Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसार्वजनिक कार्यालयमा ‘दोभासे’को व्यवस्था गर्न माग

सार्वजनिक कार्यालयमा ‘दोभासे’को व्यवस्था गर्न माग


काठमाडौं । राष्ट्रिय बहिरा महासंघ नेपालले प्रत्येक सार्वजनिक कार्यालयमा दोभासेको व्यवस्था गर्नुपर्ने माग गरेको छ । महासंघले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी सार्वजनिक कार्यालयमा दोभासेको व्यवस्था नहुँदा कानले नसुन्ने र बोल्न नसक्ने नागरिकलाई सेवा लिन समस्या भएकोले प्रत्येक सार्वजनिक कार्यालयमा एक जना दोभासेको व्यवस्था गर्नुपर्ने माग गरेको हो ।

महासंघका अध्यक्ष केपी अधिकारीले सांकेतिक भाषाका शब्द चार हजार सात सय मात्रै रहेको भन्दै बहिरा नागरिकलाई गुणस्तरीय शिक्षाका लागि ‘एक जिल्ला, एक बहिरा विद्यालय’को व्यवस्था गर्नुपर्ने बताए । सांकेतिक भाषाको विकास गर्न सांकेतिक भाषा अनुसन्धान केन्द्रको स्थापना गर्न समेत उनले सरकारसँग आग्रह गरे । त्यसैगरी महासंघले सात सय ५३ वटै स्थानीय तहमा दोभासेको व्यवस्था गर्नुका साथै दोभासे उत्पादन गर्न तालिम केन्द्रको स्थापना गर्नुपर्ने, बहिरा नागरिकको सीप, क्षमता र आवश्यकताका आधारमा रोजगारीको व्यवस्था गर्नुपर्ने समेत माग गरेको छ । देशका विभिन्न स्थानमा कानले नसुन्ने र बोल्न नसक्ने महिलामाथि जबर्जस्ती करणी गरिएको र दोषीमाथि कारबाही हुन नसकेको महासंघको भनाइ छ ।

अध्यक्ष अधिकारीले भने, ‘अपांगता ऐन विभेदकारी छ, ऐनले अपांगताभित्र पनि बहिराको सवालमा विभेदकारी व्यवस्था गरेको छ, त्यसलाई संशोधन गर्नुपर्छ, अर्को कुरा नीतिगतरूपमा राज्यका संरचनामा बहिरा नागरिकको प्रतिनिधित्व हुन जरुरी छ ।’ युनिसेफद्वारा प्रकाशित एक प्रतिवेदनअनुसार अनुसार पाँचदेखि १२ वर्ष उमेरका कुल अपांगता भएका बालबालिकामध्ये ३० प्रतिशत बालबालिका अझै विद्यालयभन्दा बाहिर छन् । सरकारी प्रतिवेदनअनुसार सरकारले सञ्चालन गरेका ३५ हजार नौ सय ९३ बाल विकास केन्द्रमा नौ लाख ७३ हजार नौ सय बालबालिका सिकिरहेका छन् तर यिनीहरूमा अपांगता भएका बालबालिकाको संख्या भने तीन हजार दुई सय ७० मात्र छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया