Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशमोरङ व्यापार संघको ट्रेड एक्स्पो विवादित

मोरङ व्यापार संघको ट्रेड एक्स्पो विवादित


काठमाडौं । मोरङ व्यापार संघले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विराटनगरमा ल्याएर बडो तामझामका साथ उद्घाटन गरेको १० दिने विराट एक्स्पो २०२३ विवादमा परेको छ । स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने भनेर आयोजना गरेको सो एक्स्पोमा स्थानीय उत्पादनहरू भने प्राथमिकतामा नपरेपछि विवादमा तानिएको हो । एक्स्पो अर्थात् एक्सपोजिसन प्रदर्शनी भए पनि यसलाई सामान्य अर्थमा स्थानीय उत्पादन, स्थानीय संस्कृति तथा स्थानीय कलाहरू चित्र, पाक, लेखन, अन्य सिपहरूको प्रदर्शनी र प्रदर्शन गरेर प्रवर्द्धन गर्ने माध्यमलाई एक्स्पो वा महोत्सव भनिन्छ । तर मोरङ व्यापार संघले आयोजना गरिरहेको एक्स्पोमा यसको मौलिकता नै हराएको देख्न पाइन्छ ।

आयोजकले एक्स्पोलाई विशेष बनाउने भन्दै एक्स्पोभित्र नेचुरल आइफिल टावर निर्माण गरेपछि अझ बढी विवादमा तानिएको हो । उक्त आइफिल टावर कुन उद्योगको उत्पादन हो भन्दै मेला अवलोकन गर्न जानेहरूले प्रतिप्रश्न गर्ने गरेका छन् । ७० फिट अग्लो यो आइफिल टावर मेला अवलोकनकर्ताको सेल्फी स्टेन भएको छ । उक्त टावर अगाडि बसेर मेलामा आउने अवलोकनकर्ताहरूले फोटो खिच्न पाउनेछन् । एक्स्पोमा विराटनगरसहित कोशी प्रदेश झल्किने गेट, विराटनगरका उद्योग, यहाँको ऐतिहासिक जुटमिल, रिक्सा, बयलगाडी, ठेला, विराट राजाको दरवार, विराटनगरको परिचय झल्किने वा परिचय दिने कुनै कल्पना समेत आयोजकले गर्न नसकेको टिप्पणी पनि सुरु भएको छ ।

एक्स्पोमा फुड जोन भन्दै खानाको सबै किसिमका परिकारहरू प्रशस्त मात्रामा राखिदिएका छन् । तर स्थानीय थारु, राजवंशी, मिथिला परिकारहरू एक्पोमा देखिँदैनन् । जाडोका समयमा एक्स्पो सुरु भएकाले स्थानीयले धेरै मन पराउने भक्का, घुँघी, हाँसको मासु, चामलको पिठोको भित्र दाल राखेर पकाइने परिकार, तिलौरी र तरुवा जस्ता खाद्य वस्तुलाई मेला आयोजकले कुनै महत्व नै नदिएको स्थानियको दाबी छ । कोशी प्रदेशकै पहाडी तथा हिमाली भेगको सेल, फापर र तरुलका परिकारहरूले पनि मेलामा स्थान पाएका छैनन् । एक्स्पोभित्र सम्पूर्ण वस्तु सरल र सस्तो मूल्यमा पाइने भनिए पनि यथार्थमा त्यस्तो छैन । घरायसी प्रयोजनका समानका पनि धेरै स्टल छैनन्, भएका स्टलमा पनि बजारभन्दा सस्तो नरहेको अधिकांशको गुनासो छ । मेलामा स्थानीय उत्पादन खोज्न आएको भन्दै एक उपभोक्ताले त्यसलाई नै मेला आयोजकले एक्स्पोमा कुनै महत्व नदिएको गुनासो गरे । मोरङ व्यापार संघले एक्स्पोका नाममा मेला आयोजना गरेर भरपूर मनोरञ्जनको मात्रै व्यवस्था गरेको स्थानीय व्यवसायीले बताउन थालेका छन् । एक्स्पोका नाममा राष्ट्रियस्तरका कलाकार ल्याएर स्थानीय युवालाई राम्रै तताएको देखिन्छ । तर एक्स्पोमा स्थानीय कलाकार, स्थानीय कला, साहित्य, संस्कृतिको प्रदर्शन खोई भन्दै प्रतिप्रश्न गर्न थालिएको छ । अहिलेको विराट ट्रेड एक्स्पो एउटा रमाइलो मेला मात्र भएको भन्दा फरक नपर्ने स्थानीय व्यवसायीले गुनासो गरेका छन् ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया