पर्यटक पर्खिरहेको हाँडिकोट
बलेवा । यस वर्षको हिउँदमा हिमपात नभएर सेताम्मे हुन नपाएको हाँडिकोट पर्यटक पर्खिरहेको छ । हिउँका पारखीका लागि न्यानो हिउँदले हाँडिकोट पुग्न दिएन् तर खुलेको आकाश, कोपिला लागेका गुराँस र बिहान बेलुकाको सिरेठो अनी पुरातात्वीक संरचनाले पर्यटकलाई पर्खिरहेका छन् ।
सहरको कोलाहल र प्रदूषण छाडेर हाँडिकोट पुग्दा मन प्रफुल्लित हुन्छ । माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि जस्ता दर्जनौँ हिमश्रृङ्खलाको मनमोहक दृश्यले हाँडिकोट पुग्ने जोकोहीलाई प्रफुल्लित बनाउँछन् । बिहानी सूर्योदयको पहिलो किरणदेखि बेलुकी सूर्यास्तसम्म हिमालले अनेक रङ्ग फेर्छ । तल हरियाली वनजङ्गल डाँडामा पुग्दा बादलभित्र हराए जस्तो हुन्छ ।
यो दृश्य आफैँमा एउटा सुन्दर कला भएको भान हुन्छ । बाग्लुङको जैमिनी नगरपालिकामा रहेको हाँडिकोट टापुबाट देखिने केही दृश्य साँच्चिकै अद्भूत लाग्दछन् । जैमिनीको वडा नं. १० राङखानी, वडा नं. ७ जैदी र वडा नं. ८ छिस्तीको सङ्गमस्थल हो हाँडिकोट ।
समुद्री सतहदेखि दुई हजार एक सय ९५ मिटर उचाइमा रहेको हाँडिकोटमा वर्षाको समयमा जुकाको समस्या, हुस्सु र कुहिराले ढाकिने र हिउँदमा हिउँले घुम्टो हाल्दा पनि पर्यटक नियमित पुगेका हुन्छन् । हाँडिकोटले जति प्राकृतिक र पौराणिक महत्व बोकेको छ त्यति पर्यटक भित्र्याउन नसकेको जैमिनी–१० राङ्खानीका मित्र थापा बताउँछन् ।
बाइसे चौबिसे राजाका पालामा रहेको दरबार उठेपछि उराठलाग्दो भएको हाँडिकोटले पछिल्लो समय न्याय पाउन थालेको छ । समथर जमिन, राजदरबारका भग्नावशेष, मन्दिर र शीला सुसज्जित हाँडिकोट पुगेर पहाडको खोँचमा मडारिएको बादलसँग तस्बिर खिचाउने बिहीबार भोलि दिनदिनै पुग्छन् ।
विस्तारै पर्यटक पुग्दै गरेको हाँडिकोटको प्रचारप्रसारमा सरकारी निकायको भन्दा स्थानीयको जोड छ । हाँडिकोट टापुमा केही वर्षदेखि मेला महोत्सव गर्ने र आन्तरिक पर्यटक पु¥याउने गर्न थालिएको छ । यस वर्ष हाँडिकोटमा चौथो हाँडिकोट महोत्सव हुँदैछ । हाँडिकोट सामुदायिक विकास केन्द्र राङ्खानीले फागु पूर्णिमाको अवसर पारेर महोत्सव आयोजना गरेको हो ।
हाँडिकोट चिनाउनकै लागि केही वर्षदेखि मेला र महोत्सवको माध्यमबाट प्रचार थालिएको केन्द्रका अध्यक्ष रोशन थापाले जानकारी दिए । यस पटक फागुन १७ देखि २२ गतेसम्म विविध कार्यक्रम गरेर आफ्नो संस्थाको वार्षिकोत्सवसँगै हाँडिकोटमा महोत्सव आयोजना गरिएको थापाले बताए ।
महोत्सवमा आयोजना गरिने भलिबल खेलमा सहभागी हुने खेलाडी, सांकृतिक कार्यक्रममा सहभागी हुने कलाकार र महोत्सव हेर्न आउने दर्शकले हाँडिकोटको प्रचार गर्ने संस्थाको विश्वास छ । महोत्सवमा स्थानीय कला संस्कृतिको प्रस्तुतिका साथै स्थानीय परिकारको पनि प्रदर्शनी गरिने छ । यसले हाँडिकोटसँग जोडिएको गाउँको आर्थिक विकासमा सहयोग गर्ने संस्थाको बुझाइ छ ।
यसअघि पैदल यात्रा गर्नुपर्ने बाध्यता हटेर सडकले जोडिएपछि हाँडिकोटमा नियमित रूपमा पर्यटक पुग्न सजिलो रहेको नगर उपप्रमुख हरिहर शर्मा बताउँछन् । हाँडिकोटको पर्यटन विकास र यसलाई अझै आर्कषक बनाउनका निम्ति भौतिक पूर्वाधार निर्माण गर्न नगरपालिकाले लगानी बढाएको छ ।
हालसम्म दृश्यावलोकन स्तम्भ, प्रतिक्षालय निर्माण, मन्दिर निर्माणका लागि रु. २२ लाख खर्च गरिसकिएको छ भने यस वर्ष खानेपानी व्यवस्थापनका लागि रु. नौ लाखमा ट्याङ्की निर्माण गरिएको उपप्रमुख शर्माले बताए ।
माथि डाँडामा पानीको स्रोत नभएका कारण झन्डै पाँच सय मिटर तल खानेपानीको ट्याङ्की निर्माण गरेर लिफ्टिङ प्रविधिबाट माथि लैजाने योजना छ । आगामी आर्थिक वर्षमा पनि दृश्यावलोकन स्तम्भमा रेलिङ र तारजालीका लागि रु तीन लाख विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।
हाँडिकोट चौबिसे राज्यका पालामा रहेको भुरेटाकुरेमा गनिन्छ । त्यसैले यहाँ पुरातात्विक महत्वका क्षेत्र पनि छन् । भुरेटाकुरे राजारजौटाले प्रयोग गरेका कतिपय सामग्री यहाँ सङ्ग्रह गरेर राखिएको छ । त्यसका लागि सङ्ग्रहालय बनाएर संरक्षण गर्ने नगरपालिकाको योजना छ ।
व्याडथला र डाँडाखानीबाट दुई हजार दुई सय मिटर अग्लो हाँडिकोट उक्लेपछि वरपरका सबै बस्तीसमेत देखिन्छन् । हाँडिकोटको नजिकका डाँडाखानी र व्याडथलामा सामुदायिक घरवास सञ्चालनमा छन् । घरवासमा खाना र बस्नका निम्ति राम्रो व्यवस्था छ । घरवासमा बस्न नचाहने पर्यटकका लागि नजिकै नान्दुक बजारमा होटल पनि पर्याप्त मात्रामा छन् । पर्यटन प्रवर्द्धनको उद्देश्य राखेर हरेक वर्ष हाँडिकोट महोत्सवसमेत गरिँदै आएको छ । सदरमुकाम बाग्लुङ बजारदेखि तीन घण्टाको मोटरयात्रामा व्याडथला पुग्न सकिन्छ ।
क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया