Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगप्रधानमन्त्रीको सन्देश

प्रधानमन्त्रीको सन्देश


केपी शर्मा ओली
२२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा प्राकृतिक विपत्ति तथा भूकम्पबाट हुनसक्ने क्षतिबाट जोगिन आवश्यक सजगताका लागि म सबैमा हार्दिक आह्वान गर्दछु । भूकम्पको जोखिम रहेको हाम्रोजस्तो भू–भागमा यस्ता प्राकृतिक विपद्ले हुनसक्ने जनधनको क्षतिबाट जोगिन भूकम्प सुरक्षा दिवसले हामी सबैलाई यसको सामना गर्दै बच्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

हामीले राज्य संरचनाका अङ्गहरूमा मात्र विपद् व्यवस्थापनका पक्षहरूलाई सबल बनाएर मात्र पुग्दैन, समाजको जीवन पद्धतिलाई नै विपद् व्यवस्थापनको तयारी र त्यससँग जुध्न सक्ने बनाउनु जरुरी छ । त्यसका लागि हामीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन पारित गरेका छौँ । ०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पुगेको क्षति र त्यसपछिको पुनर्निर्माणका अनुभव तथा ज्ञानलाई आत्मसात गर्दै हामी भूकम्पबाट उत्पन्न हुने जोखिम न्यूनीकरणको दिशामा अग्रसर छौँ । जनसमुदायलाई भूकम्प प्रतिरक्षाका लागि सजग र तत्पर बनाउने तथा यसबाट हुने जनधनको क्षतिसम्बन्धी दुःखद् अनुभवलाई विस्मृतिमा जान नदिने हाम्रो उद्देश्य छ ।

यतिखेर हामी भूकम्प प्रभावित जनताका सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा छौँ । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पुगेको क्षतिलाई हामीले पुनर्निर्माण गर निष्कर्ष नजिक पु¥याएका छौँ । भूकम्पले ध्वस्त भएका जनताका आवास, ऐतिहासिक तथा पुरातात्विक सम्पदा, सरकारी प्रशासनिक भवन, विद्यालय तथा स्वास्थ्य संस्थाका भवनहरूलाई खण्डहर जमिनबाट उठाएर नवनिर्माणको सुखद तस्बिरमा बदलेका छौँ । यस तथ्यले हाम्रो पुनर्निर्माण अभियान गन्तव्य नजिकै पुगेको सुसंकेत गरिरहेको छ ।

भूकम्पपछि ढलेको समाजको मनोवल उठ्ला त भन्ने प्रश्नलाई हामीले कामद्वारा नै सम्बोधन गरिरहेका छौँ । र, त्यसलाई हामी निकट भविष्यमै सम्पन्न गर्दै छौँ । भूकम्पपछिको पुनर्निर्माण मात्रै होइन हामीले यसबीच बारा र पर्सामा आएको हुरी प्रभावित जनताका उजाड बस्ती ५ महिनामै निर्माण गरी हस्तान्तरण गरेका छौँ । प्राकृतिक विपत्तिका बेलामा राज्यका तर्फबाट हामीले अपनाएको लगाव र तत्परतालाई यसले प्रतिबिम्बित गर्दछ ।

हाम्रा पुरातात्विक सम्पदाहरूको पुनर्निर्माणलाई हामीले परम्परागत मौलिकता कायम राख्दै दिगो तथा भूकम्पबाट अधिकतम सुरक्षित हुने तवरले अघि बढाएका छौँ । जोखिमयुक्त स्थानमा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा सार्ने प्रबन्ध मिलाएर पुनर्निर्माणको काम सफलतापूर्वक अघि बढाइएको छ । भूकम्प प्रभावित क्षेत्रलाई मात्र होइन, सिङ्गो मुलुकलाई सुरक्षित र भूकम्पबाट अधिकतम रूपमा सुरक्षित बनाउन सरकारले प्रदेश र स्थानीय तहमा विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति, संरचना र योजना तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गरिरहेको छ । कुनै पनि प्रकारको विपद्लाई न्यूनीकरण र सामना गर्न हामीले पूर्वतयारी कार्यमा विशेष ध्यान दिनै पर्दछ । यस निम्ति म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक आह्वान गर्दछु । अन्त्यमा, राष्ट्रिय भूकम्प सुरक्षा दिवसले हामीलाई यही दिशातर्फ सोच्न र सक्रिय रहन प्रेरित गरोस् । २ माघ, २०७६


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया