Techie IT
×
गृहपृष्ठविचारगणतन्त्रको गन्तव्य नै अलमलिएको छ

गणतन्त्रको गन्तव्य नै अलमलिएको छ


काठमाडौं ।
उस्तै जून उस्तै तारा
छ उस्तै रसिलो यो धरा
म उस्तै छु जस्तो छिन् आमा
मजस्तै हुन् नि सब सृष्टि सारा
जस्तो छ फूल उस्तै छ शृङ्गार
छ उस्तै बिहानी सब प्यारा प्यारा
म उस्तै छु जस्तै छ निर्मल नदी
उस्तै छ यो चाल चिरबिर चरी
यो दिव्य आकाश अनन्त आनन्द
उज्यालोजस्तै छ मेरो मुहार
खुसी छ उस्तै जस्तो म छु हाँसिरहेको
उस्तै छ एकान्त एक्लो तर निष्पाप
कतै दूर क्षितिजमा चम्किरहेको ताराजस्तो
मजस्तै छ प्रेम खुसीले भरिएको
खुसी मजस्तै छ रसना रसिलो
आमाजस्तै धरती र धरतीजस्तै आमा

धरतीलाई माया गर्ने मुटुको आवश्यकता छ आज । तर सबै सत्ताकै सिनोमा घुमिरहेका छन् । सबैभन्दा दुख चै यहाँ नेताकार्यकर्तालाई देश चाहिएन सत्ता चै चाहिएको छ । एउटा कविताबाट यो लेखको सुरुवात गरेँ मैले । देश बनाउने इच्छा कसैको छैन सत्तामा मोज गर्ने इच्छा सबैको छ । आखिर इच्छा सबैको साझा हुँदोरहेछ । आखिर हामी नेपालीहरूको साझा सपना गरिबीबाट उन्मुक्ति, थिचोमिचो र भेदभावपूर्ण व्यवस्थापनबाट पार हुनु त थियो नि । आमाका पेटबाट जर्नेलको फुली लाएर आउने जंगी शासनको बोझ पनि त हामीले खपेकै हो सहेकै हो भोगेकै हो नि अतीतमा । हिजो पनि शासकको विरोध गर्दा गाली खाइन्थ्यो आज पनि शासकको विरोध गर्दा जेल परिन्छ कि वा बन्दुक खाइन्छ भन्ने त्रासदी उस्तै त छ नि ।

अहिले पनि सत्तामा पुगेका जंगेहरूको फुर्ती उस्तै त छ । त्यो तीतो हप्काइ त्यो नमीठो धम्की त्यो बाघ गर्जन त्यो हेपाइ र मिचाइ के तपाईंहरूले अनुभव गर्नुभएको छैन र ? आजको दिनसम्म पनि दलितले कुवा छुन पाउँदैनन् गाउँघरमा । आज पनि दमाइले कपमा चिया पियो भने कोइला हालेर चोख्याउने चलन छ । तपाईंको गणतन्त्रमा फेरि पनि किन यस्तो हुन्छ महाराज ? मैले मेरो पारथोक गाउँको रामे दमाइलाई चुलोसम्म लान्छु सँगै बसेर चिया पिउछु भन्दा छिमेकीको लान्छना सहनुपर्छ । परिवर्तन भनेको सहरमा अग्लो–अग्लो भवन थपिनु मात्रै थियो र भूकम्पले मुटु कोतरेका नेपालीहरू अझैसम्म पनि पालमै शीत ओढ्दै छन् त्यो कुराको लेखाजोखाचैँ कहिलेसम्म हुने हो हुकुम ! नबिर्सनू भुकम्पबाट कति धनी भए कति अझैसम्म पालमै रात बिताउँदै होलान् ।

जातीय विभेद एउटा स्थायी रोग हो : जातीय विभेद एउटा स्थायी महारोग हो । मानिसमा लागेको क्यान्सर बरु उपचारपछि निको होला तर मानिसभित्रै रहेको छुवाछुत कहिले निको नहुने रहेछ । प्राकृतिक परिस्थिति जीवनजगतको उत्पत्तिको कारण हो । जात धर्म नाम मानिसले आफ्नो सजिलोका लागि बनाएको हो तर के थाहा यही कारण नै कालान्तरमा मानिसलार्ई नै दुःख दिने नियत बन्छ । प्राकृतिकरूपमा हामी मनुष्य हौँ । मनुष्यले नै जातीय विवाद रोप्यो मानिसमाथि । मनुष्य स्वभावतः आफ्नो अनुकूलता हेर्छ । जातीय विभाजनले समाज परिवर्तनको अग्रगामी सोच र परिवर्तनको मूल उद्देश्यलाई सदियौँदेखि प्रभावित पारिरहेकै छ । पूर्ण प्रजातान्त्रिक भनेर चिनिने हाम्रो देशलार्ई जात र भूगोलको आधारमा, जनजाति, धर्म, लिंग, वर्ण वर्गीकरणलाई आधार बनाएर नेपालका नेता र पार्टीहरूले उपयोग गरिरहेकै छन् ।

धर्मका नाउँमा फुट ल्याउने गुट बनाउने अनि राजनिती गर्न सजिलो भएको छ पार्टीहरूलाई । कहिले आदिवासी जनजातिका नारा लगाउँदै उचाल्ने, कहिले तराईवासी उचाल्ने कहिले महिलामुक्ति र अधिकारका कुरा गरेर उछाल्ने, कहिले पिछडा वर्गहरूलाई उचालेर जस आ–आफ्नै पार्टीको नाउँमा लिने । तर जनताका दुःख भने जस्ताको तस्तै रहिरहने । हुकुम ! तिम्ले देखेको परिवर्तन र हामीले देखेको परिवर्तनमा किन यस्तो फरक छ ?

के इतिहासका राजा नै प्रगतिका बाधक थिए त ? गणतन्त्र आएको पनि यतिका वर्ष भइसक्यो राजाको कारणले देशको उन्नति हुन नसकेको हो भनेर हिजो कुर्लिनेहरू आज राजाका ठाउँमा पुगेका छन् तर परिस्थिति झन् दुखदायी छ । झन् पिडादायी छ, झन् भयग्रस्त छ, झन् अन्योल र अराजकताको स्थिति सिर्जना भएको छ । सत्तामा पुग्ने र उनैका आसेपासे मात्रै खुसी छन् । उनीहरूलार्ई मात्रै आएको जस्तो छ गणतन्त्र ।

हिजो जातभातका विरुद्ध बोल्नेहरू, हिजो शासनका विरुद्ध कुर्लिनेहरू, हिजो अन्याय, गरीबी र भ्रष्टाचारको विरुद्ध जेहाद छेड्नेहरू आज महलको मलमलमा मस्त छन् अनि खोइ कहाँ आयो परिवर्तन ? सत्ताको स्वाद चाख्ने राज्यको ढुकुटी हात पार्ने ठेक्काको जिम्मा पाउने र मिलिभगतमा कमाउने मान्छे मात्रै रमाइलो मानिरहेछन् । उनैलार्ई मात्रै आएको छ गणतन्त्र । उनैलार्ई मात्रै आएको छ प्रजातन्त्र ।

गणतन्त्रले कति खुसी दिएको रहेछ भन्ने कुरा रोल्पाका रोल्पेली जनतालार्ई सोधे थाहा हुन्छ गरिबीको के हो जुम्लाका जुम्लेलीलाई सोधे थाहा हुन्छ । गणतन्त्रमा जनताका मौलिक हक सुरक्षितका कुरा गर्नेले यो कुरा सोचेनन् कि पहिलो मौलिक हक त पेटभरि खान पाउनु हो भनेर । पेट भोकै राखेर आदर्शका कुरा कसरी गर्न सकिन्छ ? ।

हिजो आधा रातमा हिँड्ने नारीहरू सडकमा सुरक्षित थिए आज तिनै नारीहरू दिउँसो नै लुटिन्छन् । देशको मुहार फेर्ने कुरा गर्नेले किन जनताको भाग्य फेर्ने कुरा गर्न चुके ? अरु कुरा त छोडनुस् गणतन्त्रले छाउपडी प्रथासम्म त हटाउन सकेन भने गरिबी हटाउने कुराको हामी किन सपना देख्ने । एउटा जाबो लाइसेन्स त चालकलार्ई समयमा दिन नसकेर धरधरी रुवाइएको छ । बेथिति हटाउन कानुन छ तर पालना गराउन सकिन्न भने त्यो राज्यसत्तामा बसेका व्यक्तिहरूले जिम्मेवारी लिने कि नलिने ? हिजो सबै दोष राजालार्ई दिएर पन्छिने चलन थियो ।

आज त राजा छैनन् । इतिहासका राजा आज स्वतन्त्ररूपमा विनासुरक्षा गार्ड विनाडर त्रास खुसी भएर सामान्य जनता भएर हिँडिरहेका छन् । हिजो प्रहरी प्रमुख भएका भूपू आईजीपीसँग २० जना सुरक्षा गार्ड अघिपछि हुन्छन् खै त हिजो राजा भएको व्यक्ति आज फुक्काफाङ एक्लै हिँडिरहेको छ । कसलाई रैछ त त्रास इतिहासलार्ई वा वर्तमानलाई ?

राज्यबाट सुविधा लिनको लागि मात्रै दलित ?  यो लेखको आसय पार्टीको विरोध गर्नु, गणतन्त्रको अपव्याख्या गर्नु होइन । यो देशमा जातीय विभेदको अन्त कसरी गर्न सकिन्छ भनेर कुनै राजनीतिक दल पनि गम्भीर छैनन् । जातीयता त झन बलियो तर्क हुँदै आएको छ । राज्यबाट सुविधा लिनको लागि जनजाति र आदिवासीका कुरा आउँछ, आरक्षण सुरक्षा गर्नको लागि आदिवासी जनजातिका कुरा आउँछ, सरकारी कोटामा अध्ययन गर्नका लागि आदिवासी जनजाति र दलितको कुरा आउँछ तर फेरि तिनै दलित दाजुभाइहरू भन्छन् हामीलार्ई तल्लो जात भएर हेप्यो । फेरि तिनीहरूलार्ई उपयोग गर्न राजनीतिक दलहरूलार्ई खुराक मिल्छ । हो, यस्तो अवस्थाको अन्त्यचाहिँ हुनुपर्छ भन्ने मान्यता कसले राख्ने ?

चाणक्य नीतिशास्त्रमा एउटा भनाइ छ कि कोही व्यक्ति जन्मको हिसाबले होइन कर्मको हिसाबले महान् हुने हो । अर्का महान् चिन्तक सुकरात यसो पो भन्छन्– ‘केवल जिन्दगी मात्र होइन एक महान् र सार्वभौम जिन्दगी बाँच्नु राम्रो हो ।’ मानवको जुनी लिएर भगवान् बनेका द्वापर युगका कृष्ण कुनै पण्डितका पुत्र थिएनन्, कुनै आदिवासीका सन्तान थिएनन् । यो पृथ्वीमा को आदिम हो ? को हो नवीन ? कसलाई आदिम भन्ने कस्लाई नुतन भन्ने ? आदिमाताको आड लिएर राज्यबाट सहुलियत लिई उपभोग गर्न खोइजिएको हो भने त्यो आफ्नै ठाउँमा छ ।

सबैसँग गरीखाने हात छन् । सबैको सोच्न सक्ने दिमाग छ । सबको बाँच्ने कला छ । प्रकृतिले सबैलार्ई समानरूपमा घाम पानी र अक्सिजन दिएकी छिन् । आदिवासी र दलितलार्ई के सूर्यले उज्यालो छेक्छ र ? के जनजातिलार्ई हावा र प्रकृतिले आफ्नो काखको सिरानीबाट वञ्चित गरेकी छिन् र ? यो देशमा सबै राजनीतिक दलहरूले जनजातिको नारा लिएर राजनीतिक लाभ लिन खोजेका छन् । अहिलेको यो २१औं शताब्दीमा धर्मको नाउमा, राजनीति, जातभात, लिंगका रूपमा, वर्ग समुदाय, सम्प्रदाय र भूगोलको नाउँमा राजनीति गर्न खोज्नु भनेको नेपालीलार्ई आदिम सभ्यताको युगमा फर्काउन खोजेको हो भनेर बुझ्नु जरुरी छ । एक सचेत र सचा कम्युनिस्टको देश हुँदैन, धर्म हुँदैन, जात हुँदैन वर्ग लिंग हुँदैन । एउटा पृथ्वी एउटा राज्य । एकै जात, एकै धर्म मानव धर्म र प्रेमको धर्मले अभिप्रेरित रहनुपर्छ यो युगको आजको नेपाली ।

श्रीपेचको सौन्दर्यशास्त्र : श्रीपेच अब इतिहास भइसकेको छ । यो स्थायीरूपमा प्रदर्शनीमा थन्किएको छ । यसलाई अवलोकन गर्न हजारौँ नेपाली अझै नारायणहिटी संग्रहालय जान्छन् । किन जान्छन् त यति धेरै नेपाली भूपू राजाले लगाएको श्रीपेच हेर्न । उसलार्ई उसको इतिहासप्रति मोह त रहेछ । धेरै मोह रहेछ नत्र किन यति धेरै जनताको लर्को नारायणहिटीतर्फ ? नेपालीको दिलभित्र श्रीपेचको मोह त अझै पनि जिवित रहेछ । इतिहासको त्यो श्रीपेचको मूल्य मान्यता देखेरै यस्लाई हरदिन हेर्नेको घुइँचो लाग्छ । हामी नेपालीहरू इतिहासलार्ई माया गर्छौँ । आदर गर्छौँ । सम्मान गर्छौँ ।

महात्मा गान्धीले भनेका छन् कि ‘मेरो जीवन नै मेरो सन्देश हो’ जीवनको सर्वोच्चता कुनै आदिवासी जनजाति हुनुमा होइन बल्की यो सुवासझैँ, अत्तरझैँ, झिल्काझैँ फैलिनु र महकिनुमा छ । हाम्रा नेताहरू पनि आफ्नो शिरमा त्यो श्रीपेच लगाउन लालयित छन् । श्रेपेचको सपना देख्ने अनि कर्म र कर्तुचाहिँ आदिम गर्ने । वर्तमान जनता भोट र ब्यालेटबक्स भर्ने भरिया मात्रै हुन त ?

श्रीपेच शिरमा सुहाउँछ तर श्रीपेच लगाउन सक्ने हैसियत र श्रीपेचको शौन्दर्यशास्त्र पनि त बुझ्नु प¥यो नि । जिन्दगीको सर्वोच्च सपना के हो भनेर कसैलार्ई प्रश्न ग-यो भने व्यक्तिपिच्छे फरक उत्तर आउँछ । एउटा गरिबलार्ई सोध्यो भने धनी हुन पाऊँ भन्छ । एउटा राजनीतिज्ञलार्ई सोध्यो भने म यो देशको राजा हुन पाऊँ भन्छ, एकजना विद्यार्थीलार्ई सोध्यो भने परीक्षामा प्रथम हुन पाऊँ भन्छ अनि एउटा भोको व्यक्तिलार्ई सोध्यो भने उस्को सपना टन्न अघाउने गरी भात खाने हुन्छ ।

श्रीपेचको शौन्दर्यशास्त्र पनि यही हो कि यसलाई लगाउने मान्छे विशिष्ट होस् । धर्मात्मा होस्, निडर होस्, लोककल्याणकारी होस्, न्याय र अन्याय छुट्याउन सक्ने होस् । ऊ यो देशको कालीगण्डकीजस्तै निर्मल होस् । स्वतन्त्रताको हिमायती होस्, बलशाली होस्, सबै कुरामा विज्ञ होस् । ज्ञानी होस् । यो देशको गरिबी भोकमरी निवारणका लागि सदैव दत्तचित्त रहोस् । लोकको हित नै मेरो हित भन्ने भावनाबाट कहिले विचल्लित नहोस् । वास्तवमा श्रीपेचको शौन्दर्यशास्त्र त यही थियो । हामीले खोजेजस्तो सौन्दर्य शास्त्र भेट्न् सकेनौ श्रीपेच पहिरिनेमा र हठात खोसेर लियौँ शासकबाट । तर अहिले त्यही श्रीपेच आफ्नै शिरमा लगाउन खोज्दै छन् उत्तर आधुनिक महाराजहरू र गणतन्त्रको उपहास गर्दै छन् ।

जातीयताको दलदल : महान दार्शनिक प्लेटोले भनेका छन्– ‘सबै व्यक्ति प्राकृतिकरूपमा समान छन् । एउटै माटोमा एउटै कुमालेले बनाएको हौँ हामी मानव जाति । उसको अगाडि उसका सबै सिर्जना समान छन् । सबल कर्म गर्ने अगाडि छन् दुर्जन बिचार लिने पछाडि छन् । जनजातिको नाउँमा आउने भत्ता कुलीन वर्गले खान्छन् यो देशमा अनि तिनै आदिवासी जनजाति र दलितलार्ई लडाइँ लाडाएर राजनीति गरिरहन्छन् । एउटै गाउँमा एकै ठाउँमा एकै मितिमा जन्मिएका दुई बालक हर्कजित राई र रामकुमार दाहाल दुईमा कसरी हर्कजित राई आदिवासी जनजाति भयो अनि रामकुमार दाहालचाहिँ आधुनिक भयो ? हर्कले आदिवासीका नाउँमा कोटा पाउने । अनि बाहुन भएर जन्मिएको त्यो बिचरो रामले लोटा पनि नपाउने र आफ्नै मिहिनेत र पौरखले महान बन्नु पर्ने ? हो बाध्यताले यही विभेदले नै बाहुन वर्गले नेपालमा एकछत्र उन्नति गर्न सिकेको ।

स्वामी प्रपन्नाचार्य (काले राई)ले जनजातिको मुद्दाले मुलुकलाई पछाडि धकेल्छ भन्नुहुन्थ्यो । विद्वता छ भने जातभातको विभेद अन्त्य हुन्छ । व्यक्ति कर्मले पूजिने हो न कि जात र धर्मले । आदिवासीको रुवावासी अन्त्य हुनुपर्छ अब । यो देशमा कोही पनि मंगल ग्रहबाट आएका छैनन् । माथिल्लो जाति भनिने बाहुन भारतबाट आएका हुन् भनेर अभिजात्य वर्गमा गनिनु गलत हो । मंगोलियनहरू मात्र यो नेपालका आदिवासी जनजाति होइनन् । उनीहरू पनि मङोलियाबाट आएका हुन् भनेर मुद्दा निकाले भइगो नि त्यसो त । कुरो यो होइन ।

हामी नेपाली हामी सबै आदिवासी हामी सबै जनजाति किनभने हामी सबै यही भूमिका चेतनशील मानव चैतन्य हौ । बुद्धले एक ठाउँमा यस्तो भनेका छन्– ‘हामी जस्तो सोचाइ राख्छौँ त्यस्तै बन्छौँ । जनजाति दलित र आदिवासीले अब आफ्नो धारणामा परिवर्तन ल्याउनु जरुरी छ । शारीरिक मानसिक अपांगता भएका व्यक्तिबाहेक अरु कसैलार्ई पनि यो राज्यले पाल्नुपर्ने जरुरत छैन ।

दलित जनजाति र आदिवासीले यो सोच्नुपर्ने भएको छ कि, हामी आफैँ सक्षम छौँ कसैको हुन्डी खाएर बाँच्नु जरुरी छैन । सरकारले नै जनजाति दलित र आदिवासीको मुद्दा उठाएर ती व्यक्तिहरूको उन्नतिशील सोचलार्ई अपाङ्ग बनाइरहेको छ । बिर्सिदिनुस् यहाँ कोही दलित जनजाति आदिवासी छैन । यो देश सबको साझा घर हो हामी सब नेपाली आधुनिकवासी हौँ । हाम्रो सभ्यता आदिम होला तर हामी आधुनिक हौँ । आदिम सभ्यताको नुतनधारा मेची, कोशी, महाकाली, सुनकोसी बगिरहेछ हाम्रो शिरबाट ।

शब्दबद्ध परिचय शरीरको हुन्छ, पदार्थको हुन्छ भौतिकताको हुन्छ तर हामी चेतनाको त्यो आलोक हो जो हिजै बुद्धले बालिसके, सीताले जगाइसकिन् र यलम्बरले पूजित यो भूमिमा अब पनि कोही दलित र आदिवासी होलान र ? हामी कसरी आदिवासी हामी कसरी दलित र जनजाति ? सभ्यताको चरण चर्चा आदिम होला व्यक्ति र उसको सम्पूजन आदिम हुँदैन । यदि आदिम हुन्छ भने ऊ जंगली युगको वा ढुंगे युगको वनमान्छे हो न कि अहिले चरम सभ्यताको विवेकशील मान्छे ।

दलितमाथिको विभेद र विभाजन अन्त्यका लागि बरु राज्यको दायित्व प्रखर हुनु जरुरी छ । कडा कानुनको निर्माण, दण्ड र पुरस्कारको व्यवस्था हुनुपर्छ । नेपालका जुन जातिले आफूलाई दलित सम्झिन्छन्, जुन जातिले आफूलाई यो देशको आदिवासी सम्झिन्छन् तिनले यो बुझ्नु जरुरी छ कि, अब कति युगसम्म यो बिल्ला भिरेर बसिरहने ?



तपाईको प्रतिक्रिया