Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुर्तीजन्य पदार्थमा लाग्ने कर बढाउन माग

सुर्तीजन्य पदार्थमा लाग्ने कर बढाउन माग


काठमाडौँ । एक्सन नेपालले सुर्तीजन्य पदार्थमा लाग्ने कर बढाउन सरकारसँग माग गरेको छ । विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको कर दर ७५ प्रतिशत रहे पनि नेपाल सरकारले सुर्तीजन्य पदार्थमा लगाएकोे कर निकै कम रहेको एक्सन नेपालले जनाएको छ ।

एक्सन नेपालले बिहीबार पत्रकार सम्मेलन गरी एक्सन नेपालले आगामी आर्थिक वर्षको लागि सुर्तीजन्य पदार्थमा लाग्ने करअन्तर्गत अन्तःशुल्कमा १६ प्रतिशतबाट बढाएर ४२ प्रतिशत र स्वास्थ्य जोखिम कर चार प्रतिशतबाट बढाएर २० प्रतिशत बनाउन माग गरेको छ । सुर्तीजन्य पदार्थमा मूल्य अभिवृद्धि कर १३ प्रतिशतसहित ७५ प्रतिशत कर लगाउनुपर्ने एक्सन नेपालको माग छ । नेपालमा हाल सुर्तीजन्य पदार्थमा ३३ प्रतिशत मात्रै कर लाग्ने गरेको छ । सरकारले विश्व स्वास्थ्य संगठनको सिफारिसअनुसार सूर्तीेजन्य पदार्थमा करवृद्धि गरेमा मौजुदा राजस्व ३२ अर्ब ९८ करोड रुपैयाँ रहेकोमा थप ४५ अर्ब ८९ करोड गरी ७८ अर्ब ८७ करोड राजस्व संकलन हुन जाने एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले जानकारी दिए ।

नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले हालै जारी गरेको सुर्तीजन्य पदार्थमा लाग्ने करको प्रतिशत र करको विधासहित प्रकाशित विज्ञप्ति भ्रामक रहेको समेत उनले जानकारी दिए । सो संघले २०८१ जेठ ४ गते एक विज्ञप्ति जारी गरी सुर्तीजन्य पदार्थमा कर बढाउन नहुने बताएको थियो । सो पदार्थमा अहिले नै अत्याधिक कर रहेको संघले दाबी गरेका थियो । यस्तै, संघले कर बढाएमा सुर्तीजन्य पदार्थ अवैधरूपमा भित्रिने र नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने हुँदा उद्योगी मारमा पर्ने उल्लेख गरेको थियो तर सो कुरालाई एक्सन नेपालले भ्रामक भनेको छ ।

एक्सन नेपालले दिएको जानकारी अनुसार आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार गत वर्ष नेपालमा लगभग ११ अर्ब २६ करोड ६६ लाख ६६ हजार छ सय ६७ खिल्ली चुरोट उत्पादन भएको थियो । सोअनुसार कुल अन्तःशुल्क २६ अर्ब २२ करोड रुपैयाँ (प्रति खिल्ली औसत दुई दशमलव ३२ रुपैयाँको दरले) राजस्व संकलन भएको थियो । एक्सन नेपालका अध्यक्ष चन्दका अनुसार प्रतिखिल्ली अन्तः शुल्क चार रुपैयाँ (औसतमा) मात्रै बनाउँदा पनि ४५ अर्ब छ करोड ६६ लाख ६६ हजार ६ सय ६८ रुपैयाँ राष्ट्रले राजस्वको रूपमा संकलन गर्नेछ, जुन अहिलेको भन्दा १८ अर्ब ८४ करोड ६६ लाख ६६ हजार छ सय ६८ रुपैयाँ बढी हो ।

यसैगरी अहिलेप्रति खिल्ली शून्य दशमलव छ रुपैयाँ स्वास्थ्य जोखिम कर हुँदा राष्ट्रले कुल छ अर्ब ७६ करोड रुपैयाँ राजस्व उठाउने गरेको छ । स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेअनुसार प्रतिखिल्ली तीन रुपैयाँ स्वास्थ्य जोखिम कर वृद्धि गर्ने हो भने लगभग ३३ अर्ब ८० करोड रुपैयाँ स्वास्थ्य जोखिम कर उठ्ने चन्दले बताए । उनका अनुसार अहिलेको भन्दा २७ अर्ब चार करोड रुपैयाँ बढी राजस्व उठ्नेछ । नेपालमा करको दर कम भएकै कारण नेपालमा चुरोटको मूल्य विश्वकै तुलनामा सबैभन्दा कम रहेको उनको दाबी छ ।

यसैगरी उनले चुरोटमा कर बढाइयो भने नेपालीभन्दा विदेशी चुरोट सस्तो हुने र अवैधरूपमा विदेशी चुरोट नेपाल भित्रिने झूटो पैरवी हुँदै आएको बताए । विभिन्न तथ्यहरूका अनुसार नेपालमा सर्वाधिक बिक्री हुने चुरोटको मूल्य तीन सय २० रुपैयाँ पर्छ भने भारतमा त्यस्तै चुरोटको मूल्य करिब नेपाली पाँच सय ४४ रुपैयाँ पर्नेगरेको छ । तसर्थ, कर बढे पनि भारतबाट नेपालमा अवैधरूपमा चुरोट नभित्रिने उनको दाबी छ । बरु यसको ठीकविपरीत नेपालबाट गैरकानुनीरूपमा चुरोट भारत निर्यात हुँदै आएको उनले बताए । बाँके प्रहरीले हालै जमुनाह नाकाबाट अवैधरूपमा भारत निकासी भइरहेको एक हजार दुई सय ८० बट्टा खुकुरी चुरोट बरामद गरेको उनले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x