Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनिकुञ्जमा ६ वटा कस्तुरी मृग मृत फेला

निकुञ्जमा ६ वटा कस्तुरी मृग मृत फेला


महेन्द्र शाही
सोलुखुम्बु, वैशाख १७
सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा छवटा कस्तुरी मृग मृत भेटिएका छन् । निकुञ्जको केङ्जोमाको ताग्दीमा भन्ने स्थानमा पासोमा झुण्डिएको अवस्थामा ती कस्तुरी मृग मृत फेला परेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । मृत भेटिएकामध्ये एउटा पोथी, तीनवटा भाले र दुईवटाको लिंग पहिचान हुन नसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिए । उनका अनुसार दुईवटा मृगको विणा निकालिएको र दुईवटा सडेकाले ती मृगको पनि विणा झिकेर लगेको अनुमान गरिएको छ ।

पहिचान हुन नसकेको मृगको घटनास्थलमै गाडिएको र अन्यको पनि मुचुल्का तयार पारी निकुञ्जको परिसरमै गाडिएको उपाध्ययले बताए । ती मृग करिब १० दिनअघि मारिएको हुनसक्ने अनुमान गरिएको छ । मृगलाई खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, निकुञ्जको टोलिको रोहबरमा मुचुल्का तयार पारि गाडिएको हो ।

लकडाउनको मौका छोपी चोरी शिकार गरिएको हुन सक्ने निकुञ्ज प्रशासनले अनुमान गरेको छ । चोरी शिकारीमा संलग्नको खोजी कार्य जारी रहेको भन्दै शंका लागेका व्यक्तिहरूमा निगरानी बढाइएको संरक्षण अधिकृत उपाध्ययले बताए । यस्ता घटना पटक–पटक भइरहेको जानकार बताउँछन् । अन्य विभिन्न निकुञ्ज क्षेत्रमा वन्यजन्तुको गणना गरिने भए पनि सगरमाथा राष्ट्रिय निकुञ्जमा हालसम्म गणना गरिएको छैन ।

२०३२ सालम स्थापना भएको यस निकुञ्ज एक हजार १४८ वर्ग किलोमिटरमा फैलिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा यही निकुञ्जभित्र पर्ने भएकाले यसलाई अति महत्त्वका साथ हेर्ने गरिएको छ । यस निकुञ्जमा कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारलजस्ता वन्यजन्तुहरूका साथै डाँफे, चिलिमे, कालिज, हिम कुखुरा, लालचुच्चे काग (टुंगा) र पहेंलो चुच्चे काग लगायत १९३ प्रजातिका चरा पाइने जानकारहरू बताउँछन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया