Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसन्दर्भः मातातीर्थ औँशी, जेष्ठ नागरिकप्रतिको श्रद्धा : आजको आवश्यकता

सन्दर्भः मातातीर्थ औँशी, जेष्ठ नागरिकप्रतिको श्रद्धा : आजको आवश्यकता


काठमाडौं ।
हाम्रो देशको कुल जनसंख्यामध्ये जेष्ठ नागरिकहरूको (६० वर्ष र माथि) कुल जनसंख्याको आठ दशमलव एक प्रतिशत अर्थात् २१ लाखभन्दा माथि रहेको तथ्यांक छ । भने यो समूहको जनसंख्या वृद्धिदर तीन दशमलव ३९ प्रतिशत रहेको पाइन्छ । यी संख्याका जेष्ठ नागरिकहहरूमध्ये ६०–७० उमेर समूह अझै पनि जुधारु किसिमले बौद्धिक एवं श्रममूलक कार्यमा संलग्न भएको प्रशस्तै पाइन्छ । विभिन्न उत्पादनमूलक कार्यसंलग्नताका हकमा निजहरूको स्वास्थ्य स्थिति, आर्थिक अवस्था र कामको प्रकृति भने फरक–फरक रहेको छ ।

हाम्रो मुलुकमा नागरिकहरूको अपेक्षित आयु हाल सन् २०२१ को तथ्यांकअनुसार ७० दशमलव १७ वर्ष रहेको पाइन्छ । हिमाल पहाडमा बसोबास गर्नेको अपेक्षित आयु बढी छ भने मधेशमा बसोबास गर्ने मानिसलगायतका जातजातिको अपेक्षित आयु हिमाल तथा पहाडको भन्दा कम रहेको अनुसन्धानले देखाएको छ । यसरी मानिसको आयुलाई हावापानी, रहनसहन, आर्थिक स्थिति, उपलब्ध स्वास्थ्य सेवा आदिले असर पारेको हुन्छ ।

संविधानले ज्येष्ठ नागरिकको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरी राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्रत्याभूत गरेको छ । दिगो विकास लक्ष्यमा ज्येष्ठ नागरिकको लागि सामाजिक सुरक्षालगायत सुरक्षित, समावेशी र पहुँचयोग्य हरित तथा सार्वजानिक खुल्ला ठाउँहरूमा पहुँच सर्वसुलभ गर्ने विषय समावेश भएको छ ।

सरकारले ज्येष्ठ नागरिकको संरक्षण, स्याहारसुसार र सुरक्षा गर्नको लागि वृद्धाश्रम र दिवा सेवा केन्द्रहरू सञ्चालन, यातायालमा विशेष सहुलियत, औषधोपचार, सामाजिक सुरक्षा भत्तालगायतका सेवा सुविधा पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन । जेष्ठ नागरिकको जीवन सहज, सुरक्षित एवं सम्मानित बनाई सामाजिक न्याय कायम गर्नुपर्ने आवश्यकता रहेको छ ।

नेपालमा रहेका जेष्ठ नागरिकहरूलाई उपलव्ध स्वास्थ्य सेवा र रेखदेख स्याहारको स्थिति के छ भनी आकलन गर्ने हो भने क्षेत्र विशेष, आर्थिक अवस्था, सचेतना आदिले प्रत्यक्ष असर पारेको देखिन्छ ।

निश्चय नै वृद्धावस्थामा मानिसको शारीरिक अवस्था कमजोर हुन्छ, विभिन्न रोगले सताउँछ र बुढ्यौलीले पनि केही हदसम्म शिथिल तुल्याउँछ, यस्तो अवस्थामा रेखदेख र स्याहारको आवश्यकता पर्दछ ।

जीवनको यही अवस्थालाई सहज बनाउन स्वयं ज्येष्ठजनले आफूमा धैर्यता राखी आफ्नो शारीरिक अवस्थाअनुरूप पथपरहेजलाई मनन गर्नुपर्छ भने परिवारका सम्पूर्ण सदस्यबाट शारीरिक स्वास्थ्यलगायत यथोचित व्यवहार, रेखदेख, स्याहार समेतमा ध्यान दिनुपर्ने नितान्त आवश्यक छ ।

पहिले–पहिले वृद्ध बा–आमा, हजुरबा, हजुरआमालाई माया, मानसम्मानका साथ आफ्नै घरमा पालनपोषण तथा हेरचाह गरिन्थ्यो तर आधुनिक जीवनशैलीले एकल परिवारको चाहना, स्वार्थीपना, रोजगारको व्यस्तता, विदेशी संस्कारको प्रभाव बसाइँसराइ, कमजोर आर्थिक अवस्था, जनचेतनाको कमी, फिक्का नैतिक शिक्षा, राज्यको कमजोर कानुनी प्रक्रिया आदिले ज्येष्ठ नागरिक एक्लिँदै गएका छन् ।

समयको फेरवदलको कारण देखाई आफूलाई जन्म दिई लालनपालन गर्ने आमाबाबुलाई आफ्नो परिवार तथा ईष्टमित्रबाट बेवास्ता गरी केहीलाई खाना, लाउन, बस्न समेत नदिई घरैबाट निकालिएको अवस्था छ । साथै राज्यले पनि जेष्ठ नागरिकलाई उचित किसिमको आवश्यक व्यवस्था नमिलाई राजनीतिक दलहरू निहित स्वार्थमा लागि सो समस्या हल गर्न ठूलो चुनौती भएको छ ।

आमाबाबुलाई हेला गर्ने, वृद्धाश्रम पु-याउने, खान, लगाउन नदिने, औषधोपचारबाट टाढै राख्ने प्रवृत्तिले नेपाली समाजलाई मानवताशून्य बनाएको छ । सम्पत्ति भएका वा नभएका दुवैखाले जेष्ठ नागरिक ढल्कँदो उमेरमा केवल पीडाका पात्र बनेको पाइन्छ । सम्पत्ति हुने बाबुआमालाई करकाप गर्ने, छलछाम गर्ने, तर्साउने र जालझेल गरी स्वार्थसिद्ध गर्ने छोराछोरी एकातिर निन्दनीय छन् भने सम्पत्ति नभएका बाबुआमाप्रति रत्ति दयाभाव नराख्ने, दुर्व्यवहार गर्ने सन्तान घोर कलंकका पात्र बनेका छन् । साथै सत्ताधारी राजनीतिक दलहरू सदैव कुर्सीको खेलमा लागि जेष्ठ नागरिकप्रति उचित किसीमको ध्यान पु¥याउन सकेको छैनन्, यो झनै विडम्बना हो ।

मातृदेवो भवः, पितृदेवो भवः जस्ता आदर्श बोकेको समाज आमा, बाबुप्रति यतिविघ्न निर्दयी हुनु निश्चय नै सामाजिक पतनको दृष्टान्त हो । केवल भौतिकवादी सोच र लालसाले गर्दा आजको समाज भावनारहित हुँदै गएको छ । समयमै बुद्धि नपु-याउने हो भने मानव समाज झन्झन् कठोर, निष्ठुर हुँदै जाने सम्भावना छ ।

यही यथार्थलाई ध्यानमा राखेर हुनसक्छ, विकसित देशका अगुवा वर्गले जेष्ठ नागरिकको सम्मान र सुविधाका निम्ति मनग्ये क्रियाशीलता बढाएका छन् । नेपालकै सन्दर्भमा हेर्ने हो भने पनि संविधान तथा कानुनमा जेष्ठ नागरिकका हक, हितबारे प्रत्याभूति नरहेको होइन तर सत्तासीन राजनीतिक दलहरू आफ्नै स्वार्थमा लागि सो कार्य गर्ने उनीहरूलाई फुर्सद नै छैन् । केवल उनीहरू त कुर्सीकै लागि दौडिरहेका छन् । नागरिकको जीवनमाथि पनि कमिसनको अवसर खोज्ने सरकारसँग अब नागरिकले के अपेक्षा गर्ने ?

ज्येष्ठ नागरिकलाई सेवा सुविधा र सामाजिक सुरक्षा पार्याप्त नहुनु साथै सत्ताधारी राजनीतिक दलले जेष्ठ नागरिकलाई उपेक्षा गर्नु, उनीहरूको ज्ञान, सीप र अनुभव राष्ट्रले उपयोग र नयाँ पिँढीमा हस्तान्तरण गर्न नसकिनु, शारीरिक र मानसिकरूपमा असक्त, असहाय, एकल, बेवारिसे तथा पीडामा परेका ज्येष्ठ नागरिकको उचित संरक्षण नहुनु, सन्तानले बाबु–आमाप्रति पूरा गर्नुपर्ने दायित्व वहन र हेरचाहमा क्रमशः ह्रास हुँदै जानु, बुढ्यौलीको कारणले लाग्ने विभिन्न रोगहरूको निदान तथा उपचारको यथोचित व्यवस्था नहुनु र जेष्ठ नागरिकलाई आवश्यकताअनुसार पोषण तथा स्वास्थ्य सुविधा दिन नसक्नु, ज्येष्ठ नागरिकप्रतिको श्रद्धा र सम्मानमा ह्रास आउनु यस क्षेत्रका समस्या हुन् ।

ज्येष्ठ नागरिकिका विषयलाई समानरूपमा सम्बोधन र व्यवस्थापन गर्नु, आधारभूत स्वास्थ्य सुविधा र पोषणको आवश्यक व्यवस्था गर्नु, ज्येष्ठ नागरिकको संख्यामा वृद्धि हुँदै जाँदा सोअनुसार सेवा सुविधा पर्याप्त व्यवस्था गर्नु, ज्येष्ठ नागरिकाको ज्ञान, सीप र अनुभवलाई समाज विकास र पूर्वाधार निर्माणमा उपयोग गर्नु, ज्येष्ठ नागरिकमाथि हुने हिंसा र दुर्व्यवहारको अन्त्य गर्नु, उनीहरूको आर्थिक तथा सामाजिक हक अधिकारको संरक्षण गर्नु र उनीहरूका लागि उपयुक्त एवं पर्याप्त दिवा सेवा केन्द्र, क्लब, औषधोपचारसहितको आरोग्य आश्रमको निर्माण तथा सञ्चालन उचित मात्रामा गर्न नसक्नु यस क्षेत्रको चुनौतीको रूपमा रहेका छन् ।

संविधानद्वारा ज्येष्ठ नागरिकको विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु, ज्येष्ठ नागरिकको व्यवस्थापन स्थानीय तहको अधिकार रहनु, ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्ने वातावरण सिर्जना हुँदै जानु र ज्येष्ठ नागरिकको हक र अधिकारको रक्षा र प्रवर्द्धन गर्न राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सरकारको प्रतिबद्धता रहे पनि विभिन्न कारणले गर्दा नेपालमा यथार्थरूपमा पालना गर्न सकिएको देखिँदैन ।

जेष्ठ नागरिकहरूको सामाजिक सुरक्षाका क्रममा रेखदेख, स्याहार र स्वास्थ्य सेवा अत्यन्त संवेदनशील विषयहरू हुन् । स्याहार र स्वास्थ्यजस्ता विषय विकासशील मुलुकमा चुनौतीको रूपमा रहेको छ । हाम्रोजस्तो देश जहाँ पारिवारिक आर्थिक एवं शैक्षिक स्थिति, कमजोर स्वास्थ्य सेवाप्रति सजगताको कमी, उपलब्ध साधन एवं विज्ञताको कमी भएको सन्दर्भमा धेरै कठिनाइको सामना गर्नुपर्ने अवस्था छ ।

सामान्यतयाः शारीरिक दुर्वलताबाहेक वृद्धावस्थामा हुने बहिरोपन, आँखासम्बन्धी समस्या, दम, छातीसम्बन्धी समस्या मुख्य देखिएका छन् । यीबाहेक मधुमेह, अल्जाइमर, रक्तचाप, मुटुसम्बन्धी समस्या, क्षयरोग, डिप्रेसन, अपांगताजस्ता समस्याले सामान्यतया वृद्धवृद्धाहरू सताइएका हुन्छन् । यसका लागि जेष्ठ नागरिकका सबै सन्तानलाई सोबारे क्रियाशील बनाउनु अति आवश्यक छ । साथै स्थानीय सरकारले पनि उत्तिकै क्रियाशील रहनुपर्छ ।

जेष्ठ नागरिकहरूका लागि परिवार, समुदाय र राज्यले निम्ननिखित कुरामा विशेष ध्यान दिनुपर्ने देखिन्छ । ती हुन्ः घर परिवारका सदस्यले यथोचित माया ममता, प्रेम र समय दिनुपर्ने, साथै आफ्ना अग्रजहरूलाई सदैव मातृ देवो भवः पितृ देवो भवः जस्ता आदर्श वाक्यको पालना गर्नुपर्ने, सरकारले समयमै वृद्ध भत्ता निकासा गरी उचित र सहज तरिकाबाट वितरण गर्नुपर्ने, स्वास्थ्य सेवामा विशेष सहुलियत दिनुपर्ने, वृद्ध भत्तामा वृद्धि गरिनु पर्ने, बेसहारा र असक्त जेष्ठ नागरिकलाई विशेष भत्ता वा लालनपालनको व्यवस्था सरकारबाट हुनुपर्ने, यातायात, स्वास्थ्य सेवाजस्ता सुविधा निःशुल्क उपलब्ध गराउने व्यवस्था हुनुपर्ने, घर परिवारका सदस्यले खान, लाउन, स्वास्थ्योपचारमा ध्यान दिनुपर्ने, सरकारले उपलब्ध गराउने सुविधा विनाभेदभाव सहज र सरल तरिकाबाट प्राप्त गर्नसक्ने व्यवस्था हुनुपर्ने, सकेसम्म घरमै वृद्धभत्ता उपलव्ध गराउने व्यवस्था हुनुपर्ने, परिवारलाई वृद्ध, जेष्ठजनहरूको उचित रेखदेख, स्याहार, सामान्य स्वास्थ्य उपचारजन्य विषयमा अनुशिक्षण वा प्रशिक्षणको व्यवस्था, लोकप्रिय सञ्चार माध्यमबाट रेखदेख, स्याहार उपचारबारे जनचेतना कार्यक्रम, घरेलु एवं परम्परागत स्याहार र उपचार पद्धतिको उपयोग, अस्पताल, स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई स्याहार र उपचारबारे अनुशिक्षण, सुरक्षात्मक प्रबन्धका लागि घरपरिवार वरपरको भौतिक वातावरण, व्यवहार वृद्धमैत्री तुल्याउने, जेष्ठ नागरिक दिवा सेवा केन्द्र, वृद्धाश्रम, हेरचाह केन्द्र आदि संस्थामा कार्यरत जनशक्तिलाई परम्परागत एवं आधुनिक रेखदेख, स्याहार र चिकित्सा पद्धतिबारे प्रशिक्षित गर्ने, स्थानीयस्तरमा कार्यरत गैरसरकारी संस्थाहरूलाई जेष्ठ नागरिकहरूको सामाजिक सुरक्षा, स्याहा, स्वास्थ्य सेवाका विषय समावेश गर्न प्रोत्साहित गर्ने, मानसिक स्वास्थ्य सबलताका लागि ध्यान, सत्सङ्गत आदिजस्ता आध्यात्मिक क्रियाकलापमा संलग्न गराउने, स्वास्थ्य स्थिति सबलताका लागि रुचि र क्षमताअनुसार सामान्य योग, अभ्यासका विधिहरू अपनाउने, निरन्तर शारीरिक सुसंगठनका लागि सक्रिय रहन रुचि र क्षमताअनुसारका कार्यहरूमा क्रियाशील रहने बानीको विकास गराउने, महिला जेष्ठ नागरिक एवं एकल महिलाहरूका लागि विशेष स्वास्थ्य सेवा एवं परामर्श सेवा सञ्चालन गर्ने, ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्नको लागि नीति निर्माणमा सहभागिता र स्रोतमा पहुँच सुनिश्चित गर्नेजस्ता कुरामा विशेष ध्यान दिनु आजको आवश्यकता हो । तब मात्र हरेक वर्ष मे ११ मा मनाइने आमाको मुख हेर्ने दिन तथा मातातीर्थ औँसी र सेप्टेम्बर ७ मा मनाइने बुबाको मुख हेर्ने दिन अर्थात् कुशे औँसीले साथर्कता पाउनेछ । लेखकः नेपालमा गुणस्तरी जीवन विषयमा विद्यावारिधि एवं लामो समय अध्ययन अनुसन्धान । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया