Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधविदेशमा रहेका २६ हजार २ सय २७ नेपालीमा कोरोना संक्रमण

विदेशमा रहेका २६ हजार २ सय २७ नेपालीमा कोरोना संक्रमण


काठमाडौं, असार १५
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल बाहेक विश्वभरका ३६ देशमा रहेका २६ हजार २ सय २७ जना नेपालीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको जनाएको छ । त्यस्तै अघिल्लो सातासम्म १३ देशमा १ सय ३० जना नेपालीको कोरोनाका कारणले ज्यान गएको छ । कोरोना भाइरसको संक्रमणका कारण विदेशमा मृत्यु हुनेको यो साता संख्या शून्यमा झरेको छ ।

संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा १८ हजार ७ हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । संघअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार मध्यपूर्वका देशमा विगत गत दुई सातामा मात्र आठ हजारभन्दा बढी नेपालीमा संक्रमण थपिएको छन् । हालसम्म कतारमा कोरोना संक्रमण भएका ९२ हजारमध्ये २० प्रतिशत नेपाली प्रभावित भएका छन् ।

संयोजक डा. सापकोटाका अनुसार यही साता पहिलोपटक साउथ अफ्रिकामा रहेका पाँच नेपालीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अफ्रिकी अन्य देशसहित सो क्षेत्रमा १० जना नेपालीमा कोरोनाको संक्रमण देखिएको हो । यो साता बंगलादेशमा रहेका १५ जना नेपालीमा कोरोना संक्रमण भएको स्वास्थ्य समितिले जनाएको छ यस्तै भारतमा १ सय ५० जना थप नेपालीमा संक्रमण भएको छ ।

हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ । यस्तै डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हङकङ, दक्षिण कोरिया, मलेसिया,लगायतका १९ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

यसैबीच भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका ११ हजार ३ सय ७१ नेपाली स्वदेश फर्काइएको संघले जनाएको छ । जेठ २२ गतेदेखि असार १३ गते शनिबारसम्म विभिन्न मुलुकबाट कोरोनाका कारण समस्यामा परेका ११ हजार ३ सय ७१ नेपाली स्वदेश फर्काइएको हो । विदेशमा अलपत्र परेका नेपालीको उद्धार तीव्र गतिमा भइरहेको संघले जनाएको छ । त्यसका लागि गैरआवासीय नेपाली संघका विभिन्न मुलुकस्थित राष्ट्रिय समन्वय परिषद्हरुले सहकार्य एवं समन्वय गरिरहेका छन् । शनिबारसम्म सबैभन्दा बढी कुवेतबाट २ हजार २ जना नेपाली स्वदेश फर्किएका छन् ।

यस्तै युएईबाट २ हजार १७ जना, साउदी अरेबियाबाट १ हजार २ सय १८ जना, मलेसियाबाट ९ सय २१ जना, बगंलादेशबाट ८ सय १५ जना, कतारबाट ६ सय ३८ जना, माल्दिभ्सबाट, ६ सय ४ जना, जापानबाट ४ सय ९२ जना, अस्ट्रेलियाबाट २ सय ६९ जना, बहराइनबाट ४ सय २० जना, थाइल्याण्डबाट ३ सय २६ जना, ओमानबाट ३ सय १३ जना नेपाल ल्याइएको छ । यसैगरी अमेरिकाबाट ४ सय ८३ जना, दक्षिण कोरिया २ सय २८ जना, सिंगापुरबाट १ सय ४६ जना, बेलायत २ सय २९ जना, हङकङबाट ८९ जना, पाकिस्तान ७२ जना, म्यानमारबाट २६ जना, अफगानिस्तानबाट १८ जना र श्रीलंकाबाट ५ जना गरी ११ हजार ३ सय ३१ नेपाली स्वदेश फर्किएका हुन् ।

गैरआवासीय नेपाली संघले विदेशस्थित आफ्ना राष्ट्रिय समन्वय परिषद्लाई अलपत्र नेपालीको सहयोग र उद्धारका लागि गन्तव्य मुलुकका राजदूतावाससँग समन्वय एवं सहकार्य गर्न निर्देशन दिएको गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए । सोहीअनुरुप विदेशमा अलपत्रका लागि राहतका विभिन्न कार्य पनि जारी रहेको गैरआवासीय नेपाली संघले जनाएको छ ।

यसैगरी विदेशमा विभिन्न कारण ज्यान गुमाएका तर लकडाउनका कारण नेपाल ल्याउन नपाएका ८७ वटा शव नेपालमा ल्याइएको छ । हालसम्म कतारबाट २० वटा शव नेपाल ल्याइएको छ । यस्तै साउदी अरेबियाबाट २०, मलेसियाबाट ३१, कुवेतबाट ७, युएईबाट ५, बहराइनबाट ३ र ओमानबाट एउटा शव नेपालमा ल्याइएको छ । यस अलावा १२० वटा शव अझै विदेशमै रहेका छन् । जसलाई नेपाल ल्याउन गैरआवासीय नेपाली संघले सरकारको पटक पटक ध्यानाकर्षण गराउँदै आएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया