Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकोभिड–१९ को मारमा विश्व पर्यटन

कोभिड–१९ को मारमा विश्व पर्यटन


निनाम कुलुड. ‘मंगले’
सन् २०१९ को डिसेम्बर अन्तिमताका चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानमा देखापरेको र हालसम्म सार्वभौम र अरुको खटनमा रहेको स–साना टापु देश गरी विश्वको दुई सय १५ देशमा आफ्नो प्रभाव फैलाएको ‘नोभेल कोरोना भाइरस–२०१९’ (कोभिड–१९) को महामारीका कारण विश्वका अर्बौं मानिसहरू प्रभावित भएका छन् ।

त्यस्तै (कोभिड–१९) नामक संक्रामक महामारीको भाइरसकै कारण आजसम्म ९० लाख ५२ हजारभन्द बढी मानिसहरू बिरामी भएका छन् । त्यस्तै चार लाख ७० हजार आठ सयभन्दा बढी मानिसहरूले ज्यान गमाएका छन् भने, ५४ हजार सात सयभन्दा बढी मानिसहरू सिकिस्त बिरामी छन् । हुन त कोभिड–१९ का कारण बिरामी भएका ९० लाख ५२ हजार बिरामीमध्ये ४८ लाख ४२ हजार २५ जना बिरामीहरू निको भएर घर फर्केका छन् ।

जब कि विश्वभरिकै भाइरल रोग विज्ञहरूले सुरुमा (सन् २०१९ को डिसेम्बर अन्तिमताका चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानमा देखा परेको बेला) ‘नोभेल कोरोना भाइरस–२०१९’ (कोभिड–१९) को असर सन् २०२० को मार्च महिनाको मध्य–अन्त्य वा अप्रिलको पहिलो हप्तासम्ममा पूर्णरूपमा हट्ने/निर्मुल हुने अनुमान गरेका थिए । तर, विश्वभरिका भाइरल रोग विज्ञहरूले सुरुमा गरेको अनुमानविपरीत सन् २०२० को मार्च महिनाको मध्य–अन्त्य वा अप्रिलको पहिलो हप्तामा आई पुग्दा त यसको असरको रफ्तार झनै बढेर गयो ।

जुन रफ्तार हालसम्म कायमै रहेको छ भने अब यसको असर कहिले कम हुने वा पूर्णरूपमा हट्ने भन्ने कसैले पनि किटानी साथ भन्न सक्ने अवस्था रहेन । किनभने केही भाइरल रोगका विज्ञहरूले सन् २०२२ रहन सक्ने भनेका छन्, केही भाइरल रोगका विज्ञहरूले सन् २०२५ सम्म रहन सक्ने भनेका छन् । त्यस्तै केहीले एचआई एड्सजस्तै (कोभिड–१९) को असर पनि दीर्घकालसम्म रहन सक्ने भनेका छन् ।

हुन पनि (कोभिड–१९) को असरका कारण विश्वको समग्र अर्थतन्त्रमा ठूलो गिरावट आउने निश्चित देखिएको छ । यसै सन्दर्भमा यहाँ विश्वको पर्यटन अर्थतन्त्रमा कोभिड–१९ ले पार्ने/पारेको असरबोरे छोटो चर्चा गरिएको छ । विसं २०७६ चैत अन्त्यमा संयुक्त राष्ट्र संघअन्तर्गत रहेको विश्व पर्यटन संगठन (डब्लूटीओ)ले केही तथ्यांकसहित एक प्रतिवेदन प्रकाशित गरेको थियो । सो प्रतिवेदनअनुसार विश्व पर्यटन क्षेत्रको आगमन (घुमघाम) संख्यामा सन् २०१९ को तुलनामा सन् २०२० मा २० देखि ३० प्रतिशतसम्मले कमी आउने अर्थात् विश्वमा पर्यटक भएर घुम्न निक्लने मानिसहरूको संख्या सन् २०१९ को तुलनामा सन् २०२० मा २० देखि ३० घट्ने बताइएको छ ।

स्मरणीय छ, यो तथ्यांक (कोभिड–१९) को असर अप्रिल–मे महिनासम्म कायम रहेमा भनी गरिएको तथ्यांकसहितको प्रतिवेदन हो । तर, (कोभिड–१९) को प्रभाव अप्रिल–मे महिना काटेर जुन महिनाको मध्य–अन्त्य आई पुग्दासम्म पनि कायमै रहेकोले सन् २०१९ को तुलनामा सन् २०२० मा विश्वमा पर्यटक भएर घुम्न निक्लने मानिसहरूको संख्या सन् २०१९ को तुलनामा सन् २०२० मा २० देखि ३० भन्दा बढी नै (६५/७५ प्रतिशत) घट्ने अनुमान सोझै गर्न सकिन्छ ।

हुन पनि गत मार्च महिनामा जापानमा भ्रमण गर्न आएका विदेशी पर्यटकहरूको संख्या ९३ प्रतिशतले घटेको भनी समाचार आएको थियो । सो समाचारअनुसार ‘यसरी जापानमा ९३ प्रतिशत विदेशी पर्यटक कम आउनु भनेको जापानको पर्यटन इतिहासमा सन् १९६४ पछिकै सबैभन्दा कम संख्या (प्रतिशत) रहेको थियो÷छ । त्यसो त हिजो–आज जापानमा मात्रै नभएर विश्वभरिका प्रायः सबै देशमा पर्यटन उद्योग र व्यवसाय मन्द गतिमा रहेको छ । कतिपय देशहरूमा त पर्यटन उद्योग र व्यवसाय लगभग ठप्प रहेको अवस्थामा छ ।

हुन पनि २०१९ को अन्त्य हुँदा–नहुँदै अर्थात् डिसेम्बर अन्तिमताका चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानमा देखा परेको ‘नोभेल कोरोना भाइरस’ नामक संक्रामक महामारीको भाइरसकै कारण जापान भ्रमण गर्न सन् २०२० को मार्चमा आएका विदेशी पर्यटकहरूको संख्या ९३ प्रतिशतले घटेको भनी जापानको समाचार संस्था ‘क्योदो’ले छापेको थियो । सो तथ्यांकअनुसार ‘गत मार्च महिनामा जापानमा एक लाख ९३ हजार सात सय जना विदेशी पर्यटकहरू मात्रै भ्रमण गरेका थिए ।’

खासमा चीनमा ‘नोभेल कोरोना भाइरस–२०१९’ नामक संक्रामक रोगको भाइरसका कारण मानिसहरू बिरामी हुने र मर्ने क्रम बढेपछि चिनियाँ नागरिकहरूले आफ्नो विदेश वा स्वदेशमा विदा मनाउने सबै कार्यक्रमहरू स्थगित गरेका थिए । त्यसपछि विश्वभरि नै पर्यटन आगमनमा कमी आउन सुरु भएको थियो । स्मरणीय छ, चिनियाँहरूले त्यहीबेला (जनवरी–फेबु्रअरी) लामो बिदा पाउँछन् ।

किनभने, चिनियाँ पात्रोअनुासर चीनको नयाँ वर्ष पनि जनवरी मध्य–अन्त्यमा सुरु हुन्छ । त्यसो भएको हुँदा धेरै जसो चिनियाँ नागरिकहरू त्यही समयमा पर्यटक भएर विश्वका भिविन्न देशमा घुम्न निक्लन्छन् । त्यही वेला आन्तरिक पर्यटकका रूपमा आफ्नो देशको विभिन्न स्थानमा भ्रमण गर्ने क्रम अत्यधिक संख्यामा बढ्ने गर्छ । स्मरणीय छ, सन् २०१९ मा विश्वभरि एक अर्ब ४६ करोड १० लाख मानिसहरूले विश्वको विभिन्न देशमा पर्यटक भई भ्रमण गरेका थिए । यो भनेको १० वर्षअघिको तुलनामा दोब्बर संख्याले वृद्धि भएको थियो ।

त्यसो त विश्व पर्यटन संगठन (डब्लूटीओ) का अनुसार सन् २०१९ को तुलनामा सन् २०२० मा विश्वमा घुम्न निक्लने पर्यटकको संख्या ४० करोडले कमी आउने आँकल गरेको छ/थियो । त्यस्तै विश्व पर्यटन उद्योग/क्षेत्रले २०२० मा चार खर्ब ५० अर्ब अमेरिकी डलरबराबरको आर्थिक क्षति भोग्ने अनुमान गरिएको छ । तथ्यांकअनुसार सन् २००८–२००९ संकटका बेलमा विश्व पर्यटनले ८८ अर्बबराबरको आर्थिक क्षति व्यहोरेको थियो ।

नेपालमा पनि चीनबाट फैलन सुरु भएको ‘नोभेल कोरोनाभाइरस–२०१९’ (कोभिड–१९) को असरकै कारणले सन् २०२० को पहिलो महिना अर्थात् जनवरी महिनाको तुलनामा सन् २०१९ को जनवरी महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या लगभग ३ प्रतिशतले घटेको थियो । तर, गत वर्षको मार्च महिनाको तुलनामा यो वर्षको मार्च महिनामा त नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या ह्वात्तै ८० प्रतिशतले घटेको अनुमान छ । अप्रिल, जुन र जुलाई महिनाको त तुलना गर्ने कुरै भएन । किनभने, यी ३ महिना हाम्रा लागि विदेशी पर्यटक आगमन शून्यबराबर रहने पक्का जस्तै छ ।

यसरी हेर्दा हाम्रोजस्तो कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा पर्यटन उद्योगको योगदान केवल २ दशमलव ९, ३ दशमलव ४ देखि बढी मा ४ दशमलव ९ सम्म मात्रै रहेको देशमा त पर्यटनमा आएको यस्तो मुर्दाशान्तिले लगभग ६४ अर्बको आर्थिक क्षति व्यहोर्नुपर्ने अनुमान गरिएको छ भने, आफ्नो देशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन उद्योगको योगदान लगभग ११/१७ देखि ५८÷५९ प्रतिशतसम्म रहेको माल्दिभ्स, क्रोसिया, ग्रेनाडा, थाईल्यान्ड, सिंगापुरलगयात देशको हालत के होला ? सहजै अनुमान गर्न सकिन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया