Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारसहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकियो

सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकियो


काठमाडौँ । काठमाडौँ महानगरपलिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न २४ वटा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकेको छ । महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले महानगरको प्रत्येक वडा कार्यालयमा रहेका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई प्रथम सेवा विन्दुका रुपमा तोकिएको बताए ।

प्रमुख पौडेलले प्रथम सेवा विन्दुबाट उपचार गरेपछि केन्द्रीय अस्पतालमा ‘रिफर’ गर्न पाइने बताए । महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच स्वास्थ्य बीमा कार्यक्रम गर्ने सहमति भएको छ । यहाँ रहेका केन्द्रीय अस्पताल वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले प्रथम सेवा विन्दु हुन अस्वीकार गरेपछि वडा कार्यालयमा रहेका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकिएको हो ।

महानगरका स्वास्थ्य विभाग प्रमुख पौडेलले ३२ वटै वडामा स्वास्थ्य बीमा सहजकर्ता छनोट गरिएको जानकारी दिए । छनोट गरिएका सहजकर्तालाई बोर्डले यही पुसभित्र तालिम अभिमुखीकरण दिने उनले बताएका छन् । ललितपुर महानगरले यही पुस २ गते स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको थियो ।

२०७२ सालबाट सरकारले सबै नेपाली नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि बीमा कार्यक्रम ल्याएको थियो । बोर्डमा हालसम्म ७४ लाख बीमित भइसके पनि करिव ४७ लाख मात्र सक्रिय छन् । उनका अनुसार तालिम लिइसकेपछि स्वास्थ्य बीमा सहजकर्ताले प्रत्येक घरमा गई घरपरिवारलाई बीमित गराउने छन् । बीमित भएको तीन महिनापछि मात्र बीमितले बीमा कार्यक्रममार्फत उपचार सेवा पाउने छन् ।

२०७२ साल चैत २५ गते गुणस्तरीय स्वास्थ्य सेवालाई जनस्तरसम्म पुर्याउनका लागि स्वास्थ्य बीमा बोर्ड स्थापना गरिएको थियो । एकदेखि पाँच जनासम्म परिवारले प्रत्येक वर्ष बीमितबापत रु तीन हजार पाँच सय र पाँच जनाभन्दा बढी भएको खण्डमा प्रत्येक एक जना बराबर थप रु. सात सय थप्नुपर्ने छ । अहिले ७७ जिल्लामा लागू गरिएको स्वास्थ्य बीमा बोर्डले एक लाखसम्म बीमित परिवारले निःशुल्क उपचार सेवा पाउने छन् ।


क्याटेगोरी : पालिका समाचार, महानगर

तपाईको प्रतिक्रिया