Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमुख्य नाका बन्द हुँदा तस्करी बढ्यो

मुख्य नाका बन्द हुँदा तस्करी बढ्यो


विराटनगर ।
गृह मन्त्रालयले गत माघ १६ गतेदेखि नेपाल र भारतका २८ वटा सीमा नाका खोल्ने निर्णय गरेर पनि विराटनगरस्थित रानीनाकामा अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । उक्त नाका सञ्चालनमा नआएपछि अवैधरूपमा वैकल्पिक नाका खुलेयाम सञ्चालनमा भइरहेका छन् ।

नेपाल–भारत वारिपारि गर्नेहरू अहिले पनि चोर बाटोबाट आउजाउ गर्नेको भीड हरेक दिन बढ्दै गएको छ । गृह मन्त्रालयले उपलब्ध गराएको अनलाइन फारम भरेपछि भारतीयलाई नेपालतर्फ प्रवेश गर्न दिने नियम सरकारले बनाएको छ । तर क्यारिङ गर्ने र तस्करी व्यवसाय सञ्चालन गर्नेहरूका लागि अहिलेको अवैध नाका निकै फलिफाप भएको बताउन थालिएको छ ।

एक स्थानीयले भने, ‘तस्करले तस्करी गरिरहेका छन्, अब पनि के नियम राखिराखेको होला, चोर बाटोबाट सबै गएकै छन्, आएकै छन् ।’ प्रहरीसँग सेटिङ नमिल्दा मात्र ती तस्करहरू पक्राउ पर्नेगरेको उनीहरूको भनाइ छ । कोरोनाको निहुँमा बन्द भएको सीमा नाका नखोल्दा चोर बाटोबाट आवतजावत मौलाउनुका साथै पछिल्लो समय तस्करी समेत तीव्ररूपमा मौलाएको छ । प्रशासनले नियन्त्रणका नाममा सीमा नाकामा केही सीमित प्रहरी खटाउनुबाहेक अरु केही गरेको छैन ।

सरकारी रेकर्डमा अनलाइन फारम भरेपछि आउनेको संख्या दैनिक पाँचदेखि १० जनाको हाराहारी मात्रै रहेको छ । तर चोर बाटोबाट भने दैनिक सयौँको संख्यामा नेपाल र भारबाट ओहोरदोहोर गरेको देख्न सकिन्छ । सरसर्ती हेर्दा प्रहरीको सेटिङमा हुनेले निर्विवादरूपमा आवतजावतदेखि आफ्नो अवैध तस्करीको व्यापार नै चलाएको देखिन्छ । प्रहरीको सेटिङमा नहुनेलाई बन्द सीमा नाकादेखि लखेट्दै ल्याएर पक्राउ गरी प्रहरीको बहादुरी भन्दै प्रहरी आफैं घटना सार्वजनिक गर्न उद्यत रहेको तथ्य हालै सीमासुरक्षमा खटिएको ससस्त्र प्रहरीको बीओपी टोलीले सार्वजनिक गरेको एक घटनाले समेत प्रमाणित गरिदिएको छ ।

सीमा नाका सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलले अवैध नाकाबाट नेपाल आउँदै गरेका तस्करलाई पिछा गर्दै आउँदा सीमा सुरक्षा पोस्ट बखरी विराटनगर –१६ दरैयास्थित केसलिया खोलाको छेउमा आइपुगेपछि ठूलो परिमाणमा कुखुरालाई खुवाइने भिटामिन बरामद गरेको छ । बीओपी बखरी प्रहरीले चार लाख १८ हजार सात सय ६७ रूपैयाँ मूल्यबराबरको सात सय ६७ बोतल मल्टिसोल भिटामिन बरामद गरेको हो । त्यसमा एक सय एमएलको ४३३ बोतल, २०० एमएलको १४८ बोतल र ५०० एमएलको १४८ बोतल छन् । ठूलो परिमाणमा नेपाल भित्र्याइएको भिटामिन ‘ए’ तथा ‘डी–३’ सिरफ मगाउने व्यापारी समेत ठूलै कारोबारीको हुनसक्ने आशंका समेत सशस्त्र प्रहरीले गरेको छ ।

क्यारिङ गर्नेले निश्चित रकम व्यापारीसँग लिएपछि भरिया प्रयोग गरेर तस्करीको औषधि र भिटामिनहरू व्यापारीले भनेको गन्तव्यसम्म पु-याउने जिम्मा लिने गरेका छन् । यो औषधि पक्राउ प्रकरणमा बीओपी र जनपद प्रहरीको बीचमा हुने सेटिङ नमिलेका कारण पक्राउ परेको दाबी स्थानीयको छ । बीओपीले भने कुखुरा हलक्क बढाउनका लागि खुवाउने यो मल्टिसोल नामको औषधि अवैधरूपमा नेपाल भित्र्याइरहेको सूचनाका आधारमा सीमा सुरक्षा पोष्टले निगरानी गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया