Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविकास खर्च जुटाउन सरकारले आज दश अर्बको ऋणपत्र बिक्री गर्ने

विकास खर्च जुटाउन सरकारले आज दश अर्बको ऋणपत्र बिक्री गर्ने


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज मंगलबार सात वर्षे अवधिको १० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्रको बिक्री खुल्ला गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्ममा बोलकबोलको माध्यमद्वारा विकास ऋणपत्र २०८४ घ (सात वर्षे) बिक्री गर्न लागिएको हो । सरकारलाई देशको आर्थिक विकासको लागि आवश्यक मध्यम तथा दीर्घकालीन अवधिको स्रोत जुटाउनु नै विकास ऋणपत्रको मुख्य उद्देश्य हो ।

सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागद्वारा निष्काशन गरिने ऋणपत्रको जारी मिति असोज २१ गते बुधबार तोकिएको छ भने ऋणपत्रको परिपक्व हुने अर्थात् सावाँ भुक्तानी हुने अवधि २०८४ असोज २१ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्नेछन् ।

छुट्याइएको रकममध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड रुपैयाँ रहेको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जानकारी दिएको छ । खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्न सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यस बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्र्धीको रुपमा भाग लिन पाउनेछैनन् । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुनेछ । यसअघि यही असोज ९ गते पनि राष्ट्र बैंकले २० अर्ब रुपैयाँको नौ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘घ’ बिक्री गरेको थियो ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र दुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । सो अनुसार चालू आवको प्रथम चौमासिकमा ५७ अर्ब, दोस्रो चौमासिकमा ५६ अर्ब र तेस्रो चौमासिकमा ४९ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र दुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने लक्ष्य राष्ट्र बैंकको रहेको छ । सोहीअनुरुप राष्ट्र बैंकले पछिल्लो समयमा विकास ऋणपत्र, ट्रेजरी बिललगायतका मौद्रिक उपकरणको बिक्री खुल्ला गर्दै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया