Techie IT
×
गृहपृष्ठविचारकोरोना भाइरसको प्रभाव र अर्थतन्त्रको पुनरुत्थान

कोरोना भाइरसको प्रभाव र अर्थतन्त्रको पुनरुत्थान


काठमाडौं ।
सन् २०१९ डिसेम्बर तेस्रो साताबाट चीनको बुहानबाट सुरु भएको कोरोना भाइरसको दोस्रो लहर नेपालमा पहिलो पटक देखापरेको एक वर्ष नबित्दै फेरि तीव्ररूपमा बढ्दै गएको छ । गत वर्ष चैत्रको पहिलो साताबाट लगाएको लकडाउन विभिन्न चरणमा यसलाई खुकुलो गर्दै अर्थतन्त्रलाई पूर्णरूपमा चलायमान बनाउन लागिएको ६/७ महिना नबित्दै फेरि नेपाल सरकारले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ ।

कोरोनाले विश्वलाई नै आक्रान्त पारिरहेको वर्तमान अवस्थामा यसको प्रभाव कुनै एक देश, क्षेत्र, स्थानमा मात्रै नभएर पूरै देशको विकासमा बहुआयामिक पक्षहरूमा यसको प्रभाव रहन्छ । यसको रूप र फैलावट पूर्वानुमान गर्नसकिने अवस्थामा छैन । यो भाइरसको प्रभाव अन्तरराज्ज र विश्वव्यापी बनेको छ । कुनै पनि देश यस भाइरसबाट अछुतो रहन सकेका छैनन् ।

भाइरसको वंशानुगत बनावटमा आउने परिवर्तन र फैलावटले विभिन्न देशहरूमा फरक–फरक स्वरूपका भाइरसहरू फेला परेका छन् । यस्तो परिवर्तित (म्युटेट) भाइरसहरू धेरै संक्रामक र ज्यादै हानिकारक पाइएको छ । त्यसैले यो भाइरसविरुद्धको लडाइँ विश्वकै चिन्ता र सरोकारको विषय बनेको छ । यसको प्रभाव विश्वव्यापी हुनुका साथै कुनै पनि देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा मनोवैज्ञानिक पक्षहरूमा प्रभाव परेको हुन्छ ।

शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, यातायात, रोजगारी, पूर्वाधार विकास, व्यापार व्यवसाय, उद्योगधन्दा, लगानी, उत्पादन, उपभोग र वितरणलगायतका आर्थिक सामाजिक विकासका समग्र क्षेत्रमा यसको प्रभाव रहेको हुन्छ । संविधानले परिकल्पना गरेको समाजवादउन्मुख, आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील अर्थतन्त्रको विकास गर्न कोभिड नेपालको मात्र नभई विश्वकै महा शत्रुको रूपमा देखापरेको छ ।

(१) विश्वका ठूला विकसित र विकासशील दुवै मुलुकमा कोरोनाको दोस्रो लहरले स्वास्थ्य क्षेत्रमा नराम्ररी प्रभाव पारेको देखिन्छ । त्यसको एउटा गतिलो उदाहरणको रूपमा भारतलाई लिन सकिन्छ । भारतमा खासगरी नयाँ दिल्लीमा अक्सिजन, भेन्टिलेटरको अभावकै कारण कयौँ मानिसहरूको ज्यान अकालमै गइरहेको अवस्था थियो । नेपालमा पनि अझै पनि अक्सिजन, भेन्टिलेटर र आईसीयूको अभावमा धेरै जनाको ज्यान गुमाउन बाध्य भएका छन् ।

खासगरी विगतमा नेपालमा अक्सिजन उप्पादन गर्ने उद्योग र कम्पनीको पनि यथार्थ तथ्यांक सरकारसँग नहुनु र भएका उद्योगको पनि उचित नियन्त्रण र नियमन प्रणालीको कमजोरीका कारण अक्सिजनको प्रर्याप्त उत्पादन र आपूर्ति हुन सकिरहेको छैन । कोरोनाका कारण स्वास्थ्य सेवा सुविधा विस्तार गर्न सरकारले ठूलो लगानी स्वास्थ्य क्षेत्रमा लगाउनुपर्छ । स्वास्थ्य जनशक्तिको थप माग र भएका जनशक्तिको उचित व्यवस्थापन गर्नु जरुरी हुन्छ । कोरोनाकै कारण देशका ऊर्जाशील युवा, बौद्धिक व्यक्ति, विभिन्न पेसाकर्मी र आम नागरिकको जिउधनको नोक्सान हुनपुग्छ । त्यसकारण स्वास्थ्य क्षेत्रमा कोरोनाको प्रभाव निकै भयानक र डरलाग्दो हुन्छ ।

अतः स्वास्थ्य क्षेत्रमा सबै नागरिको समतामूलक पहुँच स्थापित गर्नुपर्छ, अतिविपन्न, गरिब र कोरोनाको उच्च जोखिममा रहेका नागरिकलाई उच्च प्राथमिकता दिँदै स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ । स्वास्थ्य क्षेत्रलाई नाफामुखीबाट सेवामुखी क्षेत्रका रूपमा रूपान्तरण गर्दै जानुपर्छ । बढीभन्दा बढी जनसंख्यालाई खोप दिई सामूहिक प्रतिरोधात्मक क्षमता (हर्ड इम्युनिटि पावर) पैदा गराउनु पर्दछ ।

(२) शिक्षा विकासको आधार हो । नागरिकलाई परिष्कृत, मर्यादित जीवन र बालबालिकाको लागि उज्ज्वव भविष्यको लागि शिक्षा विकासको महत्वपूर्ण माध्यमको रूपमा रहेको हुन्छ । तर कोरोनाका कारण कयौँ बालबालिका शिक्षाबाट वञ्चित हुनुपरेको छ । बालबालिका विद्यालयमा भौतिकरूपमा उपस्थित हुन पाएका छैनन् । सहरी क्षेत्रमा सञ्चार र इन्टरनेटको सुविधा हुने क्षेत्रका बालबालिकाले अनलाइन क्लासमार्फत शिक्षा आर्जन गरिरहेका छन् । तर ग्रामीण क्षेत्रका अधिकांश बालबालिका शिक्षाबाट वञ्चित भइरहेका छन् । जहाँ इन्टरनेट र सञ्चारको सुविधा छैनन् । यसका साथै राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा हुने सरकारी/गैरसरकारी क्षेत्रमा हुने तालिम, गोष्ठी र सेमिनार हुन सकिरहेका छैनन् ।

व्यक्तिको सर्वाङ्गीण विकास र सामाजिक आर्थिक रूपान्तरण गर्न शिक्षा महत्वपूर्ण माध्यमको रूपमा रहेको हुन्छ । शैक्षिक संस्थाहरू बन्द हुँदा बालबालिका र युवा जनशक्तिको शिक्षाका अतिरिक्त अन्य व्यक्तित्व विकासका अवसरबाट वञ्चित रहन पुग्दछन् । अतः शिक्षाको उज्यालो प्रकाशमा सबैलाई पहुँच पु-याउन शिक्षालई सूचना प्रविधिसँग जोड्नु, वैकल्पिक माध्यमबाट शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउनुपर्दछ ।

(३) कोरोनाले सबैभन्दा बढी असर पारेको क्षेत्र पर्यटन हो । नेपालमा कुल गार्हस्थ्यय उत्पादनमा करिब २ दशमलव ५ प्रतिशत योगदान मात्रै गरेको भए पनि यसको असर प्रत्यक्ष र अप्रत्यक्ष असर धेरै क्षेत्रमा परेको हुन्छ । होटल, हवाइ उड्डयन, रिसोर्ट, होमस्टे, पार्क, पदयात्रा, ट्राभल्स र अन्य महत्वपूर्ण पर्यटकीयस्थलहरू बन्द हुँदा त्यहाँ काम गर्ने लाखौँ मानिसको रोजगारी गुम्न सक्ने देखिन्छ । नेपालको पर्यटन क्षेत्रले करिब पाँच लाख मानिसलाई रोजगारी दिएको अनुमान छ । त्यसरी लाखौँ मानिसको आम्दानी गुम्दा अर्थतन्त्रमा यसको नराम्ररी प्रभाव पर्दछ ।

सरकारलाई रोजगारी सिर्जना गर्न दबाब सिर्जना हुन्छ । रोजगारी नपाउँदा अन्ततः ऊर्जाशील मानिस देशमै उत्पादन र उत्पादकत्व बढाउन नलागी विदेश जान बाध्य हुन्छन् । यसबाट पर्यटन क्षेत्रबाट नेपालले आर्जन गर्ने विदेशी मुद्रा सञ्चिति नहुँदा भुक्तानी सन्तुलनमा असर पर्दछ । यसरी पर्यटन क्षेत्र गत वर्षको लकडाउनले पनि धेरै थला पारेको थियो भर्खरै तंग्रिन लागेको पर्यटन क्षेत्र फेरि कोरोनाको दोस्रो लहरले नराम्रो असर पार्ने देखिन्छ ।

यसरी नेपालको तुलनात्मक लाभ र उच्च सम्भावना भएको पर्यटन क्षेत्रलाई पूर्ववतः अवस्थामा फर्काउन र अर्थतन्त्रलाई चलायमान बनाउन पर्यटन मन्त्रालय, पर्यटन विभागले प्रभावकारी नीति, योजना, राहत, सहुलियत छुटका प्याकेजको व्यवस्था गर्नुपर्छ । तीनै तहका सरकारबाट पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिई पर्यटनमैत्री नीति, योजना र कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

(४) नेपालको कुल गार्हस्थ्य उत्पादनमा झन्डै २७ दशमलव २५ प्रतिशत योगदान रहेको र करिब ६० प्रतिशत जनसंख्या आश्रित भएको क्षेत्र हो कृषि । कोरोनाको प्रभाव कृषि क्षेत्रमा झट्ट हेर्दा नदेखिए पनि कृषि क्षेत्रको विकास, उत्पादन र उत्पादकत्व बढाउन आवश्यक पर्ने मल, बीउ तथा अन्य कृषि सामग्री आयात गर्न सकिएको छैन । कृषिजन्य वस्तुको उत्पादन उत्साहजनक रूपमा हुन सकेको छैन । उत्पादित तरकारी, फलफूल र खाद्यान्नको आपूर्ति प्रणाली कमजोर छ ।

कृषिजन्य वस्तु खरिदबिक्री गर्ने पशु हाटबजार, सागसब्जी हाटबजार, डेरी, सब्जी मण्डीहरू बन्द भएको अवस्था छ । उत्पादित दुध, तरकारी र अन्य कच्चा पदार्थ बजारको अभाव र मागको कमीले बारीमै कुहिने अवस्थामा छन् । कृषि क्षेत्रका लागि चाहिने श्रमिकहरूको अभाव छ । लकडाउन र निषेधाज्ञाका कारण खाद्यान्न अभाव भई खाद्य संकटको अवस्था सिर्जना हुनसक्ने देखिन्छ । यसबाट संविधानले प्रत्याभूति गरेको खाद्य अधिकार र खाद्य सम्प्रभुताको हक कुण्ठित हुनपुग्दछ ।

अतः कोरोना महामारीले कृषि क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गर्दै कृषि क्षेत्रलाई प्रतिस्पर्धी, दिगो, आत्मनिर्भर तुल्याई स्वाधीन अर्थतन्त्रको रूपमा विकास गर्न कृषि क्षेत्रमा नीतिगत, संरचनागत र संस्थागत सुधार गर्नु जरुरी छ । यसका लागि सरकारले कृषि र कृषकलाई उच्च प्राथमिकता दिई राहत, सहुलियत, प्रर्याप्त मल, बीउबिजन र कृषि सामग्रीको समयमै जोहो गर्नु पर्छ । कृषिलाई आधुनिक प्रविधिमा आधारित उद्यमको रूपमा विकास गर्नतर्फ उन्मुख हुनुपर्छ ।

(५) कोरोना भाइरसले प्रभाव पारेको क्षेत्रहरूमध्ये सबैभन्दा बढी प्रभाव परेको क्षेत्र रोजगारी क्षेत्र हो । गत वर्षकै कोरोना भाइरस महामारीबाट करिब १६ लाख श्रमशक्तिले रोजगारी गुमाएको र १२ लाखभन्दा बढी जनसंख्या गरिबीको रेखामुनि धकेलिएको अनुमान गरिएको छ । यो वर्ष अझै बढी रोजगारी गुम्ने र गरिबीको संख्या अझै बढ्ने अनुमान गरिएको छ । विश्वमै हेर्दा पनि बेरोजगारीको समस्याका कारण धेरै देशहरूको अवस्था नाजुक भइसकेको छ ।

गत वर्ष मात्रै अमेरिकामा करिब डेढ करोड मानिसहरूले बेरोजगार भत्ताको लागि आवेदन दिएका थिए । स्पेन, बेलायत, अष्ट्रेलियाजस्ता विकसित देशमा समेत लाखौँ मानिसले रोजगारी गुमाउनुपरेको थियो । नेपालमा पनि भारतलगायत अन्य देशमा वैदेशिक रोजगारमा गएका श्रमिक रोजगारी गुमाएर स्वदेश फर्किन बाध्य भएका र यसरी नेपालीहरू वैदेशिक रोजगारबाट फर्कँदा देशको करिब २६ प्रतिशत योगदान गर्ने रेमिट्यान्समा पनि धक्का पुग्दछ ।

उद्योग, कम्पनी र विभिन्न संघसंस्थामा काम गर्ने श्रमिक र दैनिक ज्यालादारी गरी खाने मजदुरहरूको रोजीरोटी गुमेको र घरमा खानाको जोहो गर्न हम्मेहम्मे परेको छ । यसबाट गुणस्तरीय मानव पुँजीको विकासमा अवरोध सिर्जना हुनुका साथै राष्ट्रिय अर्थतन्त्रलाई स्वस्थ, सबल र उत्पादनशील बनाउन सकिँदैन । त्यसैले कोरोनाले थलाथला पारेको अर्थतन्त्रलाई गतिशीलता दिन श्रम तथा रोजगारीको महत्वपूर्ण भूमिका रहन्छ । कोरोना महामारीबाट उद्योग, व्यापार, पर्यटन, शिक्षा, यातायात, लगानीजस्ता क्षेत्रमा असर गरेको हुँदा यी क्षेत्रमा गुमेको रोजगारीलाई आकलन गर्दै रोजगारीका उत्पादनशील र सम्भावित क्षेत्रहरूको पहिचान र अवसरको सिर्जना गर्न तीन तहका सरकारबाट आवश्यक पहल नीति, योजना र कार्यक्रमको तय गर्नु जरुरी हुन्छ ।

(६) अहिलेको विश्वव्यापीकरण, उदारीकरण र अन्तरनिर्भर विश्व अर्थ व्यवस्थामा व्यापार र वाणिज्य क्षेत्रले तीव्र आर्थिक वृद्धि र विकासमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । संविधानले नै राष्ट्रिय हितअनुकूल हुनेगरी निर्यात प्रवर्द्धन तथा आयात व्यवस्थापन गर्दै सबल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने कुराको प्रत्याभूति गरेको छ । तर कोरोना महामारीका कारण थला परेको अर्को महत्वपूर्ण क्षेत्र पनि व्यापार–व्यवसाय हो । आन्तरिक अर्थतन्त्र र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका रहने सुनचाँदी व्यवसाय, फेन्सी व्यवसाय, कस्मेटिक व्यवसाय, ब्युटीपार्लर, हार्डवेयर, ठूलठूला सपिङ मल र मार्टजस्ता व्यवसाय अहिले बन्द भएको अवस्था छ । यसबाट वैदेशिक व्यापार र आन्तरिक व्यापार दुवैमा विचलन आउनुका साथै ऋण लिएर व्यापार व्यवसाय गर्ने मानिसको अवस्था झन् महामारीले भयावह बनाएको छ ।

नेपालमा यस्ता थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान कुल गार्हस्थ्य उत्पादनमा करिब १४ प्रतिशत रहेको छ । त्यसैले पनि यस क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भए पनि महामारीले पारेको असरलाई कम गर्दै गुणस्तरीय वस्तु तथा सेवाको उत्पादन, आयातलाई व्यवस्थापनमार्फत व्यापार सन्तुलन गरी अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान अभिवृद्धि गर्नमा ध्यान केन्द्रित गर्नु आवश्यक छ ।

(७) रोजगारी सिर्जना, उत्पादन, वितरण गरी पूर्वाधार संरचना निर्माणमा लगानी अपरिहार्य छ । निजी क्षेत्रको लगानीविना आर्थिक विकास र समृद्धिको कल्पना गर्न गाह्रो हुन्छ । तर कोरोना महामारीका कारण निजी क्षेत्र नराम्ररी प्रताडित भएका कारण स्वदेशी र विदेशी लगानी आकर्षित हुन र गर्न सकिएको अवस्था छैन । देशको आर्थिक विकासको ढोका खोल्ने विकासको साझेदार पात्र निजी क्षेत्र कोरोना भाइरसका कारण थिलथिलो परेको छ ।

निजी क्षेत्रको लगानीविना रोजगारीका बहुआयामिक क्षेत्र र तिनीहरूको विकास हुन गाह्रो हुन्छ । सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य र नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल : सुखी नेपाली’को दीर्घकालीन सोच हासिल गर्न ठूलठूला पूर्वाधारयुक्त संरचना र आधुनिक प्रविधिको क्षेत्रमा विदेशी लगानी परिचालन गर्नुपर्ने हुन्छ । यी सबै गर्न र थला परेको नेपाली अर्थतन्त्रलाई लिगमा ल्याउन विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनको परिमार्जन, कर छुटसम्बन्धी विशेष प्याकेज, लगानी आकर्षित गर्ने नीति तथा योजना तय गर्नुका साथै विदेशी लगानीको प्रवेशदेखि बहिर्गमनसम्मको सम्पूर्ण प्रक्रियालाई सरल, सहज, चुस्त दुरुस्त र प्रभावकारी बनाउनु जरुरी हुन्छ ।

स्वदेशी र विदेशी लगानी आर्कषणविना कोरोनाले रोजगारी गुमाएका विभिन्न क्षेत्रका लाखौँ लाख युवाले रोजगारी प्राप्त गर्नसक्ने अवस्था हुँदैन । त्यसका लागि ठूलो मात्रामा रोजगारी सिर्जना हुने परियोजनामा लगानी आकर्षित गर्नु जरुरी हुन्छ ।

(८) यातायात क्षेत्र देश विकासको लाइफ लाइनको रूपमा रहेको हुन्छ । समग्र यातायात क्षेत्रको विकासले देशको आर्थिक सामाजिक रूपान्तरणका लागि बलियो र भरपर्दो आधार निर्माण गरेको हुन्छ । दिगो यातायात संरचना निर्माण गर्नमा कोरोना भाइरस एक शत्रुका रूपमा अगाडि आएको छ । कोरोना भाइरसकै कारण अहिले सार्वजनिक यातायात, हवाइ यातायात, केवलकार, रेल–वे, जल र रोप–वेलगायतका यातायात पूर्वाधारहरूको विकास, विस्तार र स्तरोन्नति हुन सकेको छैन ।

यातायातका क्षेत्रमा काम गर्ने कयौँ कर्मचारी र मजदुरहरूले रोजगारी र आयस्रोत गुमाउनु परेको छ । सर्वसाधारणको निर्बाध पहुँचका साथै आर्थिक वृद्धि र उन्नतिको संवाहकको रूपमा रहेको यातायात क्षेत्रले व्यापार व्यवसाय तथा सेवालाई सहजीकरण गर्नुका साथै जलविद्युत्, उद्योग, सञ्चार, पर्यटन, कृषि र ग्रामीण विकास प्रत्यक्ष/अप्रत्यक्षरूपमा उल्लेखनीय योगदान गरिरहेको हुन्छ ।

अतः कोरोना कहरका कारण काठमाडौँलगायत ठूला–ठूला सहरी क्षेत्रमा वायु र ध्वनि प्रदूषण नियन्त्रण भई वातावरणीय स्वच्छता कायम भए पनि कोरोनाकै कारण यो क्षेत्र नराम्ररी प्रभावित भएको हुँदा यस क्षेत्रलाई सुरक्षितरूपमा समन्वयात्मक र सजकतापूर्वक स्वास्थ्य मापदण्ड पालना गर्दै प्रभावकारी ढंगबाट सञ्चालन र व्यवस्थापन गर्नु जरुरी हुन्छ ।

निष्कर्ष, महामारी र त्यसको प्रभावलाई नियन्त्रण गर्नका लागि सरकारको मात्र एकल प्रयासले सम्भव हुँदैन यसलाई परास्त गर्न सम्पूर्ण नागरिक, सरकार, समाज र समुदायको हातेमालो हुनुपर्दछ । जनताले पनि स्वास्थ्य मापदण्ड पालना गर्नमा इमान्दारिता, सक्रियता र तत्परता देखाउनुपर्दछ । महामारीले धनी/गरिब र ठुलो/सानो नभन्ने हुँदा यस्तो अवस्थामा सबैले आफ्ना इच्छा, आकांक्षा र आवश्यकतालाई दबाउँदै सरल र सहज जीवन जिउँदै कोरोनासँगको सरकारको लडाइसँग जुध्नुपर्दछ । अर्थतन्त्रलाई पनि सबल र गतिशील बनाउन कृषि तथा साना, घरेलु उद्योगलाई प्रवर्द्धन गर्ने, उद्यमशीलताको विकास गर्ने, कृषिलाई सम्मानजनक पेसाको रूपमा विकास गरी तरकारी, फलफुल, माछा, मासुलगायत प्रमुख खाद्यान्न बालीमा आत्मनिर्भर बन्ने ।

उद्योगको उत्पादन र उत्पादकत्व बढाउँदै गुणस्तरीय र प्रतिस्पर्धात्मक वस्तु तथा सेवाको प्रवद्र्धन गर्ने, बिलासी वस्तु, सुन, चाँदीलगायतका वस्तुको आयातलाई क्रमशः नियन्त्रण गरी निर्यातमुखी अर्थतन्त्र निर्माण गर्ने, रोजगारी र स्वरोजगारीका व्यापक अवसरहरूको सिर्जना गर्ने, निजी क्षेत्रलाई निरुत्साहित हुन नदिने, लगानी आकर्षित गर्ने, करका दरमा पुनरावलोकन र प्रगतिशील कर नीति अख्तियार गरी राजस्वलाई बढावा दिने, सार्वजनिक खर्चलाई मितव्ययी र पारदर्शी बनाउने, साना व्यवसाय र ऋण लिई भर्खर व्यापार व्यवसाय गर्नेलाई ब्याज अनुदान, छुटसहितको सहुलियतपूर्ण कर्जा तथा पुनर्कर्जाको व्यवस्था गर्ने ।

यसरी विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोराना भाइरस संक्रमण(कोभिड–१९)को नकारात्मक असर न्यूनीकरण गर्न तथा अर्थतन्त्रको पुनरुत्थान गर्न माथि उल्लिखित विषयक्षेत्रबाट उपयुक्त नीति, योजना, रणनीति र कार्यक्रमका माध्यमबाट सुशासन, विकास र समृद्धि हासिल गरी स्वाधिन, आत्मनिर्भर, समुन्नत तथा समाजवादउन्मुख अर्थतन्त्रको विकास हुने परिकल्पना गर्न सकिन्छ ।


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया