड–१९ बाट सङ्क्रमित छन् । यसको सङ्क्रमणबाट हालसम्म सात लाख ६३ हजार तीन सय ८७ जनाको मृत्यु भइसकेको छ । एक करोड ४१ लाख ५१ हजार सात हजार ६६ जना उपचारपछि निको भएर फर्किएका छन् । मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी चार जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्य छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तु, पर्सा र धनुषा जिल्लाका एक/एक गरी तीन जनाको मृत्यु भएको हो । योसँगै मृतकको सङ्ख्या एक सय दुई पुगेको छ । तीमध्ये ८० पुरुष र २२ महिला रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x