Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधजनकपुर–अयोध्या उड्दै बुद्ध एयर

जनकपुर–अयोध्या उड्दै बुद्ध एयर


काठमाडौं ।
बुद्ध एयरले नेपालको जनकपुरबाट भारतको अयोध्यामा सिधा उडान सञ्चालन गर्ने भएको छ । धार्मिक पर्यटन प्रवर्द्धनार्थ पौराणिक, धार्मिक सम्बन्ध रहिआएको जनकपुरधाम र अयोध्याको महत्वलाई दर्शाइ यो गन्तव्यमा उडान विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ ।

त्रेतायुगदेखि नै चलिआएको ‘सीताराम’ सम्बन्धको जनकपुरधाम र अयोध्या सहरलाई जोड्नका लागि उडान सञ्चालनको तयारी गरिएको हो । बुद्धले जनकपुरबाट अयोध्यामा विस्तार भइरहेको विमानस्थलमा सिधा उडान अनुमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा निवेदन दिएको छ । प्रदेश नं. २ सरकारलाई पनि बोधार्थ पठाइएको छ ।

तीन वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला जनकपुर र अयोध्यालाई भगिनी सहरका रूपमा विकास गर्ने, रामायण सर्किट बनाउनेजस्ता सहमति भएको थियो । जनकपुरधामबाट अयोध्यामा निर्माणाधीन विमानस्थलको उडान ५० मिनेटको हुनेछ । यस उडानबाट दुवै देशका धार्मिक पर्यटकले मनग्य लाभान्वित हुने कम्पनीको विश्वास छ । जनकपुर विमानस्थल आन्तरिक विमानस्थल भएकाले अन्तर्राष्ट्रिय उडानका लागि भन्सार र अध्यागमन कार्यालय स्थापना गर्न सरोकारवाला निकायले पनि सहजीकरण गरिदिएको खण्डमा निकट भविष्यमा यो गन्तव्यबाट भारतीय पर्यटकको संख्या बढ्ने अनुमान गरिएको छ ।

कोभिड–१९ पछिको उडान बजारमा आफ्नो उपस्थिति बलियो बनाउन बुद्धले आक्रामक बजार विस्तार गर्न लागेको विज्ञप्तिमार्फत जनाएको छ । हरेक गन्तव्यमा यात्रुको चाप हेरी थप उडान भरिनेछ । बुद्ध एयरसँग अहिले नौ थान एटिआर–७२, तीन थान एटिआर–४२ र दुई थान बीचक्राफ्ट गरी १४ जहाज छन् ।

कोभिडका कारण शिथिल भएको हवाइ क्षेत्रलाई चलायमान बनाउन बजार विस्तारसहित उपस्थिति जनाउने कम्पनीको योजना छ । अहिले बुद्धले दैनिक १२० उडान गरिरहेको छ । उडान संख्या बढे पनि विदेशी पर्यटक नआएसम्म पूर्ववत् अवस्थामा फर्किन कठिन हुने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए । बुद्धले पोखराका लागि दैनिक नौ, विराटनगरका लागि आठ, भैरहवा सात, सिमरा, भरतपुर, भद्रपुर पाँच, जनकपुर, नेपालगञ्जका लागि दैनिक चार उडान गर्दै आएको छ । अन्य गन्तव्यमा पनि यात्रुको चाप हेरी उडान विस्तार गर्ने बुद्ध एयरले जनाएको छ ।

बुद्ध एयरलले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यीबाहेक काठमाडौँ र पोखराबाट पर्वतीय उडान पनि सञ्चालन गरिरहेको छ । भारतको बनारस उडान दुवै देशको स्वीकृतपछि पुनः उडान सञ्चालन गर्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया