Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्र बैंकको नियतमै खोट

राष्ट्र बैंकको नियतमै खोट


काठमाडौं । नेपाल राष्ट्र बैंकले यही वैशाख १४ गते शुक्रबार आफ्नौ ६९औँ वार्षिकोत्सव मनायो । वार्षिकोत्सव मनाउने क्रममा राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनीहरुलाई कदरपत्रसहित सम्मान गरेको थियो ।

सम्मानित हुनेमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेतृत्व गरेको ग्लोबल आईएमई बैंक र आईएमई रेमिट्यान्स कम्पनीको बोलवाला रह्यो । राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुको तर्फबाट सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनीको रुपमा आईएमई रेमिट्यान्स कम्पनीलाई र वाणिज्य बैंकहरुतर्फ ग्लोबल आईएमई बैंकलाई कदरपत्रसहित सम्मान गर्यो । गभर्नर महाप्रसाद अधिकारीको हातबाट सम्मान थाप्नको लागि आईएमई रेमिट्यान्स र ग्लोबल आईएमई बैंकका प्रतिनिधिहरु उक्त विशेष समारोहमा सहभागी भए ।

समारोहमा वाणिज्य बैंकहरुमध्येमा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनीको रुपमा ग्लोबल आईएमई बैंकले सम्मान ग्रहण गर्दा सोही समारोहमा उपस्थित भएका हिमालयन बैंकका प्रतिनिधिहरु भने अचम्ममा परे ।

राष्ट्र बैंकले गतवर्ष आफ्नो ६८औँ वार्षिकोत्सव मनाउने क्रममा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने बैंकहरुमध्येमा हिमालयन बैंक पहिलो नम्बरमा परेको थियो । हिमालयन बैंकले आर्थिक वर्ष २०७८/७९ मा देशमा भित्रिएको कुल रेमिट्यान्सको १६ दशमलव ९ प्रतिशत रकम भित्र्याउन सफल भएको थियो । सोही आधारमा उक्त वर्ष सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा हिमालयनका बैंकमा प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर जबराले गभर्नर महाप्रशाद अधिकारीको हातबाट सम्मानपत्र ग्रहण गरेका थिए ।

राष्ट्र बैंककै उच्च अधिकारीले पनि आर्थिक वर्ष २०७९/८० मा वाणिज्य बैंकहरुतर्फ सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंकहरुमा हिमालयन बैंक पहिलो नम्बरमा परेको बताएका थिए । यसको औपचारिक घोषणा राष्ट्र बैकको ६९औँ वार्षिकोत्सवको विशेष समारोहमार्फत हुने जानकारी हिमालयन बैंकलाई गराइएको थियो । तर, राष्ट्र बैंकको विशेष समारोहमा वाणिज्य बैंकतर्फ सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने बैंकको सूचीमा ग्लोबल आईएमई बैैंकको नाम एक नम्बरमा राखियो । विशेष समारोहमा ठूलो–ठूलो स्वरमा उद्घोष गर्दै ग्लोबल आईएमई बैंकको नाम घोषणा गरियो, सबैले ताली बजाए । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी २१ दशमलव १ प्रतिशत रेमिट्यान्स ग्लोबल आईएमई बैंकले भित्र्याएको छ । सोही आधारमा राष्ट्र बैंक्ले ग्लोबल आईएमई बैंकलाई सम्मान गरेको थियो । तर, वास्तवमा उक्त समारोहमा भुलवश गल्ती भएको राष्ट्र बैंक स्वयम्को भनाइबाट पुष्टि भयो ।

उद्घोषकले गल्ती गरे वा राष्ट्र बैंकका उच्च अधिकारी र ग्लोबल आईएमई बैंकको सेटिङमा उक्त समारोहमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंकको सूचीमा ग्लोबल आईएमई बैंकको नाम लिएर सिंगो व्यावसायिक विश्वास बेचिएको छ । विशेष समारोहमा सबैको उपस्थितिमा सम्मान पाउनुले व्यावसायिक जगतमा विशेष अर्थ राख्छ, जुन ग्लोबल आईएमई बैंकको हकमा सेटिङमा प्राप्त भएको रहेछ भन्ने कुराको पुष्टि राष्ट्र बैंक स्वयम्को पछिल्लो कदमबाट भएको छ ।

राष्ट्र बैंकले आफ्नो ६९औँ वार्षिकोत्सवको अवसरमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आईएमई बैंकको नाम भुलवश पर्नगएको र सर्वाधिक रेमिट्यान्स भित्र्याउनेमा हिमालयन बैंक आर्थिक वर्ष २०७९/८० मा पनि पहिलो रहेको भन्दै वार्षिकोत्सव सकिएको केही दिनपछि हिमालयन बैंकलाई पुनः बढी रेमिट्यान्स भित्र्याउने पहिलो बैंकको कदरपत्र दिएको छ । राष्ट्र बैंकको यो कदमले पनि राष्ट्र बैंकका केही उच्च अधिकारीहरुले नियतमा नै खोट राखेर सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनीहरुलाई दिइने कदरपत्रमा खेलबाड गर्नेगरेको पुष्टि गर्छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया