Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकर्णाली प्रदेशमाइनस १० पुग्यो हुम्लाको तापक्रम

माइनस १० पुग्यो हुम्लाको तापक्रम


सिमकोट (हुम्ला) । हिउँदयाममा हिमपात नभए पनि हिमाली जिल्ला हुम्लामा बुधबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ । स्थानीयले यस वर्ष अत्यधिक चिसो महसुस गरिएको बताए ।

मङ्गलबार साँझदेखि आकाशमा बादलले छोपेसँगै बुधबार बिहानदेखि चिसो अत्यधिक बढेको छ । जिल्लाको मौसममा बदलीसँगै बिहानबाट बाक्लो बादल लाग्दा चिसो बढेको हो ।

सिमकोट विमानस्थलका प्रमुख मेन्द्र सिंहले जिल्लामा मौसममा परिवर्तन भइरहेकाले स्थानीयको दैनिकी कष्टकर हुनुका साथै हवाई यातायात पनि प्रभावित भएको बताए । उनका अनुसार विमानस्थलमा रहेको मौसम मापन गर्ने उपकरणमा आजको तापक्रम माइनस १० डिग्री सेल्सियस देखिएको छ ।

चिसोका कारण अन्तर जिल्ला जोड्ने एक मात्र हवाई यातायातले समेत नेपालगञ्ज, सुर्खेतबाट उडान भर्न नसकेको विमानस्थल प्रमुख सिंहले जानकारी दिए ।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले जिल्लाको तापक्रम माइनसमा झरेसँगै चिसो बढेपछि चिसोबाट बच्न सतर्कता अपनाउन सबैमा अनुरोध गरेका छन् । उनले चिसोले वृद्धवृद्धा र बालबालीकालाई बढी असर गर्ने भएकाले बाक्लो कपडा लगाएर न्यानो भएर बस्न आग्रह गरे ।

जाडो मौसममा एक भारी दाउराको मूल्य एक हजारसम्म पर्ने गरेको छ । चिसो ह्वात्तै बढेपछि स्थानीयवासी तथा कर्मचारीले दैनिक उपयोगका लागि दाउरा सङ्कलन गर्न थालेका छन् ।

सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयमा बुधबार चिसो बढी भएपछि कर्मचारीलाई काम गर्न समस्या भएको छ । शिखर इन्स्योरेन्स प्रालि हुम्ला शाखाका उपेश भण्डारीले चिसोमा सेवाग्रही कम आउने भएकाले सेवा लिन आएका सेवाग्राहीलाई विद्युत्को प्रयोग गरी हिटर तापेर सेवा दिइएको बताए ।

 


क्याटेगोरी : प्रदेश समाचार, कर्णाली प्रदेश

तपाईको प्रतिक्रिया