Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनेकपा गठन भएको दुई वर्ष नपुग्दै गम्भीर दुर्घटनातिर

नेकपा गठन भएको दुई वर्ष नपुग्दै गम्भीर दुर्घटनातिर


काठमाडौं, वैशाख १७ 
तत्कालिन नेकपा एमाले र नेकमा माओवादी एकीकृत भएर नेपाल कम्युनिष्ट पार्टी नेकपा गठन भएको आगामी जेठ ३ गते दुईवर्ष पुग्दैछ । नेकपा गठनपश्चात सम्पूर्ण रूपमा पार्टी एकाकार भई नसक्दै गम्भीर विवादको भुमरीमा फसेको छ । यसरी सत्तारुढ दल गम्भीर विवादको भुमरीमा फस्नु भनेको देशमा राजनीतिक संकट देखा पर्नु हो । विगतमा नेपाली कांग्रेसभित्र देखिएको विवादले उग्र रूप लिँदा देश र जनता लामो समयसम्म दुःख पाउनुप-यो । नेकपा अहिले झण्डै दुई तिहाइको जनमत लिएर सत्ताको बागडोर सम्मालिरहेको छ ।

विश्व कोरोना भाईरससंग लडिरहेको छ तर नेपालका नेकपाका नेताहरू भने पद र सत्तााका लागि एकले अर्कालाई देखाइदिने रणनितिसहित आन्तरिक भागवण्डा र कलहमा व्यस्त छन् । यतिबेला सरकारले सबै दललाई मिलाएर कोरोनाको महामारीविरुद्ध एकजुट भएर लड्नुपर्ने बेलामा नेकपा भने आफैँभित्र रुमलिएर बसेको छ । बरु प्रतिपक्ष दलहरू सरकार र नेकपालाई कोरोनाविरुद्ध लड्न झक्झकाइरहेका छन् ।

झट्ट हेर्दा नेकपाको आन्तरिक विवाद मात्रै देखिए पनि नेकपाभित्रको राजनीतिक भागवण्डा निमल्दा त्यसको मूल्य सिङ्गो मुलुकले चुकाउनुपर्ने अवस्था आउन सक्छ । यही अवस्था र नेकपाका नेताहरू यसरी नै अगाडि बढने हो भने अब मुलुकको राजनीतिक भविष्य र बातावरण कतातिर जाला र परिस्थिति के होला यसै भन्न सकिने अवस्था छैन । अहिलेको यो राजनीतिक दुर्दशा देखेर राजनीतिक बुद्धिजीवीहरू समेत तीनछक परिरहेका छन् ।

मुलुक अहिले कोरोना भाइरसको सन्त्रास बोकेर पलपल तड्पिरहेको छ । संक्रमण नफैलियोस् भनेर सवा एक महिनादेखि मुलुकलाई लकडाउनमा राखिएको छ । विश्वभरि नै कोरोनाको त्राहीमाम निरन्तर जारी छ । तर, अहिले कोरोना भाइरसको महामारीलाई बेवास्था गर्दै मुलकको सत्तासिन दल नेकपा र त्यसका नेताहरू एक–आपसमा लडाइँ गरेर जगत हँसाइमा रमाइरहेका छन् । अहिले समयमा लडाइँ र झगडालाई थाती राखेर संक्रमण नियन्त्रणका लागि जुटनुपर्ने समय हो । तर, उनीहरू महामारी रोग नियन्त्रणलाई प्राथमिकता दिनुभन्दा पनि पार्टीभित्रको आन्तरिक विवादलाई सत्ता र सरकारसँग जोड्दै एक–आपसमा हिलो छ्यापाछ्यापमा उत्रिएका छन् ।

सत्ता हत्याउनको लागि पार्टी फुटाउनेदेखि सरकारको नेतृत्व परिवर्तन सम्म गर्ने रननीतिमा नेकपा नेताहरू लागेका छन् । यसको पार्टीभित्र र बाहिरबाट पनि सर्वत्र आलोचना भइरहेको छ । चुनावअघि जनतालाई मुलुकमा बहुमतको सरकार नहुँदा राजनीतिक अस्थिरता बढेको भन्दै यी दुई दलले राजनीतिक स्थिरता र मुलुकको सर्वाङ्गिण विकासका लागि भन्दै बहुमत मागेका थिए ।

उनीहरू अगाडि बढाएका योजना र देखाएका सपना पूरा गरेर देखाउन भन्दै जनताले विश्वास गरेर बहुमत पनि दिए । तर, जनतालाई देखाइएको र बाँडेका सपना पूरा गर्न त परै जावस आफ्ना स्वार्थपूर्ति गर्न नेकपालाई बदनाम गर्दै विभाजित गर्न तम्सिएका छन् । कतिसम्म भने जनताले दिएको बहुमतले नपुगेर नेकपाले उपेन्द्र यादव र तत्कालीन राजपाको सर्मथन लिएर दुई तिहाइको पु-यायो । तर, संख्या मात्र ठूलो भएर काम हुने होइन रहेछ भन्ने पुष्टि भइसकेको छ । वर्तमान सरकार गठन भएको पनि सवा दुई वर्ष बित्न लाग्यो । सरकारका काम कारबाहीबाट कोही पनि नेपाली जनता सन्तुष्ट हुन सकिरहेका छैनन् ।

भएका छन् र होलान् त सरकार निकटका आसेपासेहरू मात्र । यसबीचमा पनि सरकारविरोधी स्वरहरू बाहिर नआएका पनि होइनन् । तर, यो हद र तहसम्ममा पुगेर सरकारको विरोध भएको थिए । सरकारले हालै ल्याएका दुई अध्यादेश र सांसद सुरेन्द्र यादव प्रकरणपछि सत्तारुढ दलभित्रको विवाद सतहमा आएका छन् । यस किसिमको विवादले पार्टी एकीकरण र हिजोका उपलब्धिहरूसमेत गुम्ने हुन् कि भन्ने चिन्ताहरू बढिरहेका छन् ।

अहिले मुलुकले भोगेको समस्यालाई कम महत्व दिएर राजनीति समिकरणको फेरबदलमा लाग्दा भुइँको टिप्न खोज्दा पोल्टाको गुमाउनु पर्ने स्थिति नआउला भन्न सकिन्न । यो कुराको हेक्का प्रधानमन्त्री र त्यस दलका प्रमुख नेताहरूले राख्न किन सकिरहेका छैनन् प्रश्न पेचिलो बन्दै छ ।

प्रधानमन्त्री भएर मुलुक हाँकिसकेका चार–चार जना मुख्य नेताहरू नेकपामा छन् । उनीहरूले ठण्डा दिमागले सोचेर र सोच विचार गरी पार्टीभित्रको विवाद हल गर्दै मुलुकलाई दीर्घकालीनरूपमा समृद्ध बनाउनेतर्फ ध्यान केन्द्रित गर्न आवश्यक छ । त्यसो नगरी आ आफ्नै लिँढे ढिपीका साथ अगाडि बढ्ने हो भने त्यसले राजनीतिक दुर्घटना न निम्ताउला भन्न सकिन्न । नेपाल र नेपाली जनतालाई अग्रभागमा राखेर सोच्ने बेला आइसकेको छ । यदि उनीहरू आ–आफ्नै अडान राखेर यसरी अगाडि बढ्दा सहमति र गन्तव्यमा कोही पनि पुग्नसक्ने अवस्था रहँदैन ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया