Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजापान रोजगारी खुलाउन संयुक्त प्रयास

जापान रोजगारी खुलाउन संयुक्त प्रयास


प्रवीण राउत
काठमाडौं, फागुन ८
नेपाली कामदार जापान पठाउने विषयमा नेपाल सरकार र जापान सरकारबीच पहिलो पटक बैठक बस्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार आगामी मार्चमा बस्ने पहिलो संयुक्त कार्यदलको बैठकको लागि दुवै पक्ष अन्तिम तयारीमा पुगेको जनाएको छ ।

हालसम्म भिडियोमार्फत नेपाली पक्ष र जापानी पक्षबीच कुराकानी हुँदै आएकोमा आगामी मार्च महिनामा भने संयुक्त बैठक बस्न लागेको मन्त्रालयका एक अधिकारीले बताए । ‘हामीले हालसम्म जापान रोजगारीलाई लिएर दुईपटक भिडियो वार्ता गरेका छौँ’, अधिकारीले भने, ‘प्रत्यक्ष बैठक बस्नसकेको छैन । नेपाली पक्ष अर्थात् मन्त्रालयकै पहलमा उच्चस्तरीय बैठक बस्न लागेको हो ।’

भिडियो वार्तामार्फत ठोस निर्णय नभएको र त्यो सम्भव पनि नभएको हुँदा बैठक बस्न लागेको हो । मार्चमा बस्ने बैठक दुवै पक्षका लागि पहिलो बैठक हुनेछ भने यस बैठकले जापान रोजगारीका विषयमा ठोस निर्णय लिने समेत मन्त्रालयले जनाएको छ ।

मार्चमा बस्ने बैठकमा कृषिका साथै अन्य रोजगारीका क्षेत्र खुल्ला गर्न, कामदार लैजाने प्रक्रिया, लक्की ड्र प्रणाली, सीप प्रदान गर्नेलगायतका विषयहरुमा नेपाली पक्षले लबिङ गर्ने बताइएको छ । जापानले विभिन्न मुलुकबाट लाने श्रमिकका लागि १४ क्षेत्रमा रोजगारी खुला गरेको छ । नेपालसहित अन्य मुलुकबाट जापानले कृषि, नर्सिङ केयर, होटेल, सुरक्षा, अटोमोबाइल, खाद्य सेवा उद्योग, निर्माण उद्योग क्षेत्रमा कामदार लैजान इच्छुक रहेको बताउँदै आएको छ भने हाललाई नेपालबाट नर्सिङ केयर गिभरका युवाहरु मात्र लैजान जापानी पक्षको तयारी छ । यसैबीच मन्त्रालयले अब बस्ने बैठकमा नर्सिङ केयर गिभरका साथै कृषि, होटेल सुरक्षा, अटोमोबाइललगायतका क्षेत्रमा पनि रोजगारी खुल्ला गर्न लबिङ गर्ने जनाएको छ ।

गत चैत दोस्रो सातामा नेपाल र जापान सरकारबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओयू) मा भएको हस्ताक्षरअनुरुप कामदार भर्ना तथा लैजाने प्रक्रिया जापान इकाइलाई प्रदान गरेको छ भने सो विषय समेत बैठकको एजेन्डा बन्नसक्ने मन्त्रालयले जनाएको छ । जापानमा भने श्रमिक ल्याउनको लागि दर्ता सहयोग संस्था (आरएसओ) रहेको छ ।

यता जापान जाने युवाहरुको भाषा तथा सीप परीक्षाको जिम्मेवारी भने नेपाली दूतावासस्थित जापान फाउन्डेसनलाई प्रदान गरिएको छ । जापान जाने विद्यार्थीले एन फोर लेबलको भाषा परीक्षा पास गर्नुपर्ने हुन्छ । विद्यार्थीले २५ सय रुपैयाँ तिरेर परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ भने भाषा सिकेपछि आफ्नो अनुकूल जुनसुकै समयमा परीक्षा दिन पाउँछन् अर्थात् परीक्षाको मिति छनौट गर्न सक्नेछन् । अक्टोबरयता निरन्तर भाषा परीक्षा भने भइरहेको छ । हालसम्म ६/७ पटक परीक्षा सञ्चालन भइसकेको छ ।

प्रारम्भिकमा १३ हजारले जापान रोजगारीका लागि आवेदन दिए पनि भाषा र सीप दुवै परीक्षा पास गर्नेको संख्या २५ देखि ३० जना रहेको छ । पास हुनेको हकमा बैठकको निर्णयलाई पर्खिनुपर्ने मन्त्रालयले जनाएको छ । पछिल्लो समय परीक्षार्थीको संख्या वृद्धि गरेसँगै भाषा र सीप परीक्षामा एक हजार तीन सय विद्यार्थी सहभागी हुन पाउनेछन् । भाषा र सीप परीक्षा भने आगामी मार्च महिनामा हुनेछ ।

गत कात्तिकमा फाउन्डेसनले पहिलो चरणअन्तर्गत भाषा र सीप परीक्षा सञ्चालन गरेको थियो भने हजार जना परीक्षार्थी सहभागी भएका थिए । फाउन्डेसनले हरेक दुई महिनामा परीक्षा सञ्चालन गर्ने बताउँदै आएको छ । जापानले आगामी पाँच वर्षभित्र नेपालसहित नौ मुलुकबाट श्रमिक लैजाने तयारी गरेको छ । यसअघि जापानले कामदार लैजाने विषयमा फिलिपिन्ससँग समझदारी गरिसकेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया