Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशदलगत स्वार्थ त्यागी राष्ट्र निर्माणका अभियानमा जुट्न आग्रह

दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणका अभियानमा जुट्न आग्रह


काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले व्यक्तिगत र दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणका अभियानमा जुट्न सबैलाई आग्रह गरेका छन् ।

त्रिहत्तरौँ प्रजातन्त्र दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले व्यक्तिगत र दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणको अभियानमा सहमति कायम गर्दै अगाडि बढ्न सकिएमा मात्र सहिदप्रति सच्चा सम्मान र मुलुकले समृद्धितर्फ पाइला चाल्नसक्ने बताएका छन् ।

उनले सन्देशमा विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व तथा राष्ट्रिय एकता आजको आवश्यकताको रूपमा रहेको उल्लेख गरेका छन् । “राष्ट्रिय हितका लागि हामी सबै केन्द्रित हुनुपर्नेमा कतिपय अवस्थामा स्वार्थकेन्द्रित गतिवधि देखिएकाले त्यस्ता प्रवृत्तिप्रति सम्पूर्ण राजनीतिक दल, सरकार स्वयं र आम नेपाली जनतासमेत सजग र सचेत हुनु आवश्यक छ”, जारी सन्देशमा भनिएको छ ।

सन्देशमा प्रजातन्त्र प्राप्तिको मार्गदर्शनमा वर्तमान संविधानले समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्पसहित सङ्घीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाजस्ता आधारभूत विशेषतालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरिएको छ ।

“संविधानको मर्म र भावनाबमोजिम राज्यको शासन व्यवस्था सञ्चालन गर्न, नागरिकका आधारभूत मौलिक हक तथा मानवअधिकारको कार्यान्वयन गर्दै लोकतन्त्रका लाभहरूको समतामूलक र समन्यायिक वितरण गर्नतर्फ हाम्रो ध्यान जानु जरुरी छ”, सन्देशमा भनिएको छ, “राजनीतिक परिवर्तन संस्थागत भए पनि जनताले द्रुत आर्थिक विकास, सामाजिक न्याय र सुशासनको पूर्ण अनुभूति गर्न भने पाएका छैनन् ।”

नेपाली जनताको लोकतन्त्रप्रतिको समर्पित भावना र दृढ इच्छाशक्तिकै कारण संविधानमार्फत जनतामा निहित सार्वभौमसत्ता, स्वायत्तता र स्वशासनको अधिकारप्राप्त भएको उल्लेख गर्दै सन्देशमा उनले प्रजातन्त्रको जगमा अहिले हामीले सङ्घीय लोकतान्त्रिक गणतन्संसदीय शासन व्यवस्था अवलम्बन गरेको राससलाई बताए ।

दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लोकतान्त्रिक व्यवहारलाई आत्मसात् गर्ने प्रेरणा सबैमा मिल्ने उनले सन्देशमा उल्लेख गरेका छन् ।


क्याटेगोरी : समाचार, बागमती प्रदेश

तपाईको प्रतिक्रिया