Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपालको अर्थतन्त्रमा कोरोनाले निम्त्याएको चुनौती र अवसर

नेपालको अर्थतन्त्रमा कोरोनाले निम्त्याएको चुनौती र अवसर


हरिप्रसाद शर्मा
यतिखेर विश्व कोरोना भाइरसको आतङ्कबाट त्रसित छ । कोरोना भाइरसको कारण देखा परेको रोग ‘मर्स’ सन् २०१२ मा साउदी अरेबियामा देखिएको थियो, जसले सन् २०१५ मा दक्षिण कोरियामा दर्जनौँ मानिसको ज्यान लिएको थियो । सन् २०१९ मा चीनको सहर वुहानमा पुनः यो रोग देखिएपछि विश्व स्वास्थ्य संगठनले ७ जनवरी २०२० मा यसलाई (कोभिड १९) नामकरण गरी विश्वव्यापी महामारीको रुप दियो । उक्त महामारीबाट यतिखेर सारा विश्व आतंकित बनिरहेको छ । कमजोर आर्थिक अवस्था, कमजोर स्वास्थ्य र प्राविधिक क्षमता, भारतसँगको खुला सिमानाजस्ता कारणहरुले नेपाल कोरोना महामारीको उच्च जोखिममा रहेको तथ्य विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको थियो । उक्त अवस्थालाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेको थियो ।

विश्व अर्थतन्त्रको परिवेश : कोरोना भाइरसको प्रभावले विश्व उत्पादन र आपूर्ति शृङ्खला खलबलिएको छ । करोडौं श्रमिकको रोजगारी गुमेको छ । ठूला–ठूला स्टक मार्केटहरु क्र्यास हुने स्थितिमा पुगेका छन् । पर्यटन क्षेत्रबाट विश्वले झण्डै २ अर्ब अमेरिकन डलर बराबरको क्षति व्यहोर्ने तर्क विश्व पर्यटन काउन्सिलले जनाएको छ । विश्वमा हवाइ यातायात प्रणाली ठप्प छ । त्यसैले यतिखेर विश्वको अर्थतन्त्र मन्दीको गतिमा छ भने सिंगो एसियाली अर्थतन्त्र ४० वर्षयताकै कमजोर हुनसक्ने आँकलन अर्थशास्त्रीहरुको रहेको छ ।

नेपाली अर्थतन्त्र : भूमण्डलीकृत अर्थतन्त्रको एउटा स्वरुप विश्वव्यापीकरणको बढ्दो प्रभावले समग्र विश्वलाई नै साँघुरो बनाइरहेको वर्तमान सन्दर्भमा विश्व अर्थतन्त्रको यो प्रभावबाट नेपाली अर्थव्यवस्था अछूतो रहने कुरै भएन । नेपाली अर्थतन्त्रको गति कुन दिशामा जाला ? अर्थतन्त्रका परिसूचकहरुमा यसले कस्तो प्रभाव पार्ला ? भन्ने सन्दर्भमा विभिन्न अर्थशास्त्रीहरुले आफ्नो धारणा राख्दै आएका छन् । तिनै अर्थशास्त्रीहरुको विचार, प्रक्षेपण, प्रकाशित प्रतिवेदनहरु अध्ययन गर्दा नेपाली अर्थतन्त्रले वास्तविक क्षेत्र, सार्वजनिक वित्तीय क्षेत्र, बैंकिङ क्षेत्र र बाह्य क्षेत्रभित्र रहेका उत्पादन, आम्दानी, रोजगारी, मुद्रास्फीति, बैंक तथा वित्तीय क्षेत्र, विपे्रषण, यातायात, पर्यटन, उद्योग तथा निर्माणजस्ता परिसूचकहरुबाट निम्नानुसारको चुनौती सामना गर्नुपर्ने देखिन्छ ।

कुल गार्हस्थ्य उत्पादन (जीडीपी) कुनै पनि देशको भौगोलिक सिमानाभित्र उत्पादन हुने सम्पूर्ण अन्तिम वस्तु तथा सेवाको कुल मौद्रिक मूल्य जीडीपी हो । जीडीपीको मुख्य आधार लगानी र लगानीको मुख्य आधार पुँजीगत खर्च हो ।

नेपालमा कोभिड १९ को प्रभावले पुँजीगत खर्च न्यून हुने तर्क गर्दै जीडीपीमा झण्डै ६० प्रतिशतभन्दा बढी योगदान गर्ने निजी क्षेत्रको लगानी समेत निरुत्साहित बनेको र चालू खर्च कटौती गर्न पनि नसक्ने र पुँजीगत खर्च बढाउन पनि नसक्ने अवस्थाले गर्दा र नेपालको पुँजीबजार तीव्र रुपले ओरालो लागेको कारण आगामी वर्षको जीडीपी झण्डै २ प्रतिशतमा झर्ने र यसैगरी बन्दाबन्दीको अवधि थपिँदै जाने र अर्थतन्त्र चल्न नसकेमा जीडीपी ऋणात्मक समेत हुनसक्ने तर्क अर्थविद् डा.रेवत बहादुर कार्कीले गरेका छन् ।

सरकारले यो वर्षको जीडीपी ८.५ प्रतिशत हुने अनुमान गरेको थियो । कोरोनाको प्रभावले नेपालको औसतमा साढै दुई प्रतिशत हुनसक्ने अनुमान अन्तर्राष्ट्रिय मुुद्राकोष र विश्व बैंकको रहेको छ ।

बेरोजगारी र गरिबी : बजारमा प्रचलित ज्यालादरमा काम गर्न खोजेको तर काम नपाएको अवस्था बेरोजगार हो । देशमा झण्डै ६२ प्रतिशत श्रमिकहरु अनौपचारिक क्षेत्रमा काम गर्ने र झण्डै ४४ लाख श्रमिकले गैरसरकारी क्षेत्रमा काम गर्ने श्रमशक्ति सर्वेक्षणले जनाएको छ । यसरी बन्दाबन्दी थपिँदै जाने र निर्माणका कामहरु ठप्प हुँदै जाने हो भने ती सबै श्रमिकको रोजीरोटी उच्च जोखिममा छ । त्यतिमात्र नभएर कोरोनाको प्रभाव विश्वभरी फैलिएकोले जुनसुकै बेला ४० लाखभन्दा बढी विदेशिएका नेपालीहरु नेपाल फर्किने अवस्था भएमा नेपालमा लाखौँ बेरोजगारी निम्तिने छ जसले गर्दा मुलुकमा ४ प्रतिशतभन्दा बढीले गरिबी बढ्न जाने अनुमान अर्थशास्त्रीहरुले गरेका छन् ।

मुद्रास्फीति : वस्तु तथा सेवाको मूल्य निरन्तर रुपले बढ्दै जाने र मुद्राको मूल्य कम हुँदै जाने अवस्था मुद्रास्फीति हो । बन्दाबन्दी लामो समय थपिँदै गएमा कालोबजारी निरन्तर बढ्दै जानेछ । नेपाली मुद्रा डलरसँग अवमूल्यन भएका कारण वैदेशिक ऋणको लागत बढ्नेछ र आयातित रुपले मुद्रास्फीति चाप सिर्जना भई २ अंकको दरले मुद्रास्फीति हुनसक्ने विज्ञहरुले बताएका छन् ।

सार्वजनिक वित्त : सरकारले प्राप्त गर्ने आम्दानी र खर्चबीचको अध्ययन यसअन्तर्गत गरिन्छ । उत्पादन वृद्धि गर्ने मुख्य आधार पुँजीगत खर्च हो । कोरोनाको प्रभावले गर्दा पुँजीगत खर्च वृद्धि हुनसकेको छैन । चालू खर्च कटौती गर्न पनि मुस्किल देखिन्छ जसले गर्दा बजेट घाटा उच्च हुनेछ । विप्रेषणमा कमी आउने र आयात समेत प्रभावित बन्ने भएकोले राजस्व संकलनमा ठूलो समस्या सिर्जना हुने देखिन्छ ।

बैंक तथा वित्तीय क्षेत्र : साख सिर्जना गरी मुनाफा कमाउने उद्देश्यले स्थापित संस्थाहरु बैंक तथा वित्तीय संस्था हुन् । कोभिड १९ को प्रभावले यसको असर बैंक तथा वित्तीय क्षेत्रमा गतिलैसँग पर्ने देखिएको छ । ऋण लगेका ऋणीहरुले समयमा ब्याज र सावाँ भुक्तान गर्न नसक्ने स्थिति यो संकटले निम्त्याएको छ । यसैगरी आर्थिक गतिविधि ठप्प भएमा खराब कर्जा बढ्दै जाने र वित्तीय स्थायित्वमा खलल पुगी मुनाफा समेत कम हुने भएकोले लगानीकर्ता हतोत्साहित हुनेछन् भन्ने तर्क गर्दै विज्ञहरुले सबैभन्दा उच्च जोखिममा लघुवित्तीय कारोबार रहेको बताएका छन् ।

पर्यटन, यातायात, थोक खुद्रा र उद्योग निर्माण क्षेत्र : जीडीपीमा पर्यटन क्षेत्रको योगदान २ प्रतिशत जति छ । आर्थिक क्रियाकलापमा ८ प्रतिशत र रोजगारीको क्षेत्रमा ७ प्रतिशत योगदान दिएको पर्यटन क्षेत्रमा यसरी नै बन्दाबन्दी लामो समय थपिँदै गएमा गत वर्षको तुलनामा यस वर्ष पर्यटन क्षेत्रमा २१ प्रतिशतले गिरावट आउने सम्भावना छ । जीडीपीमा ७ प्रतिशत योगदान दिएको यातायात क्षेत्र समेत कोरोनाको कारण प्रभावित छ । स्थल यातायात प्रभावित रहेकोले उत्पादन र रोजगारीमा ठूलो असर पुगेको छ । जीडीपीमा १४ प्रतिशत योगदान दिएको थोक तथा खुद्रा व्यापार प्रभावित छ । औद्योगिक उत्पादनमा ३२ प्रतिशत योगदान दिने उद्योग धन्दाहरु बन्द छन् । जसले गर्दा उत्पादनमा कमी आई अर्थतन्त्र पूर्णरुपले संकुचनतर्फ जाने तर्क राष्ट्र बैंकका उपनिर्देशक सिद्धराज भट्टले गर्दै आएका छन् ।

अन्य चुनौतीहरु : नेपालमा कोभिड १९ को प्रभावले धेरै चुनौतीहरु थपेको छ । १५औँ योजना कार्यान्वयन गर्न चुनौती छ । दिगो विकासका लक्ष्यहरु पूरा गर्न चुनौती छ । अन्य अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु पूरा गर्न चुनौती छ । शिक्षा क्षेत्र पूर्णरुपले अस्तव्यस्त छ । लाखौं बालबालिकाको भविष्य अन्योल छ । परीक्षाको मुखैमा आएर बन्द भएको लकडाउनले गर्दा विद्यालय र विश्वविद्यालयस्तरका परीक्षा कसरी सञ्चालन गर्ने भन्नेमा सरकार अन्योलमा छ । कतिपय निजी विद्यालय र विश्वविद्यालयले अनलाइन क्लासहरु सञ्चालन गरे पनि नयाँ शैक्षिक सत्रको पहिलो महिना बितिसक्दा समेत अब के गर्ने भन्ने सन्दर्भमा स्पष्ट नीति ल्याउन नसकी सरकार कुहिरोको कागजस्तै बन्नु विडम्बना हो ।

महामारीले निम्त्याएको अवसर : हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भनेझैँ हरेक चुनौतीसँग अवसरहरु पनि गाँसिएका हुन्छन् । यो संक्रमणकालीन अवस्थामा कोही अतालिनुहुँदैन । हाम्रो मन, भावना, सोच, सद्भाव र आशा सबै सकारात्मक हुन जरुरी छ । यसका निश्चित केही अवसरहरु छन् जसलाई सदुपयोग गर्न सक्यौँ भने यो प्रलयबाट आत्तिनुपर्दैन । सोच बदलौं । कर्म गरौँ । दुनियाँ बदलिएको आभाष मिल्नेछ । उक्त महामारीले निम्त्याएका केही अवसरहरुलाई यहाँ उल्लेख गर्ने जमर्को गरिएको छ ।

स्थानीय सरकार जिम्मेवारी बनाउने अवसर : संविधानको पालना र संघीयता कार्यान्वयन गर्नको लागि स्थानीय सरकारलाई यो एउटा सुनौलो अवसर हो । यतिखेरको महामारीले हरेक स्थानीय सरकारलाई जिम्मेवारी बनाइदिएको छ । एउटा साबुन, एक पोका तेल र २/४ किलो चामल बोकेर भए पनि जनप्रतिनिधिहरु नागरिकको घरदैलोमा पुगेका छन् । यसले सरकार घर–घरमा पुगेको आभास दिलाएको छ ।

आईसीटीको प्रयोग गर्ने अवसर : अन्तर्राष्ट्रियस्तरमा बढ्दो रुपले प्रयोग र प्रचलनमा आएको सूचना सञ्चार तथा प्रविधिको प्रयोग बढ्दो मात्रामा छ । डिजिटल अर्थतन्त्रबाट अर्थतन्त्र चलायमान छ । मानव स्रोत परिचालनविना अर्थतन्त्र चल्ने यो एउटा सुनौलो अवसर हो । यसले इ–मोबाइल बैंकिङ, इ–बैंकिङ, इ–सेवा, इ–लर्निङ, अनलाइन स्टडीजस्ता सूचना प्रविधिहरुको अभ्यास गर्ने सुअवसर दिएको छ ।

जीडीपीमा कृषि क्षेत्रको हिस्सा वृद्धि गर्ने अवसर : आर्जित ज्ञान सीप र प्रविधिको प्रयोग गरी कृषि क्षेत्रको उत्पादन वृद्धि गर्ने, कृषि क्षेत्रमा आधुनिकीकरण र व्यवसायीकरण गरेर देशको जीडीपीमा कृषिक्षेत्रको हिस्सा वृद्धि गर्ने यो अर्को अवसर हो । नेपालमा कोभिड १९ को प्रभाव र लकडाउनले गर्दा ग्रामीण भेगमा बस्ने जो रोजीरोटी र अन्य अवसरको खोजीमा सहर पसेका थिए । ती बिछोडिएका मनहरुलाई यो महामारीले जोडेको छ । पारिवारिक सम्बन्ध सुमधुर बनाएको छ । गाउँघरतिर लामो समयदेखि बाँझिएका खेतबारीहरुमा खोरिया फाँड्ने र खेती गर्ने, तरकारी रोप्ने, अन्य नगदेबाली र फलफूल लगाउने क्रम बढ्दो छ । यसलाई कृषि क्षेत्रको उत्पादन वृद्धि गर्ने अवसरको रुपमा लिन सकिन्छ ।

अनावश्यक र अनुत्पादक खर्च कटौती गरी उत्पादक क्षेत्रमा लगाउने अवसर : अनावश्यक र अनुत्पादक खर्च कटौती गरी विलासी वस्तुको आयातमा कमी गर्ने र त्यस्ता वस्तुको उपभोगमा कटौती गरी अति आवश्यक वस्तुको उत्पादनमा खर्च गर्ने अवसर यो महामारीले दिएको छ ।

शिक्षाको राष्ट्रिय उद्देश्य पूरा गर्ने अवसर : स्कुले उमेरका केटाकेटीलाई परम्परागत खालको शिक्षा प्रदान गरी आफ्ना पिता पुर्खाको पेशासँग आबद्ध गराई विभिन्न खालका सीपमूलक, आय आर्जन हुने खालका आर्थिक गतिविधिमा संलग्न गराई घरमा डोका, डाला, नाम्ला बुन्न सिकाउने, तरकारी खेतीमा काम गर्न सिकाउने, श्रमप्रति सम्मान गर्नसक्ने सकारात्मक सोच भएका नागरिक उत्पादन गर्ने र शिक्षाको राष्ट्रिय उद्देश्य पूरा गर्न सहयोग गर्ने बेलाको रुपमा यसलाई लिन सकिन्छ ।

संविधानको पालना र राज्यका नीति कार्यान्वयन गर्ने अवसर : शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षामा भएको निजी क्षेत्रको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउँदै जाने राज्यको नीति स्पष्ट रुपले संविधानको भाग ४ मा उल्लेख गरिएको छ । नयाँ शैक्षिक सत्रको सुरुवातमै देखा परेको यो महामारीले यतिखेर बहुसङ्ख्यक नागरिकको सोच बदलेको छ । यसलाई अवसरका रुपमा लिएर सामुदायिक विद्यालयमा केही प्रभावकारी कार्यक्रम लागू गर्नसकेमा आम नागरिकमा निजी विद्यालयप्रति रहेको आकर्षण कम गरी राज्यको नीति कार्यान्वयन गर्न सकिन्छ ।

यति धेरै अवसरका ढोकाहरु खुला हुँदा पनि सरकारले स्पष्ट रुपले नीतिगत उद्देश्यहरु तय गर्न नसकी, राजनैतिक खिचातानी, दलीय मतिभ्रष्टता, भ्रष्टाचारको चङ्गुलमा फसेर मनखुसी गर्न खोज्नु विडम्बना मात्र हैन गम्भीर अपराध हो । जनजीविकाको सवालमा पनि सरकार चनाखो र चिन्तित हुनसकेन भने यो सरकार इतिहासकै एक कलङ्कित सरकारको रुपमा चित्रित हुनेछ । अब, सरकारले यो महामारीबाट बच्न प्रभावकारी रणनीतिमूलक कार्यक्रम लागू गर्न जरुरी छ । (लेखक मालिका माध्यमिक विद्यालय बागलुङका अर्थशास्त्र विषयका शिक्षक हुन्)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया