Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशभेडेटारमा खाना महोत्सव

भेडेटारमा खाना महोत्सव


धनकुटा । धनकुटाको पर्यटकीय नगरी भेडेटारमा ११औं खाना महोत्सव सुरु भएको छ । होटल एसोसिएसन भेडेटारले अङ्ग्रेजी नयाँ वर्षका अवसर पारेर सो महोत्सव आयोजना गरेको हो । आइतबारदेखि सुरु भएको महोत्सव मंगलबारसम्म चल्ने आयोजकले जनाएको छ ।

कोशी प्रदेशको पर्यटन तथा वन वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले महोत्सवको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । कार्यक्रममा उनले यस्ता महोत्सवले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए । महोत्सवमा स्थानीय खाना, अग्र्यानिक खेतीबाट उत्पादित सागसब्जी, फलफूल, हस्तकला, कृषि तथा घरेलु सामग्रीको २५ कक्ष छन् । स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति महोत्सवमा रहने आयोजकले जनाएका छन् । महोत्सवमा एक करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको महोत्सव आयोजक संस्थाका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए । भेडेटारका होटलमा महोत्सव अवधिभर खाना तथा लजमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

आयोजक समितिका सचिव लालबहादुर श्रेष्ठका अनुसार हरेक वर्षझैँ महोत्सवमा भारतको विहारलगायत पूर्वी तराईबाट पर्यटक भेडेटार आइपुगेका छन् । उनीहरूले स्थानीयस्तरमा उत्पादित खानपान र परिकारका स्वाद लिन पाउनेछन् । साथै, पर्यटकहरूले साँगुरीगढी, पाथीभरा मन्दिर, नाम्जे गाउँ, नमस्ते झरना, ध्वजेडाँडा शुलीकोट, मोरङे राजाको दरबार, खिबेकलुङलगायत स्थान घुम्न र जिपलाइन, प्याराग्लाइडिङलगायत साहसिक खेलको आनन्द लिन सक्नेछन् । भेडेटारमा जाडोमा दैनिक दुई हजारसम्म र गर्मीमा सात हजारसम्म आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेको होटल एसोसिएसन भेडेटारको तथ्यांक छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #page 3

तपाईको प्रतिक्रिया