Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशकोशी प्रदेश सरकारले चाँडै पूर्णता पाउँछ : मुख्यमन्त्री कार्की

कोशी प्रदेश सरकारले चाँडै पूर्णता पाउँछ : मुख्यमन्त्री कार्की


मनहरी (मकवानपुर) । कोशी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना टरेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताएका छन् । कोशी प्रदेशमा वर्तमान सर्वदलीय सरकार नै निरन्तर चल्ने र आवश्यक विकास तथा सेवा प्रवाहको काम अघि बढ्ने उनले बताए ।

मुख्यमन्त्री कार्कीले शुक्रबार हेटौँडामा गरेको पत्रकार सम्मलेनमा चाँडै नै प्रदेशमा रहेका दलको सहमतिमा कोशी प्रदेश सरकारले पूर्णता पाउने जानकारी गराए । केही समयअघि जारी भएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा दलले दिएको समर्थनले प्रदेशमा क्रियाशील सबै दलको सहमतिमा पुष्टि गरेको उनको भनाइ छ ।

सङ्घीयता कार्यान्वयनका सवालमा कोशी प्रदेशले सशक्त भूमिका निर्वाह गरिरहेको र प्रदेशको संवैधानिक अधिकारका विषयमा आफू मुख्यमन्त्री बन्दा भएका घटनाक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ । सङ्घीय सरकार र सांसद लोकप्रियताका लागि जिम्मेवारीभन्दा बाहिरका काममा केन्द्रित भइरहेको उनले आरोप लगाए ।

सङ्घीय सरकार र प्रतिनिधिसभालाई दबाव दिएर प्रदेश सरकारले संविधानले व्यवस्था गरेको अधिकार खोसेर लिनुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिए । यसका लागि हेटौँडामा छलफल भइरहेको र छलफलले सङ्घीय सरकार र संसद्लाई दबावमूलक सन्देश प्रवाह हुने उनको भनाइ छ । उनले सङ्घीयता कार्यान्वयनका सवालमा प्रदेश सरकारले एकजुट भएर फरक शैलीबाट अघि बढ्ने बताए ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश

तपाईको प्रतिक्रिया