Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरियामा तीव्र रुपमा फैलिँदै कोरोना भाइरस

कोरियामा तीव्र रुपमा फैलिँदै कोरोना भाइरस


प्रवीण राउत
काठमाडौं, फागुन १२
झण्डै ४० हजारको संख्यामा दक्षिण कोरियामा रहेका नेपालीलाई सरकारले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको प्रकोप दुई दिनयता कोरियामा तीव्र रुपमा फैलिन थालेपछि सोलस्थित नेपाली राजदूतावासले उक्त आग्रह गरेको हो ।

कोरियाको थेगु सहरमा रहेका नेपालीलाई कोरोना भाइरसबाट हुने संक्रमणबाट बच्नका लागि विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । हाल सबैभन्दा धेरै संख्यामा संक्रमितहरु थेगु सहरमा देखापर्न थालेका छन् । सोही कारण सरकारले थेगु तथा आसपासका क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरु, अन्य पेशा, व्यवसाय र श्रम गरी बसेकालाई विशेष सावधानी अपनाउन दूतावासले भनेको छ ।

दूतावासले आइतबार विज्ञप्ति नै जारी गर्दै नेपालीहरुलाई सुरक्षित रहन तथा आफ्नो स्वास्थ्य चेकजाँच गर्न आग्रह गरेको छ । दूतावासले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘राजदूतावासको २०७६ माघ १५ गतेको सूचनामा कोरोना भाइरसको संक्रमणको शंका लागेमा अवैधानिक रुपमा कोरियामा रहेका विदेशीहरु समेतले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा गई चेकजाँच तथा उपचार गराउन र सोको क्रममा पक्राउ नगर्ने, स्वदेश नफर्काउने तथा बिरामीको कानुनी हैसियत बारेमा नसोध्न अस्पतालहरुलाई निर्देशन दिइएको सम्बन्धमा कोरियाको अध्यागमन विभागले गरेको लिखित पत्राचार’ गरिसकेको छ । त्यसैगरी, राजदूतावासको मिति २०७६ माघ २३ को सूचनामार्फत कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायहरुका सम्बन्धमा सोल महानगरपालिकाको कार्यालयबाट प्राप्त जानकारी प्रचार गरिएको छ ।’

यद्यपि तत्पश्चात्का दिनहरुमा कोरियामा झनै तीव्र गतिमा संक्रमितहरु फेला पर्न थालेका छन् । आइतबारसम्म कोरियामा मात्रै ६ जनाको मृत्यु भइसकेको छ भने ६ सय बढीमा भाइरस संक्रमण देखापरेको बीबीसीले उल्लेख गरेको छ । तसर्थ कोरियाली सरकार र सम्बद्ध स्वास्थ्य निकायहरुले समय समयमा जारी गर्दै आएका सुरक्षाका उपायहरु प्रभावकारी ढंगले अवलम्बन गरी कोरोना भाइरसबाट सुरक्षित रहन विभिन्न सिलसिलामा हाल दक्षिण कोरिायमा रहेका सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरिएको हो ।

सम्बद्ध निकायहरुबाट हुँदै आएका नियन्त्रणमा र रोकथामका सशक्त प्रयासहरुका बाबजुद दक्षिण कोरियामा कोरना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएकोले सबै अझ बढी सजग र सचेत रहन आवश्यक रहेको दूतावासको भनाइ छ । विभिन्न कोरियाली निकायहरुबाट प्राप्त सचेतना र सुरक्षाका उपायहरु राजदुतावासले आफ्नो वेबसाइटमार्फत सार्वजनिक जानकारीका लागि प्रचार समेत गर्दै आएको जनाएको छ ।

केही समयअघि चीनको हुबे प्रान्तको वुहान सहरबाट कोरोना नामक प्राणघातक भाइरसको संक्रमण सुरु भई विश्वका अन्य देशहरुमा फैलिएको हो । गण्तन्त्र कोरियामा पनि सीमित संख्यामा कोरोना भाइरसको संक्रमण देखिएकोमा केही दिन अघिबाट यो फैलिँदै गएको दूतावासले जनाएको छ ।

कोरियामा झण्डै ४० हजार नेपाली : यता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियामा झण्डै ४० हजार नेपाली रहेको जानकारी दिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुमन घिमिरले कोरियामा झण्डै ३५ देखि ४० हजारको संख्यामा रहेको बताए । ‘सो संख्यामा रहेका नेपालीहरुलाई हामीले दूतावासमार्फत सुरक्षित रहन आग्रह गरेका छौँ’, उनले भने, ‘दूतावाससँग समन्वय भइरहेको छ, दूतावासले कोरोना भाइरसको संक्रमणबाट जोगिन सावधानी अपनाउन, सार्वजनिक स्थलहरुमा नजान भनेको छ ।’

उनले दूतावासले कोरियामा रहेका नेपालीहरु सुरक्षित अवस्थामा रहेको जानकारी दिएको बताए । ‘जति पनि कोरियामा रहेका नेपालीहरु छन्, सबै सुरक्षित छन्’, उनले भने, ‘हालसम्म कोरियामा रहेका नेपालीहरुको स्वास्थ्य अवस्थालाई लिएर डराउनुपर्ने अवस्था नभएको जानकारी प्राप्त भएको छ ।’

रोकिए जानलागेका नेपाली : रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाका निर्देशक कृष्ण प्रसाद खनालले भने तत्कालका लागि कोरिया जाने कामदारलगायत अन्य नेपालीलाई समेत रोक लगाएको बताए । ‘कोराना भाइरसकै कारण कोरिया जाने नेपालीलाई रोक लगाइएको हो’, उनले भने, ‘केही हप्ता अघिदेखि कोरिया जान रोक लगाइएको हो ।’

योसँगै श्रम स्वीकृति लिएर बसेका तथा अध्ययनका लागि कोरिया जाने नेपालीहरु जान पाएका छैनन् । परराष्ट्र मन्त्रालयले भने कोरिया तथा कोरियामा रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाको बारेमा निरन्तर जानकारी लिने र सम्बन्धित निकायमा दिने काम भइरहेको जनाएको छ । मन्त्रालयका सहसचिव काली प्रसाद पोखरेलले दूतावासबाट आएको जानकारी प्रधानमन्त्री कार्यालय तथा स्वास्थ्य मन्त्रालय तथा सञ्चारमाध्यममा जानकारी गराउने कार्य भइरहेको बताए । ‘हामीले कोरियाका विभिन्न सहरमा रहेका नेपाली नागरिकहरुबारे जानकारी लिने काम गरिरहेका छौँ’, उनले भने, ‘प्राप्त जानकारी प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित निकायहरुमा रिपोर्टिङ गर्ने काम गरिरहेका छौँ ।’

पछिल्लो समय चीनबाट नेपालीहरु ल्याउँदा प्रधानमन्त्री कार्यालयको निर्देशनअनुरुप अघि बढेको बताउँदै उनले कोरोना भाइरसलाई लिएर प्रधानमन्त्री कार्यालयले नै विशेष चासो राख्ने तथा के कस्ता कदम चाल्ने विषयमा कार्यालयले निर्णय गर्ने गरेको बताए । सरकारको निर्देशनअनुरुप विशेष विमानमार्फत चीनमा रहेका नेपालीहरुलाई फागुन ४ गते स्वदेश ल्याइएको थियो । चीनबाट एक सय ७५ जना नेपाली स्वदेश ल्याइएको थियो ।

स्वास्थ्य मन्त्रालयले भने देशभन्दा बाहिर भएको हुँदा हालका लागि मन्त्रालयलाई कुनै निर्देशन नआएको जनाएको छ । ‘मुलुकभित्रको स्थिति भएको भए अर्को कुरा हुन्थ्यो मुलुकबाहिरको कुरा हुँदा हाललाई स्वास्थ्य मन्त्रालयमा कुनै निर्देशन आएको छैन’, एक अधिकारीले भने ।

मास्क प्रयोग गर्न आग्रह : रियाको उल्सनमा रहेका नेपालीहरुले आफूहरु सुरक्षित रहेको बताएका छन् । उनीहरुलाई कम्पनीले स्वास्थ्यको ख्याल गर्न निर्देशन दिएको बताएका छन् । हाल उल्सनमा रहेका भक्तपुर बालकोटका ३३ वर्षीय कुमार विष्टले आफूहरुलाई कम्पनीले सुरक्षित रहन निर्देशन दिएको बताए । आर्थिक दैनिकसँग फेसबुक मेसेन्जरमार्फत सम्पर्कमा आएका उनले भने, ‘कम्पनीले हामीलाई सुरक्षित रहन भनेको छ, बाहिर निस्किँदा मास्क प्रयोग गर्न तथा स्वास्थ्यको ख्याल राख्न भनेको छ ।’ कार्यालयमा उपस्थिति भएर आफ्नो नियमित काम गर्नु भनेको विष्टले बताए ।

बाहिरी मानिससँग हेलमेल नगर्ने तथा हात मिलाउनेजस्ता कार्य नगर्न कम्पनीबाट निर्देशन आएको उनको भनाइ छ । विष्ट कोरियास्थित हुन्डाई कम्पनीमा कार्यरत छन् । यस्तै हाल सोही सहरमा रहेका इटहरी आपकाँचीका सन्तोष पौडेलले पनि कम्पनी तथा कोरिया सरकारले पनि घर बाहिरको खुल्ला क्षेत्रमा नबस्न निर्देशन दिएको बताए ।

उनीहरुका अनुसार हुन्डाई कम्पनीमा कार्यरत १५÷२० जना नेपालीलाई एउटै क्षेत्रमा बसोबास गर्दै आएका छन् । यसैबीच, गैर आवासीय नेपाली संघ कोरियाले कोरोना भाइरसको विषयमा लिएर पत्रकार सम्मेलन गरेको छ । सम्मेलनको क्रममा कोरोना भाइरसको बारेमा सुरक्षित रहन आग्रह गर्दै संघले कोरियामा रहेका नेपालीलाई केही समस्या भएमा १३३९ मा फोन गर्न तथा राजदूतावासमा सम्पर्क गर्न सकिने जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x