Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलकडाउनमा पनि भित्रियो उद्योगमा छ अर्ब प्रत्यक्ष वैदेशिक लगानी

लकडाउनमा पनि भित्रियो उद्योगमा छ अर्ब प्रत्यक्ष वैदेशिक लगानी


काठमाडौं, साउन ३२
बन्दाबन्दीमा पनि उद्योग क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) छ अर्ब रुपैयाँ आएको छ । हवाइ सेवा तथा सीमा नाका बन्द हुँदा लगानीकर्ताहरु स्वयं आउन नसक्ने परिस्थितिमा पनि नेपालको उद्योग क्षेत्रमा लगानी भित्रिएको उद्योग विभागले बताएको छ ।

विभागका निर्देशक प्रेम प्रसाद लुइँटेलले हवाइ सेवा तथा आंशिक रुपमा सीमा नाका बन्द गरेको अवस्थामा समेत उद्योग क्षेत्रमा एफडीआई आएको बताए । ‘लगानी रकम ल्याउनको लागि स्वयं लगानीकर्ता उपस्थिति हुनु आवश्यक छैन’, उनले भने, ‘विदेशी लगानीकर्ताले नेपालस्थित उनीहरुको प्रतिनिधिहरुलाई अख्तियारनामा प्रदान गरेका हुन्छन्, सोहीमार्फत एफडीआई देखिएको हो । विभागमा जति पनि एफडीआई आएको छ, ती विदेशी लगानीकर्ताहरुले नेपालस्थित प्रतिनिधिहरुलाई दिएको अख्तियारनामामार्फत आएको हो ।’

उनले चालू आर्थिक वर्ष २०७७/०७८ को एक महिनामा विभागसमक्ष ३२ वटा उद्योग स्थापनाका लागि ६ अर्ब ११ करोड ३५ लाख रुपैयाँ प्रतिबद्धता आएको बताए । यसले विदेशी लगानीकर्ताहरु नेपालको उद्योग क्षेत्रमा आकर्षित भइरहेको पुष्टि गर्छ । त्यस्तै भोलिका दिनमा समय सामान्य बन्ने र आफ्नो उद्योग व्यवसाय फस्टाउने लगानीकर्ताको विश्वासलाई जनाउँछ । यही विश्वासमा लगानीकर्ताहरु नेपालको उद्योग क्षेत्रमा लगानी गर्न आएको निर्देशक लुइँटेलको भनाइ छ ।

‘उक्त लगानी रकम उत्पादन, सेवा र पर्यटन उद्योगको लागि आएको हो । बन्दाबन्दीमा सबैभन्दा बढी भने पर्यटन उद्योगको लागि आएको छ’, उनले आर्थिकसँग भने, ‘कोभिड १९ ले प्रभावित बनेको एउटा क्षेत्रमध्ये पर्यटन पनि एक हो । त्यही पनि लगानीकर्ता आउनु भनेको भोलिको समयलाई विचार गर्दै लगानी आएको हो भन्न सक्छौँ ।’

विदेशी लगानीकर्ताहरुले एक महिनाको अवधिमा १८ वटा पर्यटन उद्योग स्थापना गर्नका लागि तीन अर्ब ७१ करोड ३५ लाख लगानी गर्ने विभागसमक्ष प्रतिबद्धता गरेका छन् भने १३ वटा सेवा उद्योग स्थापनाका लागि दुई अर्ब ३५ करोड तथा एउटा उत्पादनमूलक उद्योग स्थापना गर्न पाँच करोड लगानी प्रतिबद्धता जनाएका छन् । उनीहरुले उद्योग स्थापनासँगै एक हजार पाँच सय ६१ जनालाई रोजगारी दिने प्रतिबद्धता पनि समेत जनाएका छन् । जसमध्ये पर्यटन उद्योगमा नौ सय ४४ जना, सेवा उद्योगमा पाँच सय ७७ जना र उत्पादनमूलक उद्योगमा ४० जनालाई रोजगारी दिने बताएका छन् ।

उक्त अवधिमा विभागबाट सबैभन्दा धेरै लगानी प्रतिबद्धता जनाउनेमा चिनियाँ लगानीकर्ता रहेका छन् । त्यसपछि क्रमशः भारतीय, बेलायत र दक्षिण कोरियाका लगानीकर्ताहरु रहेका छन् । चिनियाँ लगानीकर्ताहरुले २७ वटा उद्योग स्थापनाका लागि पाँच अर्ब ८० करोड ८० लाख, भारतीय लगानीकर्ताहरुले दुईवटा उद्योग स्थापनाका लागि १५ करोड, बेलायतका लगानीकर्ताहरुले दुईवटा उद्योग स्थापनाका लागि १० करोड ५० लाख र दक्षिण कोरियाका लगानीकर्ताहरुले एउटा उद्योग स्थापनाका लागि पाँच करोड लगानी प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी कतिपय लगानीकर्ताहरुले भने उक्त अविधभन्दा अघिदेखि नै उद्योग स्थापनाका लागि प्रक्रिया अघि बढाएको र हाल आएर प्रक्रियाले पूर्णता प्राप्त गर्ने हुँदा लगानी प्रतिबद्धतामा वृद्धि भएको हुनसक्ने विभागले जनाएको छ । त्यस्तै गत आवको सोही अवधिलाई तुलना गर्ने हो भने सो समयमा भने २४ वटा उद्योग स्थापना गर्ने भन्दै एफडीआईस्वरुप तीन अर्ब ८६ करोड ८० लाख प्रतिबद्धता आएको थियो । सो अवधिमा पनि सबैभन्दा धेरै रकमचाहिँ पर्यटन उद्योग अर्थात् १४ वटा पर्यटन उद्योग स्थापनाका लागि दुई अर्ब ४० करोड प्रतिबद्धता आएको थियो ।

त्यसैगरी उक्त अवधिमा सातवटा सेवा उद्योगको लागि एक अर्ब १६ करोड ८० लाख, दुईवटा उत्पादनमूलक उद्योगका लागि २५ करोड र एउटा कृषि तथा वनजन्य उद्योगका लागि पाँच करोड लगानी प्रतिबद्धता आएको थियो । उनीहरुले उद्योग स्थापनासँगै एक हजार दुई सय ९३ जनालाई रोजगारी दिने समेत बताएका थिए तर अवस्था सामान्य नहुँदा ती सबै उद्योगहरु स्थापना हुन नसकेको विभागले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x