Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधितोपत्र बोर्ड अध्यक्ष ढुँगानालाई निलम्बन गरी कारबाही गर्न माग

धितोपत्र बोर्ड अध्यक्ष ढुँगानालाई निलम्बन गरी कारबाही गर्न माग


काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गर्न माग गरेको छ । बोर्डको प्रतिष्ठामा नै आँच आउने गरी पछिल्लो समय सञ्चारमाध्यममा विभिन्न समाचारहरु सम्प्रेषण हुुनुु र अर्थ मन्त्रालय समेतले उक्त विषयमा चासो देखाउँदै सत्यतथ्य पठाउन निर्देशन दिँदा सिंगो धितोपत्र बोर्डको प्रतिष्ठामा आँच पुगेको भन्दै कर्मचारी युनियनले अध्यक्ष ढुंगानालाई निलम्बन गर्न माग गरेको हो ।

कर्मचारी युनियनका अध्यक्ष राजबहादुर जिसी र वरिष्ठ उपाध्यक्ष गौरव विष्टले आइतबार युनियनका तर्फबाट विज्ञप्ति जारी गर्दै निलम्बनसहित कारबाही गर्न माग गरेका हुुन् । विज्ञप्तिमा भनिएको छ, ‘बुक बिल्डिङमार्फत धितोपत्र जारी गर्ने प्रक्रियामा गएको संस्थाको धितोपत्र र सोसँग निहित संवेदनशील जानकारीका आधारमा आफ्नो निकट पारिवारिक सदस्यका नाममा धितोपत्र खरिद गर्नु धितोपत्र बोर्डको लब्धप्रतिष्ठत अध्यक्ष तथा सञ्चालकका रुपमा गम्भीर विचलन हो ।’

धितोपत्र ऐनको प्रारम्भिक खण्डको दफा २ परिभाषामा धितोपत्र र निष्काशनजस्ता शब्दको परिभाषाले संस्थापकलाई जारी गरिएको धितोपत्रलाई समेत जनाउने र बोर्डको कार्यक्षेत्रभित्रै पर्ने हुँदा, सञ्चारमाध्यममा आएका विषयले बोर्ड अध्यक्षको इमानदारिता, कानुनी प्रावधान, आचारसंहिताअनुसार गम्भीर नैतिक पतन भएको देखिएको युनियनको भनाइ छ ।

त्यस्तै करिब ३८ लाख लगानीकर्ताको सम्पत्ति एवं झण्डै देशको कुल गार्हस्थ्य उत्पादनबराबरको बजार पुँजीकरण भएको देशको धितोपत्र बजार संरक्षण गर्दे पुँजीबजारको नियामक निकाय धितोपत्र बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन, उक्त कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गरी ऐनको दफा ७(७), १२, ९१ र ९२ तथा अन्य विद्यमान कानुनका आधारमा सम्बन्धित तत् निकायले बजारको पारदर्शिता र स्वच्छता कायम राख्नका लागि अविलम्ब छानबिन कार्य अगाडि बढाई दोषी देखिएकालाई हदैसम्मको कारबाही गर्न नेपाल धितोपत्र बोर्डको आधिकारिक कर्मचारी युनियनले जोडदार माग गरेको छ ।

नेपाल धितोपत्र बोर्ड नेपालको पुँजीबजार तथा वस्तु विनिमय बजारको नियामक निकायको रुपमा रहेको, नेपाल सरकारबाट जारी धितोपत्र ऐनबाट स्थापित, गहन जिम्मेवारी बोकेको एक विशिष्ट प्रकृतिको संस्था भएको भन्दै युनियनले करिब देशको कुल गार्हस्थ्य उत्पादन जतिको बजार पुँजीकरण भएको देशको धितोपत्र बजारको नियामक निकाय स्वच्छ, पारदर्शी, गतिशील र लगानीकर्ताको हित संरक्षणमा उद्यत हुनुपर्छ भन्ने कुरामा दुई मत हुनै सक्दैन।

‘धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ७(२) मा अध्यक्षको नियुक्ति गर्दा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्धप्रतिष्ठित व्यक्तिहरुमध्ये उपयुक्त व्यक्तिलाई अध्यक्षको पदमा नियुक्ति गर्नेछ भनेर उल्लेख गरिएकोमा अध्यक्षका रुपमा नियुक्त व्यक्तिले बोर्डको अध्यक्षका रुपमा रहदा आफ्नो लब्धप्रतिष्ठा र बोर्डको गरिमालाई कायम राख्न नपर्ने भन्ने प्रश्नै आउँदैन’, विज्ञप्तिमा भनिएको छ ।

धितोपत्र ऐन २०६३ को प्रस्तावनामै उल्लेख गरिएअनुसार पुँजीबजारको विकास र लगानीकर्ताको हित संरक्षणको मूल मर्मअनुसार बोर्डको नेतृत्व एवं सञ्चालकहरुले कार्य गर्नुपर्नेमा सो नगरी संस्थाको गरिमामा आँच आउने कार्य गर्न छुट नहुने युनियनले जनाएको छ । बुक बिल्डिङमार्फत धितोपत्र जारी गर्ने प्रक्रियामा गएको संस्थाको धितोपत्र र सोसँग निहित संवेदनशील जानकारीका आधारमा आफ्नो निकट पारिवारिक सदस्यका नाममा धितोपत्र खरिद गर्नु धितोपत्र बोर्डको लब्धप्रतिष्ठत अध्यक्ष तथा सञ्चालकका रुपमा गम्भीर विचलन भएको विज्ञप्तिमा उल्लेख छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x