Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतिक्तता बढेको बेला ओली–मोदी बोलचाल

तिक्तता बढेको बेला ओली–मोदी बोलचाल


काठमाडौं, साउन ३२
सीमा विवादको कारण नेपाल र भारतबीच सम्बन्धमा तिक्तता थपिँदै गएको बेला शनिबार भारतको ७४औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिन नेपालका प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई फोन गरेका हुन् । फोन वार्तालाई दुवै देशका परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी पुष्टि गरेका छन् । वार्तामा के–के विषयमा कुरा भयो भन्नेबारे स्पष्ट खुलाइएको छैन ।

भारतले गत वैशाख २६ गते शुक्रबार नेपालको दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ को गुन्जीदेखि लिपुलेकसम्मको भूमिमा करिब २२ किलोमिटर सडक निर्माण गरी तावाघाट–लिपुलेक–मानसरोवर सडक उद्घाटन गरेपछि दुई देशबीच तीव्र विवाद छ । उक्त नेपाली भूमिमा भारतले सडक बनाएर उद्घाटन गरेपछि नेपालले भारतलाई विरोधपत्र दिएको थियो ।

भारतीय पक्षको उक्त कदमको नेपालमा चौतर्फी विरोध भएपछि सरकारले जेठ ७ गते नयाँ नक्सा सार्वजनिक गरी संघीय संसद्बाट जेठ ३१ गते सर्वसम्मत रुपमा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेको चुच्चे नक्सा र निशान छाप पास गरेको थियो । उक्त नक्सालाई नेपाली र अंग्रेजी दुवै भाषामा नेपालले प्रकाशित गरिसकेको छ । त्यसको केही समयपछि भारतले पनि नेपालको नयाँ नक्साप्रति विरोधपत्र दिएको थियो । यसअघि भारतले गत कात्तिकमै नयाँ नक्सा सार्वजनिक गर्दा नेपालीभूमि समावेश गरेको थियो । त्यसको पनि नेपालले विरोधपत्र दिएको थियो ।

नेपालको प्रतिनिधिसभाले गत जेठ ३१ गते शनिबार कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको क्षेत्र समेटिएको चुच्चे नक्सा र निशान छाप सर्वसम्मत पारित गरेपछि भने नेपाल र भारतबीच थप तिक्तता बढेको थियो । नेपालका संसद्बाट सर्वसम्मत उक्त प्रस्ताव पास हुनेमा भारतले शंका गरेको थियो । प्रतिनिधिसभामा उपस्थित सबै दुई सय ५८ मत नै नयाँ नक्सा र निशान छाप पारित गर्न परेको थियो । विपक्षमा कुनै पनि मत परेको थिएन ।

नेपाल र भारतबीच सीमा विवादको बारेमा पटक–पटक वार्ता भए पनि सहमति भएको थिएन । नेपाल र भारतबीच विभिन्न विषयमा वार्ता गर्ने तय हुँदै गर्दा गत चैतदेखि कोरोना भाइरसको कारण लकडाउन भएको थियो । दुई देशका प्रधानमन्त्रीबीच चैत २८ गते कोरोना भाइरस र दुई देशको सहयोगको विषयमा वार्ता भएपछि कुनै वार्ता भएको थिएन । नयाँ नक्सा जारी गरेपछि नेपालले वार्ताको लागि पहल गरे पनि भारत वार्ताको प्रस्तावलाई बेवास्ता गर्दै वार्ताबाट भाग्दै आएको थियो । स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री मोदीले छिमेकी देशहरुसँग सम्बन्ध सुधार्ने बताएपछि नेपालका प्रधानमन्त्री ओलीले मोदीलाई स्वतन्त्रता दिवसको अवसरमा बधाई दिन र मोदीको भनाइप्रति धन्यवाद दिन फोन गरेका थिए ।

नयाँ नक्सा जारी गरेपछि नेपालदेखि चिढिएको भारत भानु जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले राम भारतको विवादास्पद भूमिमा नभई नेपालको ठोरीको अध्योध्यापुरीमा जन्मिएको बताएपछि थप चिढिएको थियो । त्यसपछि भारतका विदेशमन्त्रीले गौतम बुद्धलाई भारतीय महान् बुद्ध भनेपछि विवाद र तिक्तता बढेको थियो । स्रोतका अनुसार दुवै प्रधानमन्त्रीले आगामी दिनमा थप विषयमा वार्ता गर्ने सहमति गरेको कारण नेपाल र भारतबीच देखिएको सीमा विवादबारे वार्ता हुने अपेक्षा गरिएको छ ।

कुराकानीका क्रममा दुवै देशका प्रधानमन्त्रीले कोभिड–१९ विरुद्ध गरिएका पछिल्ला प्रयासबारे विचार आदानप्रदान गर्नाका साथै महाव्याधिका क्षेत्रमा सहकार्य गर्न सहमत भएको बताइएको छ । महामारीबाट नेपाली जनतालाई जोगाउन तथा त्यसविरुद्ध नेपाल सरकारका प्रयासबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप चाँडोभन्दा चाँडो विकास हुनुपर्नेेमा जोड दिएको राससले पनि जनाएको छ । ओलीले भारतसहित विश्वका वैज्ञानिक त्यस्तो खोप विकास गर्न सफल हुने र त्यसले रोगको रोकथाम र फैलावट नियन्त्रणमा योगदान गर्ने आशा व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारत निर्वाचित भएकामा प्रधानमन्त्री मोदीलाई बधाई ज्ञापन गर्दै उक्त निकायको महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न भारतलाई सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरेका थिए । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारतको उम्मेदवारीमा नेपालले पनि समर्थन गरेको थियो ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x