Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगहवाइ सेवा कति सुरक्षित ?

हवाइ सेवा कति सुरक्षित ?


काठमाडौं ।
मानव समुदायले आफ्नो यात्रा गन्तव्य पहिचानको सन्दर्भमा यातायातका विविध साधनको तुलनामा हवाइ सेवा सरल, सुगम, सुरक्षित, छिटो एवं भरपर्दो भएकै कारण नेपाललगायत विश्वभर यसको प्रचलनमा वृद्धि हुँदै गएको तथ्यलाई अन्यथा लिन मिल्दैन । सुरक्षा संवेदनशीलतालाई मध्यनजरमा राखी विशेष तयारीका साथ कुनै पनि गन्तव्य निर्धारण वा अवतरणको समयमा प्रस्तुत क्षेत्रको सुरक्षा प्रत्याभूतिमा विशेष हेक्का राखेर कार्य गर्ने भएकै कारण हवाइ यात्रुले यात्रा अवधिभर सुरक्षित रहेको महसुस गर्दै आएका मात्र हुन् ।

संवेदनशील रहँदारहँदै पनि दुर्घटना भन्ने कुरा भवितव्य हुने हुदाँ मानव जगतले नचाहँदा नचाहँदै पनि दुर्घटनाजन्य जोखिम मोल्न बाध्य रहनुपरेको हो । अकल्पनीय अवस्थामा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि हवाइ सुरक्षा संवेदनशीलताका विविध पक्षलाई समाहित गर्दै सोहीअनुरूपको अवधारणालाई यात्रुसमक्ष पस्कने जमर्को गर्ने हो भने आपत्कालीन पर्नसक्ने सम्भावित दुर्घटनाको जोखिम न्यून गर्न उल्लेख्य सफलता हासिल गर्न सम्भव रहनेछ भन्ने विश्वास लिन सकिन्छ ।

यद्यपि मानवीय सुरक्षा नै हवाइ सुरक्षाको विशेष अंग भएको हुँदा उल्लेख्य सावधानी अपनाउँदै तत्सम्बन्धी सुरक्षाको गहनतालाई मध्यनजरमा राख्दै क्रमशः अगाडि बढनुपर्ने हुन्छ । जसका कारण सम्बद्ध क्षेत्रको दुर्घटनाका दरहरूमा अस्वाभाविकरूपमा कमी आई सम्भावित ठूलो जनधनको क्षतिलाई न्यूनीकरण गर्न सहयोग पुग्नेछ ।

प्रस्तुत सन्दर्भमा भन्नुपर्दा कतिपय अवस्थामा मानवीय एवं यान्त्रिक त्रुटिका कारण दुर्घटनाजन्य व्यवहारको सामना गर्नुपर्ने हुन्छ । यसका अतिरिक्त भैपरी अवस्थामा पर्नसक्ने प्राकृतिक प्रकोपजन्य दुर्घटनाको पीडाले यस क्षेत्रलाई समय समयमा नराम्ररी गाँजेको पाइन्छ । नेपाली हवाइ आकाशको ऐतिहासिक तथ्यलाई केलाएर हेर्दा विगत केही दशक अगाडि मात्र दुईवटा अन्तर्राष्ट्रियस्तरको थाइ–इन्टरनेसनल एवं पाकिस्तान इन्टरनेसनल एयरलायन्सजस्ता ठूलास्तरका हवाइ दुर्घटनाका अतिरिक्त कयौं मात्रामा आन्तरिक दुर्घटनाको क्षति व्यहोर्नुपरेको तथ्यलाई सहजै बिर्सन सकिँदैन ।

प्रस्तुत क्षतिलाई मूल्यांकन गर्दै भावी हवाइ सुरक्षात्मक रणनीतिको अवधारणा तयार पार्ने हो भने, सम्बद्ध क्षेत्रमा अपार सफलता प्राप्त हुनुको साथै सुरक्षित हवाइ यात्राको अवधारणालाई मुर्तरूप दिन प्रस्तुत कदमले निश्चितरूपमा सहयोगीको भूमिका निर्वाह गर्ने देखिन्छ । जे–जस्तो अवस्थामा भए पनि दुर्घटना भन्ने कुरा निश्चितरूपमा टारेर टार्न सकिँदैन जसलाई मानवीय क्षमताभन्दा निकै टाढाको विषय मान्दा त्यति फरक नपर्ला । यसका अतिरिक्त बेला बखत आतकंवादी समूहद्वारा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीले यस क्षेत्रलाई थप संयमित एवं संवेदनशील बन्न हरपल घच्घच्याइरहन्छ ।

सुरक्षा अवधारणाभित्र हिजोआज विशेषगरी नेपाली आकाशमा अवतरण एवं उडानका बेला हुनेगरेको ढिलाइले नौलो तरङ्ग पैदा गर्नेगरेको छ । जसबाट अतिरिक्त जोखिमको मार एवं मनोदशात्मक द्वन्द्वात्मक परीस्थितिको सामना गर्न यात्रुमहानुभावलाई थप प्रताडित बनाएको वर्तमान अवस्था हो । जसको अभिवृद्धिले मात्र हवाइ क्षेत्रको साखमा ह्राास आई व्यावसायिक न्यूनताको सामना गर्नुपर्ने अवस्था तयार हुने देखिन्छ ।

एक सुरक्षा आकंडाअनुसार कुनै पनि हवाइजहाजलाई आकासमा होल्ड गराउँदा सम्भावित मानवीय एवं हवाइ जोखिमको अत्यधिक मार वहन गर्न हवाइसेवा प्रदाय कम्पनी तयार रहनुपर्ने हुन्छ । यसका अतिरिक्त सम्बद्ध क्षेत्रको सुरक्षा चुनौतीको जटिलतालाई आम जनमानषले कुन रूपले हेर्नेहुन् भन्ने महत्वपूर्ण प्रश्नले भावी सुरक्षा रणनीतिमा कस्तो कसर पर्छ भन्ने तथ्यलाई ध्यान दिँदै कार्य गर्नुपर्नेछ ।

जसको ऋणात्मक परिणाम स्वरूप सम्भावित अवतरण एवं उडानमा हुने गरेको ढिलाइले एकातिर महँगो वैदेशिक मुद्रा भुक्तान गरेर बाह्य मुलुकवाट आयात गरिएको हवाइ इन्धनको अतिरिक्त नोक्सानीको साथै निर्धारित समयसीमाभित्रै आफ्नो गन्तव्यमा पुग्न सकिने हो वा होइन भन्ने थप मानसिक चिन्ताले यात्रुलाई ग्रस्रित तुल्याउने हुँदा चारैतिरबाट सुरक्षा चुनौती थपिन जाने देखिन्छ । साथै सम्बद्ध सेवा प्रदायलाई अतिरिक्त जवाफदेही बन्नुपर्ने अवस्थाले अनाहकमा द्वन्द्वको सामना गर्नुपर्ने हुन्छ ।

प्रस्तुत अवस्थाबाट पार पाउन हवाइ मैदानको साथै टर्मिनल भवनहरूको विकास, विस्तार एवं स्तरोउन्नतिलाई प्राथमिकतामा राखी हवाइ सेवा प्रदायमा आम जनमानषको पहुँचको अभिवृद्धि गर्नुपर्नेछ । सोही आधारमा उडान भर्न र अवतरण गर्न अनुमति प्रदान गर्ने प्रावधानको विकासले हवाइ दुर्घटना न्यूनीकरणको साथै मानवीय सुरक्षामा संवेदनशीलता राहतको अनुभूति गर्न प्रत्यक्ष वा परोक्ष सहयोग पुग्ने देखिन्छ ।

मुलुकका अन्य क्षेत्रको हवाइ मैदानको तुलनामा काठमाडौँको मुटुमा रहेको हवाइ मैदान सुरक्षा संवेदनशीलताको गहनताको हिसाबले अत्यन्त जोखिमले भरिपूर्ण रहेको देखिन्छ ।

एकातिर अत्यधिक हवाइ उडान–अवतरणको चाप रहेको छ भने अर्कोतर्फ मानव बस्तीको बीचमा रहेको हुँदा थप जोखिममा पर्नसक्ने तथ्यलाई अन्यथा लिन मिल्दैन । तसर्थ राज्यका तर्फबाट वैकल्पिक हवाइ मैदानको अविलम्ब विकास­विस्तार गर्दै यस क्षेत्रमा पर्नआएको चापलाई न्यूनीकरण गर्नुपर्ने देखिन्छ । जसले यस क्षेत्रमा थप सकारात्मक भूमिका निर्वाह गर्नेछ ।

प्रस्तुत तथ्यलाई अध्ययन गर्दा सम्बद्ध क्षेत्रको सुरक्षाका लागि अपनाउनुपर्ने अल्पकालीन, मध्यकालीन एवं दीर्घकालीन रणनीतिक योजनासहितको कार्ययोजनालाई यथासमयमा नै लागू गर्न राज्य एवं सरोकारवाला अन्य पक्षले चनाखो रही कार्यान्वयनको क्षेत्रमा विशेष अभिरुचि राख्नुपर्नेहुन्छ । जसको मुख्य उद्देश्य भनेको यात्रु एवं हवाइ सेवा विचको अनुन्याश्रित सहसम्बन्धको विकासलाई आपसी विश्वासको डोरीले बाँध्दै यस क्षेत्रको सुरक्षा चुनौतीबाट पार पाउन सक्ने अवस्था तयार पार्नु हो ।

तसर्थः के–कति कारणले उडान प्रभावित भएको हो, भन्ने तथ्यको एकिन पहिचान गरी यात्रुहरूलाई पर्नसक्ने कठिनाइबाट राहत प्रदान गर्नु नै वास्तवमा हवाइ सेवाको विश्वासको अभिवृद्धि गर्नु हो ।

हवाइ ट्राफिक व्यवस्थापनमा भएको व्यवधानको कारण यदि समस्या खडा भएको भए त्यसमा अविलम्ब सुधार गरी व्यवस्थित गरिनुपर्छ । मूलरूपमा यसप्रकारको गतिरोधले हाम्रो हवाइ सेवाप्रति राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरको ध्यान केन्द्रित रहने हुँदा, यस क्षेत्रमा रहेको कमीकमजोरीहरूको आवश्यक मूल्यांकन गर्दै यस क्षेत्रको साख उँचो बनाउन सर्वपक्षीय सहयोगको सदैव खाँचो रहन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया