Techie IT
×
गृहपृष्ठविचारधुम्रपान छोड्ने प्रतिबद्धता गरौँ

धुम्रपान छोड्ने प्रतिबद्धता गरौँ


काठमाडौं ।
हरेक वर्ष मे ३१ तारिखका दिन संसारले धुम्रपान विरुद्धको दिवस मनाउने गर्दछ । यसको सामान्य अर्थमा धुम्र अर्थात् धुवाँजन्य वस्तु अनि पान अर्थात सेवन, यसअर्थमा चुरोट, गाँजा, कंकड, हुक्का अनि बिँडीलगायत अन्य धेरै धुवाँजन्य उपभोगका वस्तुले स्वास्थ्यमा गर्ने हानीका बारेमा आज संसारभरि नै जनजागरण फैलाउने कार्य गर्दै आएको छ । सन् १९८७ देखि यस दिनलाई मनाउन सुरु गरिएको थियो । यस वर्षको विश्व स्वास्थ्य संगठनले अंगे्रजी नारा ‘कसट टु क्वीट’ राखेको छ । उक्त नारा अहिले समय सान्र्दर्भीक रहेको देखिन्छ । त्यसलाई नेपाली करण गर्ने हो भने धुम्रपान छोड्ने प्रतिबद्धता गरौं भन्ने बुझिन्छ । यसरी सुर्तीजन्य पदार्थ प्रयोग गर्नेहरूको संख्या विश्वव्यापीरूपमा बढेपछि यो सिङ्गो मानव समुदायकै समस्याको रूपमा देखा परेको छ ।

यस्तो पदार्थको सेवनबाट क्यान्सर, मुटुको रोग, मधुमेह र फोक्सोसम्बन्धी रोगका सङ्क्रमण वृद्धि भइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर हाल धूमपान गर्नेहरूको संख्या करिब एक अर्ब ३० करोडभन्दा बढी छ । वर्षेनी यसको सेवनबाट हुने क्यान्सरको कारण ९६ लाख मानिसको मृत्यु हुनेगरेको छ । धुम्रपान गर्नेले आफू मात्र हैन आफू नजिककालाई पनि असर पारिरहेका हुन्छन् ।

यसको साथसाथै विश्व स्वास्थ संगठनले सुर्तीजन्य प्रदार्थको प्रयोग घटाउन मदत गर्ने छवटा मुख्य क्षेत्रहरू बनाएको पाइन्छ । त्यसमा निम्नलिखित कुराहरू उल्लेख भएको पाइन्छ । जसमा पहिलो अनुगमन भन्नाले सुर्तीजन्य प्रदार्थको प्रयोग र रोकथामका नीतिहरूको निरीक्षण गर्नु, त्यसै गरी दोस्रो संरक्षण भन्नाले मानिसहरूलाई सुर्तीजन्य पदार्थको धुवाँबाट संरक्षण गर्नु, त्यस्तै गरी अर्को तेस्रो प्रस्ताव भन्नाले सुर्तीजन्य प्रदार्थको प्रयोग छोड्ने प्रोत्साहनको प्रस्ताव गर्नु, चौथो चेतावनी भन्नाले सुर्तीजन्य प्रदार्थको प्रयोगका खतराहरूको बारेमा चेतावनी दिनु, त्यसरी नै पाँचौँ लागू गर्नु भन्नाले सुर्तीजन्य प्रदार्थको विज्ञापन, प्रचार र प्रायोजनमा प्रतिबन्ध लागूगर्नु र छैटौँ वृद्धि गर्नु भन्नाले सुर्तीजन्य प्रदार्थमा कर बढाएर महँगो पार्नु । जसले गर्दा महँगो धुम्रपान भएको खण्डमा उपभोगमा कमी अवश्य आउने हुन्छ । जसले गर्दा एकातिर राजस्वको वृद्धिको साथसाथै उपभोग पनि घट्न जाने हुन्छ ।

विश्वका कतिपय विकसित तथा अविकसित देशहरू जापान, जोर्डन, दक्षिण अफ्रिका, बोस्टावाना, भारत सबैले सुर्तीजन्य विषयमा गौण पुनरावलोकन गरी प्रगतिशील कानुन ल्याएका छन् । उक्त सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ अनुसार सुर्तीजन्य पदार्थको उपयोग र बेचबिखन सार्वजनिक स्थलमा गर्न पाइन्न । सार्वजनिक स्थल भन्नाले शिक्षण संस्था, सरकारी कार्यालय, विमानस्थल, भोजनालय, सार्वजनिक सवारीसाधन, सार्वजनिक शौचालयलाई परिभाषित गरिएको छ । सार्वजनिक स्थलको एक सय मिटरवरपर सुर्तीजन्य पदार्थ बेचबिखन गर्न पाइन्न । फलतः विश्वमा वर्षेनी सुर्तीजन्य पदार्थबाट दुई सय अर्ब डलरभन्दा बढी राजस्व संकलन हुने गरेको तथ्यांक छ । तर यसको नियन्त्रणका लागि एक प्रतिशत पनि खर्च गरेको पाइँदैन ।

विश्व स्वास्थ्य सङ्गठनअनुसार ७४ वटा मुलुकले अझैसम्म स्वास्थ्य संस्था र शिक्षण संस्थामा सुर्तीजन्य पदार्थको प्रयोगको प्रतिबन्ध लगाउन सकेका छैनन् । विश्वमा भुटान मात्र एउटा यस्तो राष्ट्र हो जहाँं सुर्तीजन्य पदार्थ पूर्णरूपमा प्रतिबन्ध छ । नेपाल धूमपान र सुर्तीजन्य पदार्थका सेवनकर्ता धेरै भएका देशमध्ये पर्छ । एक तथ्यांकअनुसार नेपालमा सुर्तीजन्य पदार्थको सेवन गर्ने १० देखि १४ वर्षको बच्चाहरू २१ हजार छन् भने ३० लाख ४६ हजार १५ वर्ष माथि उमेरका छन् । यसै कारणले गर्दा धूमपान र सुर्तीजन्य पदार्थको सेवनबाट हुने रोगीहरूको संख्या दिनप्रति दिन बढ्दै गइरहेको छ ।

देशमा गत वर्षदेखिको कोभिड–१९ को आर्थिक प्रभाव र अहिलेको उल्लिखित अवस्थाका कारण सरकारको राजस्व संकलनमा पनि गम्भीर असर पर्ने सम्भावना छ । यसको साथसाथै कर बढाउने क्षेत्रको पहिचान गरेर सरकारलाई सुझाव र सिफारिस गरिरहेको छ, बहस पैरवी गरिरहेको छ । यही समयमा सरकार राजस्व वृद्धि गर्न कर लगाउने क्षेत्रको खोजीमा रहेको हुनसक्छ । त्यसैले यो सिफारिस समय सापेक्ष देखिन्छ ।

यद्यपि, सुर्तीजन्य पदार्थमा लाग्ने कर जुन अनुपातमा बढ्नुपर्ने थियो, त्यो अनुपातमा बढ्न सकेको छैन । त्यसले गर्दा पनि यो समस्या विकराल भयो । यसरी अर्कोतिर हेर्ने हो भने यसको मुख्य कारण भनेको उपभोक्ताहरू सचेत हुन सकेनन् । जसले गर्दा हाल सबैभन्दा बढी नसर्ने रोगको कारण सुर्तीजन्य पदार्थ देखिएको छ । त्यसरी नै क्यान्सरलगायत धेरैजसो नसर्ने रोगको कारण सुर्तीजन्य पदार्थ नै हो । हालका वर्षहरूमा वर्षेनी २७ हजारभन्दा बढीले सुर्तीजन्य पदार्थको सेवनका कारण उब्जेका रोगबाट मृत्युवरण गरिरहेका छन् ।

समग्रमा भन्नुपर्दा अहिलेको कोरोना माहामारीमा पनि धेरै जसो सुर्ती सेवनका कारण मुटुरोग, फोक्सो र क्यान्सर लागेकाहरू नै बढी सिकार भइरहेका देखिन्छन् । त्यसकारण यस्तै प्रकोपको घडीमा यस्ता हानीकारक, शरिरनाशक पदार्थहरूको सेवन घटाउनेतर्फ सरकारको मुलध्यान केन्द्रित गर्नु जरुरी देखिन्छ । सरकारले ठोस रूपमा त्यसतर्फ कदम चाल्नु आवश्यक देखिन्छ ।

अतः मुलुक कुरा गर्ने हो भने सन् २०२० मा गरिएको एक सर्वेक्षणअनुसार सुर्तीजन्य पदार्थको प्रयोग दर ३२ प्रतिशत रहेको छ । यसको अर्थ सय जना नेपालीमध्ये ३२ जनाले सुर्तीजन्य पदार्थको सेवन गर्दछन् । यसरी ३२ प्रतिशत आफैँमा अन्य देशको तुलनामा अत्यधिक मात्रा पनि हो । यो सेवनकर्ताको दर महिलामा भन्दा पुरुषमा चार गुणा धेरै छ भने शिक्षाबाट वञ्चित वर्गमा धेरै छ । यसमा पनि खासगरीकन निम्न र मध्यम आय वर्गमा सुर्ती सेवनको दर ८० प्रतिशत पाइएको थियो ।

विश्वको सन्दर्भमा हेर्ने हो भने हाम्रो देश सुर्तीजन्य पदार्थमा धेरै कम कर तिर्ने देशको सूचीमा पर्दछ, जुन ३० प्रतिशतको हाराहारीमा छ । जबकि संयुक्त राष्ट्रसंघले कम्तीमा ७० प्रतिशत हुनुपर्छ भन्ने सिफारिस गर्दछ । दक्षिण एसियाको मात्र कुरो गर्दा सबैभन्दा बढी कर लगाउने पहिलो देश बंगलादेश ७१ प्रतिशत, दोस्रोमा श्रीलंका ६६ प्रतिशत, भारत तेस्रो ५४ प्रतिशत र नेपाल सबैभन्दा कम कर ३० प्रतिशत कर लगाउने देशमा पर्दछ ।

हाल संसारभर सताइरहेको विश्व महामारीको चपेटामा परिसकेपछि विश्वका धेरै देशहरूले सुर्तीजन्य पदार्थको व्यापार उपयोगमा नियन्त्रण गर्ने अवसरको रूपमा लिएका छन् र धेरै नयाँ–नयाँ पहलहरू ल्याइरहेका छन् । किनकि कोरोना भाइरसले ज्यान लिएकाहरूमा अधिकांश सुर्तीसेवन गर्नेहरू नै छन् । तसर्थ कोरोनाभाइरसको लक्ष्य फोक्सो हो र सुर्तीजन्य पदार्थ धुवाँवालाको प्रत्यक्ष असर पनि फोक्सोमा नै पर्ने हुन्छ ।

यसरी सुर्तीजन्य पदार्थले गर्दा मृत्यु हुनेहरूमा ५३ प्रतिशत मुटुसम्बन्धी रोगहरूको कारणले, २१ प्रतिशत श्वास–प्रश्वाससम्बन्धी रोगहरूको कारणले, १२ प्रतिशत अन्य सर्ने र नसर्ने रोगका कारणले र ८ प्रतिशत क्यान्सर रोगको कारणले मृत्यु हुनेगर्छ । धुमपानजस्ता अखाद्य वस्तुलाई कर लगाएर नियन्त्रण गर्न अपरिहार्य छ भने देशलाई सम्मुन्नत बनाउन युवाको भर चाहिएको छ, समयमा नै सरकारको हेक्का रहोस् ।


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया