Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसमाजसेवीहरूको भूमिका : अर्बुद रोग निवारण संस्था

समाजसेवीहरूको भूमिका : अर्बुद रोग निवारण संस्था


हरिगोपाल प्रधान
नेपाल अर्बुद रोगबाट पीडित व्यक्तिहरूको संख्या निकै ठूलो छ । अर्बुद रोग हुने कारणहरू तथा यस रोगबाट बच्न सकिने या यसलाई रोकथाम गर्ने उपायहरूबारे जनचेतना जगाउन केही वर्षयता विभिन्न प्रकारका प्रयासहरू भइरहेका छन् । अर्बुद रोगको पहिचान गर्ने, यसको रोकथाम गर्ने र यस रोगको निवारण गर्ने सन्दर्भमा पीडित नेपाली जनतालाई सर्वसुलभ रूपले उपचार सेवा उपलब्ध गराउने उद्देश्यबाट प्रेरित भई विक्रम सम्वत २०३९ साल, भाद्र ३१ गते स्वर्गीय श्री ५ शाहज्यादा जयन्ती राज्यलक्ष्मी देवी शाहको अध्यक्षतामा नेपाल अर्बुद रोग निवारण संस्थाको स्थापना भएको थियो ।

नेपाल अर्बुद रोग निवारण संस्था समाजसेवीहरूको एउटा साझा संस्था हो । वर्तमान समय भनेको राजनीतिक विभारधाराले समाजसेवाको आदर्शलाई निलिरहेको समय हो । यस्तो समयमा पनि वर्तमानलाई चुनौतीकारूपमा ग्रहण गरेर मानवसेवालाई नै आफ्नो अभीष्ट बनाउने केही समाजसेवीहरू हाम्रो छन् । तिनीहरू राजनीतिक परिदृश्यबाट टाढा रहेर समाज सेवाको पथमा निरन्तर हिँडिरहेका छन् ।

समाजसेवामा प्रत्यक्ष बन्देज नलगाए पनि समाज सेवाको क्षेत्रमा राजनीतिको प्रत्यक्ष हस्तक्षेपको स्थिति विगत केही वर्षअघिदेखि हामीले भोग्दै आएको हौं । त्यसमा पनि समाजसेवीको मूल्यांकन गर्ने, समाजसेवीलाई हेर्ने दृष्टिमा पनि राजनीतिक दृष्टिकोण देखा परिसकेको थियो । राष्ट्रभित्र रहेका समाजका विभिन्न वर्ग र समुदायलाई सेवा उपलब्ध गराउनमा पनि दलीय राजनीतिक क्षेत्रको समर्थन चाहिने अवस्था केही समय अघिसम्म पनि थियो । राजनीतिक आस्था नै सर्वोपरि देखा पर्न थालिसकेको हुँदा आफूले बोकेको राजनीतिक विचारधाराभन्दा विपरीत राजनीतिक विचारधारा बोक्ने अत्युच्च समाजसेवीको चाहिँ समान्य मूल्यांकन गरिने कार्यलाई जोसुकै पनि सामान्य मान्न थालिसकेका थिए । तर, अवत्यो स्थिति छैन र समाजसेवीहरूका लागि यो खुशीको कुरा भएको छ ।

निःस्वार्थ भावले समाजसेवाको क्षेत्रमा लागेका समाजसेवीहरू व्यक्तिगत प्रतिफल र मूल्यांकनको अपेक्षा नगरी समाजसेवा गर्छन् । त्यस्ता समाजसेवीहरको जमघट रहेको नेपाल अर्बुद रोग निवारण संस्था वास्तवमा राष्ट्रको स्वास्थ्य क्षेत्रको एउटा सबल स्तम्भकारूपमा हाम्रा अगाडि उभिएको छ । नेपाल अधिराज्यभित्र ४२ वटा जिल्लाहरूमा यसका शाखा कार्यालयहरू स्थापना भइसकेका छन् र ती शाखाहरूबाट पनि आ–आफ्ना क्षेत्रहरूमा विभिन्न कार्यक्रमहरू भइरहेका छन् । स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यमा यसको महत्वपूर्ण अग्रसरता सदैव रहने गरको छ ।

नेपालमा अर्बुद रोगको रोकथाम गर्ने र विश्वसनीय उपचार सेवा हुने परिस्थितिको अभावले गर्दा उपचारका लागि नेपालीहरू विदेश जान बाध्य भएका थिए । यसरी नेपालको ठूलो धनराशि विदेशी नपुगेको तथ्य अनुभूत गरी स्वदेशमा नै यो रोगबारे उच्चस्तरीय र आधुनिक प्रविधियुक्त सेवा प्रदान गर्न यो संस्था प्रतिबद्ध र सक्रिय रहँदै आएको छ । यस संस्थाको सक्रियतामा भक्तपुरमा नेपाल सरकार (तत्कालीन श्री ५ को सरकार) रोटरी क्लब भक्तपुर नगरपालिका र स्थानीय जनसमुदायको सहयोग लिई भक्तपुर भक्तपुर क्यान्सर क्यान्सर अस्पतालको स्थापना भएको थियो । यस अस्पतालले सबै अर्बुद रोगीहरूको सेवा गर्दै आएको छ भने असहाय र गरिब रोगीहरूलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।

यस संस्थाले हरेक वर्ष विद्यार्थी, शिक्षक तथा युवावर्गलाई समावेश गरी जनचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । विश्व धुम्रपानरहित दिवसको उपलक्ष्यमा यस संस्थाले अन्य संस्थाहरूको समेत सहयोग लिई विभिन्न विद्यालयका विद्यार्थीहरू, शिक्षकहरू जनसेवीहरू, स्वास्थ्यकर्मीहरू, स्वास्थ्यमन्त्रालय पदाधिकारीहरू र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरू समावेश भएको -याली निकाल्ने गरेको छ । यस संस्थाले विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता गराई वक्तृत्व प्रतियोगिता र चित्रकला प्रतियोगिता आदिको आयोजना गरी त्यस्ता प्रतियोगिताहरूमा विजयी बनेका विद्यार्थीहरूलाई पुरस्कार समेत वितरण गर्ने गरेको छ । यस संस्थाले अर्बुद रोगीहरू र अन्य व्यक्तिहरूलाई सेवा प्रदान गर्ने सन्दर्भमा धेरै पटक विभिन्न स्थानहरूमा उपचार सेवासम्बन्धी शिविरहरूको आयोजना पनि गर्दै आएको छ ।

यसरी यो संस्थआधुनिक प्रविधियुक्त सेवा प्रदान गर्र्दै नेपाली जनतालाई अर्बुद रोगको पञ्जाबाट मुक्त गराउने प्रयासमा कार्यरत छ । आगामी दिनहरूमा पनि यस संस्थाले नेपाल अधिराज्यका ७७ जिल्लामा नै आफ्नो सेवा विस्तार गर्ने क्रममा शाखाहरूको स्थापना गर्नेछ । नेपालभरिका युवा विद्यार्थीहरूलाई धुम्रपान र अर्बुद रोगका विरुद्धमा देशव्यापी रूपमा चेतनशील बनाई सुर्तीरहित नेपाली समाज निर्माण गर्न यो संस्था प्रतिबद्ध र सक्रिय रहने छ । संस्थाका समाजसेवीहरू यो लक्ष्यको पूर्ति गर्न कटिबद्ध रहेका छन् ।

अर्बुद रोग नेपालको मात्र होइन, विश्वकै भयावह समस्याका रूपमा देखा परिरहेको छ । अर्बुद रोगलाई अंग्रेजी भाषामा क्यान्सर भन्ने गरिन्छ । चिकित्सकहरूले यस रोगका थुप्रै लक्षणहरू देखाएका छन् र त्यसको निदानका उपायहरू पनि पत्ता लगाएका छन् । तैपनि दक्षिण एसियाली मुलुकहरूमा तीमध्ये पनि विशेषतः नेपालमा यस रोगका रोगीहरूको संख्या प्रशस्तै देखा परिसकेको छ । कुन कारणले अर्बुद रोग लाग्छ भन्ने कुराको जानकारी सर्वसाधारण नागरिकमा नभएको हुनाले यो रोगले त्यही अज्ञानताको फाइदा उठाइरहेको छ । तसर्थ यो रोगका विषयमा जानकारी उपलब्ध गराउनु समाजसेवीहरूको प्रमुख दायित्व हो ।

रोग लागि सकेको उपचार गराउनु महत्वपूर्ण कुरा होइन, बरु रोग लाग्नै नदिनु या रोग लाग्ने वातावरण नै बन्न नदिनुचाहिँ महत्वपूर्ण कुरा हो । रोग लागेपछि यस कुरा महत्व झन् बढी ज्ञात हुन्छ । स्वास्थ्य नै धन हो भन्ने प्राचीन उक्ती वर्तमानको विश्वले पनि चरितार्थ गराइसेकेको छ । नेपालका असंख्य नेपालीहरू यही ज्ञानको अभावमा छटपटाइरहेका छन् । आफूलाई प्रकृतिको प्रतिकूल स्वरूपमा ढाल्दा के–कस्ता रोगहरूले आफूमाथि आक्रमण गर्छन र शरीरमा विजातीय तत्वको प्रवेश भयो भने के–कस्ता प्रकारका रोगहरू शरीरमाथि आक्रमक बन्छन् भन्ने कुरा बुझाउन सकियो भने नेपाल अर्बुद रोग निवारण संस्थाजस्तो सामाजिक संस्थाले आफ्नो कर्तव्य पूरा गरेको ठहरिनेछ ।

रोगीहरूको उपचार गराउन अस्पताल खोल्नु जत्तिकै महत्वपूर्ण कुरा रोग लाग्नुबाट बचाइदिनु हो भनेर समाजसेवीहरूले बुझेमा समाज सेवाको सार्थक महत्व अझ स्पष्ट हुने कुरामाकुनै शंका छैन । नेपालमा समाज सेवाको औपचारिक इतिहास केलाउँदा हामीले नेपालको विक्रम सम्वत १९९० साल, माघ २ गते भएको विनाशकारी भूकम्पपछिको घटनासम्म पुग्नुपर्छ । त्यसपछि विभिन्न चरणहरू पार गरेर समाजसेवीहरूले अझसम्म आफूलाई राष्ट्र र जनताको सेवामा समर्पण गरिरहेका छन् । राजनीतिक हस्तक्षेपको कारण विगत झन्दै डेढ दशक अगाडिदेखि निःस्वार्थ समाजसेवीहरूले निष्क्रिय बन्नुपर्ने बातावरणको सिर्जना भइसकेको थियो तापनि जनताको दुःख दर्द सहन नसक्ने समाजसेवीहरू प्रतिकूल परिस्थितिमा पनि आफ्नो उद्देश्यप्रति प्रतिबद्ध र कटिबद्ध थिए । यो धेरै सह्रनीय र गौरवपूर्ण कुरा हो ।

अब परिस्थितिमा सुधार आइसकेको हुनाले समाजसेवीहरूले अनुकूल स्थिति प्राप्त गर्न सक्नेछन् भन्ने आशा गर्न सकिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले नेपालीहरूलाई अरुले भन्दा बढी नै पिरोलेको हुनाले समाजसेवी सामाजिक संस्थाले स्वास्थ्य क्षेत्रलाई प्रश्रय दिनु अत्यन्त स्वाभाविक कुरा हो । यसमा प्रचार मात्रैको कुरा आउँदैन । राजनीतिकबाट अलग रहेर अर्बुदजस्तो कडा रोगबाट नेपाली जनतालाई मुक्त पार्नु प्रत्येक समाजसेवीको दायित्व हो र प्रमुख कर्तव्य हो ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया