Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारठेकेदार कुरिरहेको तामाकोशी पुल !

ठेकेदार कुरिरहेको तामाकोशी पुल !


दोलखा । जिल्लाको तामाकोशी नदीमा रहेको पुरानो पुलकै छेउमा निर्माणाधीन नयाँ पुल सात वर्षदेखि अलपत्र छ । लामोसाँघु जिरी सडकखण्डअन्तर्गत पर्ने तामाकोशी पुल निर्माणका लागि ठेकेदार कम्पनी मिलगिरी नेसनल जेभीले २०७३ सालमा ठेक्का सम्झौता गरेको थियो ।

साढे दुई वर्षभित्र निर्माणसम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले हालसम्म पुलको जग र पिलरबाहेक अन्य संरचना बनाउन सकेको छैन । पाँचवटा स्थानीय तहलाई सदरमुकामसम्म जोड्ने र आधा दर्जन हाइड्रोपावरको सामान ढुवानी हुने तामाकोशी पुल अहिले जीर्ण अवस्थामा पुगेको छ । जिल्लाको सदरमुकाम चरीकोट हुँदै मैनापोखरी, जिरी, तामाकोशी हुँदै रामेछापको सदरमुकाम मन्थली ओहोरदोहोर गर्ने यो पुललाई ठेकेदार कम्पनीले सात वर्षदेखि अलपत्र पारेको स्थानीय राजन कुमार दाहालले बताए । चरीकोट जिरी सडकखण्ड स्तरोन्नति गर्ने सम्झौता हुनुुभन्दा एक वर्षअगाडि नै निर्माण सम्झौता भएको यो पुल उक्त सडकखण्ड निर्माणसम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि अझै अलपत्र अवस्थामा रहेको छ । २०७४ सालमा ठेक्का सम्झौता भएको चरीकोट–जिरी ५५ किलोमिटर सडक २०७८ सालमै निर्माणसम्पन्न भइसकेको छ । तर सोही सडकखण्डमा रहेको उक्त पुल निर्माण हुन नसक्दा जोखिम मोलेरै मालवाहक ठूला सवारी ओहोरदोहोर गर्नुपरेको यातयात व्यवसायी बताउँछन् ।

जिल्लाको बैतेश्वर, गौरिशंकर, तामाकोशी, मेलुङ गाउँपालिका र जिरी नगरपालिकाका नागरिक सदरमुकाम तथा राजधानी ओहोरदोहोर गर्ने उक्त पुल निर्माणका लागि ठेकेदार कम्पनीसँगै जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि तथा सडक डिभिजन कार्यालयले समेत चासो नदेखाएको स्थानीयहरूको गुनासो छ । पुल निर्माण कम्पनी मिलगिरी नेसनल जेभी सम्पर्कविहीन भएको छ ।

कोरोना महामारीलाई कारण देखाएर दुई पटक समय थप गरिँदा पनि निर्माण कम्पनी पुल बनाउन आएको छैन । करिब ४० वर्षअघि लामोसाँगु–जिरी सडक निर्माण गर्दा बनाएको पुरानो पुल अहिले चारैतिरबाट चिरा परेर जीर्ण अवस्थामा पुगेको छ । सोही जीर्ण रहेको पुरानो पुलबाट सवारीसाधन तथा मालवाहक बस ओहोरदोहोर गरिरहेका छन् । निर्माणाधीन अवस्थामा रहेका हाइड्रोपावरका सयौँ टन सामान यही पुरानो जीर्ण पुलबाट ढुवानी हुँदै आएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया