Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपाली पर्यटनः सिंगापुरबाट केही सिक्ने कि ?

नेपाली पर्यटनः सिंगापुरबाट केही सिक्ने कि ?


काठमाडौं । हुन त सिंगापुर र नेपाल तुलना गर्नयोग्य देश नै होइनन् । खासगरी विज्ञान, सूचना, प्रविधि, सञ्चार, भौतिक विकास, व्यक्तिगत आय स्रोत, मानिसको जीवनस्तर, आर्थिक स्थिति, जनस्वास्थ्य, शिक्षा, व्यापार, मानिसको औसत आयु, सडक, जल र हवाई यातायातमा मारेको फड्को आदिलाई लिने हो भने नेपाल र सिंगापुरबीच तुलना गर्नु भनेको ‘फेद’सँग मिल्ने तुलना हो, न त ‘टुप्पो’सँग मिल्ने तुलना हो । भूगोल र जनसंख्याको आधारमा त नेपालभन्दा सिंगापुर कता हो कता सानो देश रहेको छ । त्यसो भए पनि विदेशी पर्यटकलाई आकर्षित गर्नका लागि भने सिंगापुर गजबको देश हो । जहाँ वर्षेनि कम्तीमा तीन लाख १७ हजार ७२ जना (सन् २०२० को कोरोना महामारी कालमा) १९ दशमलव १२ मिलियन (सन् २०१९ मा) सम्म विदेशी पर्यटकहरू भ्रमण गर्न गएका थिए ।

तापनि नेपालले सिंगापुरलाई जित्ने भनेको जनसंख्या र भूगोलमा हो । किनभने, जनसंख्याको आधारमा सिंगापुरभन्दा नेपाल धेरै ठूलो देशका रूपमा रहेको छ । त्यस्तै भूगोलको आधारमा नेपाल सिंगापुरभन्दा ठूलै रहेको छ । नेपाललाई भूगोल र जनसंख्याको आधारमा हेर्दा विश्वकोे मध्यमस्तरको देश मानिन्छ । जबकि, सिंगापुर भूगोलको आधारमा हेर्दा लगभग अन्तिम देशमा दरिन्छ । जस्तै, भूगोलको आधारमा हेर्दा नेपाल विश्वको ९५औँ स्थानमा रहेको छ । सिंगापुरचाहिँ भूगोलको आधारमा हेर्दा विश्वको एक सय ९०औँ स्थानमा रहेको देखिन्छ । त्यस्तै, जनसंख्याको आधारमा हेर्दा नेपाल विश्वको ४९औँ देशको रूपमा रहेको छ भने सिंगापुरचाहिँ विश्वको एक सय १३औँ देशमा दरिएको छ । ‘वर्ल्ड पपुलेसन रिभ्यु’को रिपोर्टमा उल्लेख भएअनुसार हाल नेपालको जनसंख्या तीन करोड ८९ लाख ४८ हजार छ सय २७ पुगेको छ । त्यस्तै, सिंगापुरको जनसंख्याचाहिँ ५९ लाख ८४ हजार सात सय ५६ रहेको पुगेको छ । औसत बाँच्ने आयु आदिका आधारहरू हेर्दा सिंगापुर नेपालभन्दा धेरै नै अगाडि रहेको छ भने विश्वका विकसित देशहरूको सूचीमा सिंगापुर १२औँ स्थानमा रहेको छ । मानव विकास, विज्ञान, सूचना, प्रविधि, कलकारखाना, पर्यटन, व्यापार, सामुद्रिक बन्दरगाह, बैंक, वित्त, जल यातायात, सेवा क्षेत्र आदिका कारण सिंगापुर हाम्रो देशभन्दा धेरै अगाडि रहेको देखिन्छ । त्यस्तै, विश्व बैंकले सन् २०२१ मा जारी गरेको तथ्याङ्कअनुसार सिंगापुरको प्रतिव्यक्ति आय ७२ हजार ९४ अमेरिकी डलर पुगेको छ भने नेपालको प्रतिआय केवल एक हजार दुई सय २२ रहेको छ । उता ‘मानव विकास सूचकांक २०२२’ मा सूचीकृत देशहरूको सूचीमा पनि सिंगापुर ११ औँ स्थानमा रहेको छ भने नेपाल एक सय ३९औँ स्थानमा रहेको छ । यसरी हेर्दा भूगोल र जनसंख्याबाहेक सबै कुरोमा नेपालभन्दा सिंगापुर धेरै कुरोमा अगाडि रहेको देखिन्छ । त्यस्तै, विदेशी पर्यटक भित्र्याउने सन्दर्भमा पनि नेपाललाई सिंगापुरलाई सयौँ वर्षसम्म भेटाउन नसक्ने देखिन्छ । लेखमा सिंगापुर र नेपालको पर्यटन आगमन संख्याबारे तुलनात्मक ढंगले लेख्ने प्रयास गरिएको छ ।

सन् २०२१ मा सिंगापुरले ३३ लाख विदेशी पर्यटक भित्र्याउन सफल भएको छ । सो वर्ष नेपालमा चाहिँ एक लाख ५० हजार नौ सय ६२ विदेशी पर्यटकले मात्रै भ्रमण गरेको तथ्याङ्क रहेको छ । जबकि सन् २०१९ को डिसेम्बर अन्तिमताका चीनबाट फैलन सुरु भएको नोभेल कोरोना भाइरस (कोभिड–१९) महामारी कोरोना महामारीका रूपमा फैलिएपछि सिंगापुरले आफ्नो देश भ्रमण गर्न आउने विदेशी पर्यटकलाई कडाइका साथ कोरोना महामारीसम्बन्धी नियम र कानुन पालना गराएको थियो । त्यसरी आफ्नो देश भ्रमण गर्न आउने विदेशी पर्यटकलाई त्यसरी कडाइका साथ नियम र कानुनहरू पालन गराउँदा पनि ३३ लाख विदेशी पर्यटक सिंगापुर भित्रिनु भनेको निश्चय नै ख्याल–ठट्टा होइन । त्यस्तै, सिंगापुर भ्रमणमा आएका ३३ लाख विदेशी पर्यटकबाट सन् २०२१ मा एक दशमलव नौ बिलियन सिंगापुरियन मुद्रा पनि आर्जन गर्न सफल भएको छ । सिंगापुर पर्यटन बोर्ड (एसटीबी)का अनुसार सन् २०१९ को डिसेम्बर अन्तिममा चीनबाट विश्वव्यापीरूपमा फैलन सुरु भएको कोरोना महामारीकै बीच सन् २०२० मा पनि २७ लाख विदेशी पर्यटकले सिंगापुर भ्रमण गरेका थिए भने ती विदेशी पर्यटकले चार दशमलव शून्य चार बिलियन सिंगापुर डलर खर्च गरेका थिए ।

नेपालमा चाहिँ सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले भ्रमण गरेका थिए भने विदेशी पर्यटकबाट भएको आम्दानी २१ अर्ब सात लाख रुपैयाँ बराबर विदेशी मुद्रा रहेको थियो । एसटीबीको तथ्याङ्कअनुसार सिंगापुरमा सन् २०१९ को तुलनामा सन् २०२० मा ८७ दशमलव सात प्रतिशत कम विदेशीहरू पर्यटक भई भ्रमण गर्न गएका थिए । नेपालमा चाहिँ लगभग ९१ प्रतिशतले विदेशी पर्यटक आगमनमा कमी आएको थियो । त्यस्तै, सन् २०१९ मा चाहिँ सिंगापुरमा १९ दशमलव एक मिलियन अर्थात् एक करोड ९१ लाख विदेशी पर्यटकले भ्रमण गरेका थिए । ती विदेशी पर्यटकहरूले सिंगापुर भ्रमणका क्रममा २७ दशमलव सात बिलियन सिंगापुर डलर खर्च गरेका थिए । नेपालमा चाहिँ सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए । साथै, सो वर्ष नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट ७२ अर्ब ४३ करोड ३७ लाख रुपैयाँ बराबर विदेशी मुद्रा आम्दानी भएको थियो ।

एसटीबीको तथ्याङ्कअनुसार सन् २०२० मा सिंगापुर भ्रमण गर्न सबैभन्दा धेरै पर्यटक इन्डोनेसियाबाट रहेका थिए भने दोस्रोमा भारत, तेस्रोमा मलेसिया, चौथोमा अस्ट्रेलिया र पाँचौँमा फिलिपिन्स रहेका थिए । स्मरण रहोस्, सन् २०२० मा इन्डोनेसियन पर्यटक दुई लाख ८२ हजार, भारतीय पर्यटक दुई लाख १९ हजार, मलेसियन पर्यटक एक लाख ३९ हजार, अस्ट्रेलियन पर्यटक एक लाख २५ हजार एवम् फिलिपिनी पर्यटक ८१ हजार जना सिंगापुर भ्रमणमा गएका थिए । त्यसो त सन् २०१९ मा मात्रै ३० लाख ६४ हजार चिनियाँ पर्यटकहरूले मात्रै सिंगापुरको भ्रमण गरेका थिए । त्यस्तै, गरेर सो वर्ष ३० लाख आठ हजार इन्डोनेसियन पर्यटकहरूले पनि सिंगापुर भ्रमण गरे । इन्डोनेसियन पर्यटकहरू दोस्रो स्थानमा रहेको देखिन्छ भने १० लाख ४२ हजार भारतीय पर्यटकले सिंगापुर भ्रमण गरेर तेस्रो स्थानमा रहेका थिए ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया