Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविद्यालय-कलेज अझै बन्द

विद्यालय-कलेज अझै बन्द


काठमाडौं ।
सरकारले शैक्षिक संस्थाहरु तत्काल खुला नगर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहका विभिन्न विषयको परीक्षाका कार्यक्रम सार्वजनिक गरे पनि प्रशासनले भने स्कुल र कलेज तत्काल खोल्न नसकिने निचोड निकालेको छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञाको बारेमा के गर्ने भन्ने विषयमा आइतबार पनि छलफल भए पनि निर्णय हुनसकेको छैन । यसको बारेमा सोमबार मात्र निर्णय हुनेछ । सरकारले थप गरेको निषेधाज्ञा सोमबार राति १२ बजे सकिँदै छ । सोमबार राति १२ बजेपछि निषेधाज्ञा थप खुकुलो बनाउनेबारे स्थानीय प्रशासनबीच समझदारी बने पनि विद्यालय÷कलेजलगायतका मानिसको भीडभाड हुने क्षेत्र तत्काल खोल्न नहुनेमा एकमत रहेको स्रोतले जानकारी दिएको छ ।

सार्वजनिक सवारीसाधनलाई उपत्यकाभित्र सञ्चालन गर्न दिने विषयमा छलफल भए पनि त्यो पनि टुंगोमा पुगेको छैन । एक साताअगाडि नै ट्याक्सी र निजी गाडीमा बारअनुसार जोरविजोर प्रणाली लागू गरेको प्रशासनले सार्वजनिक सवारीसाधनमा पनि जोरविजोर प्रणाली लागू गर्नुपर्ने माग उठेको छ ।

‘एक सातापछि मात्र सार्वजनिक सवारीसाधनलाई शर्तसहित खुल्न दिने कि सोमबार राति १२ बजेपछि नै खोल्ने भन्ने विषयमा सोमबार काठमाडौं उपत्काका तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निर्णय गर्नेछ’, जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकृतले भने, ‘तर विद्यालय, कलेज, सभासम्मेलन, क्लब, जिमलगायतका क्षेत्र भने तत्काल खोल्न दिइनेछैन ।’

कोरोनाको तेस्रो भेरिएन्ट नेपालमा पनि प्रवेश गरेको र यसको संक्रमण फैलाउने क्षमता धेरै बढी भएको कारण स्वास्थ्य विज्ञहरुले तत्काल निषेधाज्ञा खुकुलो बनाउन नहुने राय दिइरहेका छन् । तर, व्यवसायीहरुले भने निषेधाज्ञा खुकुलो बनाएर व्यवसाय गर्न दिनुपर्ने अडान लिँदै आएका छन् ।

खासगरी सार्वजनिक सवारीसाधनका व्यवसायीहरु निषेधाज्ञाको कारण धेरै मर्कामा परेका छन् । सामान ढुवानीका साधन सञ्चालनमा कुनै रोकतोक नभए पनि बस, माइक्रोबसजस्ता सार्वजनिक यातायातका साधन सञ्चालन भने गत वैशाख १६ गतेदेखि नै पूर्ण बन्द छ । बन्दको कारण यातायात व्यवसायीले करोडौं रकम गुमाइसकेका छन् । कतिपय यातायात व्यवसायी पेशाबाटै पलायन हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

जनस्वास्थ्यभन्दा ठूलो केही होइन भन्ने प्रभावका कारण बस व्यवसायीहरु आफ्नो व्यवसाय सञ्चालन गर्नका लागि तीव्र दबाब दिन नसक्ने अवस्थामा छन् । तर, आन्तरिक हवाइ उडान हुनलागेको कारण बस सेवा पनि सञ्चालन गर्न दिनुपर्ने बस व्यवसायीहरुको अडान छ । उनीहरुले काठमाडौंका स्थानीय प्रशासनसँग पटक–पटक वार्ता गरिसकेका छन् ।

काठमाडौं उपत्यकाका प्रशासनहरुले जे निर्णय गर्छन् अन्य जिल्लाका प्रशासनले पनि त्यहीअनुसार निषेधाज्ञाबारे निर्णय लिने भएको कारण उपत्यकाका तीन जिल्लाका प्रजिअहरुको निर्णयलाई सबैले चासोको साथ हेरेका हुन् । काठमाडौंमा सार्वजनिक यातायात प्रवेश गर्ने निर्णय भयो भने सबै जिल्लामा सार्वजनिक बस सेवा सञ्चालनमा आउने पक्काजस्तै छ ।

काठमाडौं उपत्यकामा विद्यालय/कलेज सञ्चालन गर्न दिने हो भने एकै पटक दशौँ लाख मानिसहरु सडकमा उत्रिने छन् । त्यसले भीडभाड बढाउँदा कोरोनाको जोखिम बढ्ने स्वास्थ्यविज्ञहरुको सुझाव छ । त्यसमा स्थानीय प्रशासनको पनि सहमति देखिन्छ । पहिलो चरणमा परीक्षा सञ्चालन गर्न दिने र त्यसपछि क्रमशः विद्यालय/कलेज खोल्न दिने अनुमान गरिएको छ । तर, असारभित्र विद्यालय सञ्चालन गर्न दिन नहुने माग पनि छ ।

१८ वर्षमुनिका बालबालिकाको लागि कोरोनाविरुद्धको खोप नआएको कारण विद्यालय सञ्चालकहरु पनि जोखिम मोलेर विद्यालय खोल्ने पक्षमा छैनन् । साथै विद्यालय र कलेजका शिक्षकहरुका लागि पनि खोप दिनुपर्ने विद्यालय सञ्चालकहरुको अडान छ । सरकारले भने केही पेशा र उमेर समूहलाई लक्षित गरेर मात्र खोप अभियान चलाइरहेको छ । तर, पर्याप्त खोप भने अझै पनि ल्याउनसकेको छैन ।

यस्तै, आइतबार थप एक हजार नौ सय २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा छ हजार जनामा पीसीआर परीक्षण गर्दा एक हजार तीन सय ५३ मा कोरोना सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी ती हजार आठ सय ३६ जनामा एन्टिजेन परीक्षण गर्दा पाँच सय ६७ जनामा गरी जम्मा एक हजार नौ सय २० जनामा सङ्क्रमण भएको हो ।

योसँगै नेपालमा हालसम्म छ लाख ६५ हजार सात सय ७७ जना कोरोना सङ्क्रमित भएका छन् । बितेको २४ घण्टामा उपत्यकामा चार सय २४ जना सङ्क्रमित थपिएका छन् । घण्टामा थप तीन हजार सात जना निको भएका छन् । गत २४ घण्टामा कोरोना कारण ३४ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x