Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन सहकारीहरूलाई अर्थमन्त्रीको आग्रह

लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन सहकारीहरूलाई अर्थमन्त्रीको आग्रह


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन सहकारीहरूलाई आग्रह गरेका छन् । सहकारीहरूले घरजग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा मात्रै लगानी गरिरहेको आफूले सुनेको भन्दै मन्त्री शर्माले उत्पादनको क्षेत्रमा लगानी बढाउन आग्रह गरेका हुन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)को ३४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले घर, जग्गा वा गाडी खरिदमा लगानी गर्नुको कुनै अर्थ नरहेको बताए । कम्तीमा लगानीको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाएर गरिबी निवारणमा सहयोग गर्न उनले सहकारीहरूलाई आग्रह गरे । त्यसमा कुनै समस्या भए समाधान गर्न सरकार तयार रहेको उनको भनाइ थियो । त्यस्तै उनले सहकारीहरूले गरिब जनताले लिएको ऋणमा १८ प्रतिशतसम्म ब्याज लिने गरेको भन्दै असन्तुष्टि जनाए । ब्याजदर घटाउनतर्फ लाग्न पनि उनले सहकारीहरूलाई सुझाए ।

कतिपय सहकारीहरूले जनताको पैसा ठगेर उठिबास लगाएका घटनाहरू देखिएको भन्दै मन्त्री शर्माले त्यसतर्फ नेफ्स्कुनले ध्यान दिनुपर्ने बताए । उनले सहकारीका संस्थापकहरूले नै जनताको सम्पत्ति हिनामिना गर्ने क्रमलाई रोक्न नेफ्स्कुनले भूमिका खेल्ने पनि विश्वास गरे । अहिलेसम्म स्थिरीकरण कोष खडा नभएको प्रति असन्तुष्टि व्यक्त गर्दै उनले एक महिनाभित्र खडा गरेर आफूलाई जानकारी गराउन आग्रह समेत गरे ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा चार हजार प्रारम्भिक संस्थाहरू तथा प्रदेश र जिल्ला बचत संघहरूमार्फत सात हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरू आबद्ध रहेका छन् । देशका ७६ जिल्लामा पहुँच रहेको सहकारीहरूमा ३४ लाख व्यक्तिगत सदस्यहरू आबद्ध रहेको नेफ्स्कुनले जनाएको छ ।


क्याटेगोरी : समाचार, सहकारी–कृषि

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x