Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलघुवित्त संस्थाले माघ १२ गतेसम्म एकमुष्ठ प्रदान गरिने पुनर्कर्जाको आवेदन दिनुपर्ने

लघुवित्त संस्थाले माघ १२ गतेसम्म एकमुष्ठ प्रदान गरिने पुनर्कर्जाको आवेदन दिनुपर्ने


काठमाडौं ।
विश्व महामारी कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित उद्योग, व्यवसायहरूको लागि एकमुष्ठ रुपमा प्रदान गरिने पुनर्कर्जाको लागि आवेदन दिने समय आउँदो माघ १२ गतेसम्म तोकिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार लघुवित्त वित्तीय संस्था समेतको नाउँमा सार्वजनिक सूचना जारी गर्दै उक्त मितिसम्म पुनर्कर्जाको लागि आवेदन दिइसक्न निर्देशन दिएको हो ।

पुनर्कर्जा कार्यविधि २०७७ अनुसार एकमुुष्ठरुपमा प्रदान हुने साधारण पुनर्कर्जाको लागि आवेदन दिन आह्वान गरिएको राष्ट्र बैंकले जनाएको छ । यस्तो पुनर्कर्जाको लागि आवेदन दिन सातवटा शर्तहरू पूरा गरेको हुनुपर्नेछ । यी शर्तहरूमा संस्थाले माग गर्ने कुल पुनर्कर्जाको रकम संस्थाको अघिल्लो त्रैमासिकको पुँजीकोषको अधिकतम ६५ प्रतिशतसम्म हुनुपर्ने, आवेदन पेस गर्ने संस्थाको अघिल्लो त्रैमासिकको पुँजीकोष अनुपात राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेको हुनुपर्ने, पुँजी योजनाअनुसार चुक्ता पुँजी पुगेको हुनपर्ने, विगत तीन वर्षदेखि संस्थाका सञ्चालक समितिका पदाधिकारीहरू तथा प्रमुखलाई कुनै कारबाही नभएको हुनुपर्ने, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर कर्जा प्रवाह नगरेको हुनुपर्ने, विगत एक वर्षमा राष्ट्र बैंकबाट शीघ्र सुधारात्मक लगायत कुनै पनि कारबाहीमा नपरेको हुनुपर्ने र पुनर्कर्जा प्राप्त गर्ने संस्थाले प्राप्त स्रोतको आधारमा सम्पूर्ण ऋणीको ब्याजदर कम हुने गरी ब्याजदरमा समायोजन गरेको हुनुपर्ने न्यूनतम शर्तहरू पूरा गरेको हुनुपर्नेछ ।

यसअघि यही पुस १९ गते पनि राष्ट्र बैंकले एकमुष्ठ रुपमा प्रदान गरिने पुनर्कर्जाको लागि माघ १६ गतेसम्म आवेदन दिन वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको नाउँमा परिपत्र जारी गरेको थियो । पुनर्कर्जा कार्यविधि २०७७ अनुसार एकमुष्ठ रुपमा प्रदान हुुने लघु, घरेलुु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाको यस्तो आवेदन दिनुपर्नेछ ।

आवेदनका लागि योग्य कर्जाअन्तर्गत कोरोना भाइरस (कोभिड १९) बाट अतिप्रभावित क्षेत्र अर्थात् पर्यटन क्षेत्रसँग सम्बन्धित होटल, ट्राभल एजेन्सी, मनी चेन्जर कम्पनी, हवाइ, मनोरञ्जन पार्क, चलचित्र उत्पादन, वितरण, सिनेमा हल, रोजगारी गुमेका श्रमिक आदि रहेका छन् । कोभिड १९ बाट मध्यम प्रभावित क्षेत्रअन्तर्गत भने खप्ने सामानहरू जस्तै प्लाष्टिक, फलाम स्टिल, ब्युटिपार्लर, हेल्थ सेन्टर, स्पा, फिटनेस सेन्टर, निर्माण व्यवसाय, औषधि उत्पादन, छपाइ प्रकाशन तथा सञ्चार गृह, निर्माणाधीन जलविद्युत् गृह, नवीकरणीय ऊर्जालगायतका रहेका छन् ।

अतिप्रभावित र मध्यम प्रभावित उद्योग व्यवसायहरूका तर्फबाट बैंक तथा फाइनान्स कम्पनीहरूले माग गर्ने कुल पुनर्कर्जा संस्थाको प्राथमिक पुँजीको २० प्रतिशतसम्म राष्ट्र बैंकले जनाएको छ । एकभन्दा बढी बैंक तथा वित्तीय संंस्थाहरूमार्फत कर्जा उपयोग गरेका ऋणीहरूको हकमा एक बैंक वा वित्तीय संस्थामार्फत मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्नेछ भने पुनर्कर्जाको लागि आवेदन गर्दा लघु, घरेलुु तथा साना उद्यम क्षेत्रका ऋणीहरूलाई अधिकतम मात्रामा समेट्ने गरी आवेदन गर्नुपर्नेछ । आवेदकको लागि कर्जा छनौट गर्दा संस्थाको पुँजीकोष राष्ट्र बैंकले तोकेको अनुपातमा हुनुपर्ने शर्तहरू तोकिएको जानकारी राष्ट्र बैंकले दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया