Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसन्दर्भ : राष्ट्रिय धान दिवस, दिगो धान उत्पादन : एक सफलताको कथा

सन्दर्भ : राष्ट्रिय धान दिवस, दिगो धान उत्पादन : एक सफलताको कथा


काठमाडौं ।
पृष्ठभूमि : चामल भनेको जन्मदेखि मृत्युसम्म र मृत्युपछि श्राद्ध गर्दा पनि आवश्यक पर्दछ । धानलाई खाद्यान्नबालीको राजा पनि भन्ने गरिन्छ । भात सबैको प्रिय भोजन हो । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटमा महाराज शुद्धोधनको पालादेखि राजाले सुनको हलोले खेत जोतेर पहिलो पटक वर्षेबाली धान रोप्ने प्रचलन रहेको किंवदन्ती पाइन्छ ।

नेपालमा पनि संयुक्त राष्ट्र संघले घोषणा गरेअनुसार अन्तर्राष्ट्रिय धान वर्ष सन् २००४ मनाउने सिलसिलामा कृषि क्षेत्रबाट विभिन्न प्रकारका जनचेतना जगाउने कार्यक्रमहरू सञ्चालन गरिएको थियो । यस स्तम्भकारको विशेष पहलमा नेपाल सरकारको २०६१ साल मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार अब आइन्दा प्रत्येक वर्षको असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने घोषणा पनि भएको थियो । सोहीअनुसार २०७८ साल असार १५ गते मंगलबार १८औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत रहेको बाली विज्ञान महाशाखा, खुमलटार, ललितपुरमा धान उत्पादनमा वृद्धि : खाद्यसुरक्षा, आत्मनिर्भरता र समृद्धि भन्ने नारासहित मनाउने निर्णय भएको छ ।

कोभिड १९ (भाइरस) रोगसम्बन्धी नेपाल सरकारले निर्देशन गरेअनुसार सतर्कता अपनाई देशभर १८औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउनुहुन हार्दिक अनुरोध गरिन्छ । संयुक्त राष्ट्र संघको घोषणापश्चात् संसारमा प्रत्येक वर्ष निरन्तररूपमा राष्ट्रिय धान दिवस मनाउने देश नेपाल मात्र हो ।

अब धानसम्बन्धी केही तथ्यांकहरूको विश्लेषण गरौँ । नेपालले साठीको दशकतिर प्रत्येक वर्ष भारतलाई ४५ मिलियन अमेरिकन डलरबराबरको धान, चामल निर्यात गर्दथ्यो भने सन् २०१५ मा आएर नेपालले भारतबाट दुई सय १० मिलियन अमेरिकन डलर बराबरको पाँच लाख ३१ हजार मेट्रिक टन धान, चामल आयात गरेको थाहा हुनआएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३।२०७४ मा २३ अर्ब ८७ करोड, आर्थिक वर्ष २०७४।२०७५ मा २९ अर्ब ५३ करोड, आर्थिक वर्ष २०७५।२०७६ को पछिल्लो १० महिनामा २७ अर्ब ९० करोड, आर्थिक वर्ष २०७६।२०७७ को पछिल्लो १० महिनामा १८ अर्ब र चालू आर्थिक वर्षको पछिल्लो ११ महिना (जेठ मसान्त) सम्म ३५ अर्बभन्दा बढिको चामल आयात भएको देखिन्छ । हाल आएर नेपालमा चामलको आयात बढिरहेको छ । आयात विशेषगरी भारतबाट हुनेगरेको छ र सो सस्तो पनि छ ।

अर्को तथ्यांकबमोजिम नेपालले भारतबाट २०७७ साल साउनको दोस्रो हप्तादेखि २०७८ साल वैशाख पहिलो हप्तासम्म ३९ अर्बबराबरको पाँच लाख ४६ हजार मेट्रिक टन चामल आयात गरेको थियो । विगत वर्ष यही समयमा ६४ प्रतिशत कम अर्थात् २३ अर्बबराबरको २ लाख ४७ हजार मेट्रिक टन चामल आयात भएको थियो । यस आर्थिक वर्षको पछिल्लो ९ महिनामा नेपालले चामलको आयातबाट ३ दशमलव शून्य ५ अर्ब राजस्व असुलेको छ । भारतको साथै चीन, थाइल्यान्ड, जापान र अमेरिकाबाट पनि चामल आयात हुनेगरेको थाहा हुनआएको छ ।

केन्द्रीय बैंकले जनाएअनुसार यस आर्थिक वर्षको पछिल्लो ७ महिनामा १८ अर्बको चामल आयात भएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७।२०७८ को पछिल्लो ६ महिनामा भारतबाट ३० करोड र अमेरिकाबाट सात लाख ३३ हजार किलोग्राम चामल नेपाल भित्रिएको छ । भन्सार विभागअनुसार सन् २०७६।२०७७ मा १७ हजार सात सय ११ मेट्रिक टन कनिका आयात भएकोमा सो परिमाण तीन सय ५० प्रतिशतले बढेर आर्थिक वर्ष २०७७।२०७८ मा ८२ हजार एक सय ८७ मेट्रिक टन पुगेको पाइयो । विगत ३० वर्षमा नेपालको धान उत्पादकत्व त्यति धेरै बढेको छैन ।

सन् १९९० मा २ दशमलव ४ टन प्रतिहेक्टरबाट हाल आएर ३ दशमलव ८ टन प्रतिहेक्टर मात्र बढेको छ । विगत ५४ वर्षलाई समीक्षा गर्दा नेपालमा धानको उत्पादकत्व वृद्धि १ दशमलव ५ प्रतिशत थियो भने जनसंख्या वृद्धि भने २ दशमलव ३ प्रतिशत भएको पाइयो । केही वर्ष अगाडि प्रतिवर्ष प्रतिव्यक्तिको चामलको खपत ९० किलोग्राम भनेर हिसाब गरिन्थ्यो तर हाल आएर चामलको खपत करिब एक सय ३८ किलोग्रामले हिसाब गरिन्छ । नेपाल सरकारले ५ वर्षभित्र देशलाई चामलमा आत्मनिर्भर गराउने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७७।२०७८ बमोजिम नेपालमा १४ लाख ७३ हजार हेक्टरमा धानखेती भई ५६ लाख २२ हजार मेट्रिक टन उत्पादन भएको थियो र उत्पादकत्व भने तीन हजार आठ सय १५ किलोग्राम प्रतिहेक्टर रहेको थियो । यस वर्षको तथ्यांकअनुसार धानको उत्पादकत्व एवं उत्पादन दुवैलाई रेकर्डको रूपमा लिन सकिन्छ । आर्थिक वर्ष २०७६।२०७७ बमोजिम नेपालमा १४ लाख ५९ हजार हेक्टरमा धानखेती भई ५५ लाख ५० हजार मेट्रिक टन उत्पादन भएको थियो र उत्पादकत्व भने तीन हजार आठ सय चार किलोग्राम प्रतिहेक्टर रहेको थियो । आर्थिक वर्ष २०७६।२०७७ को विगत १० महिनामा १८ अर्ब रुपैयाँबराबरको चामल आयात भइसकेको छ ।

आर्थिक वर्ष २०७५।२०७६ अनुसार नेपालमा १४ लाख ९१ हजार हेक्टरमा धानखेती भई ५६ लाख १० हजार मेट्रिक टन रेकर्ड उत्पादन भएको थियो र उत्पादकत्व भने तीन हजार सात सय ६० किलोग्राम प्रतिहेक्टर थियो । आर्थिक वर्ष २०७५।२०७६ मा रेकर्ड धान उत्पादन भएको वर्ष पनि आवश्यकताभन्दा करिब १० लाख टन धानको कमी भएको पाइयो । विदेशिएका लाखौँ युवाहरू नेपाल फर्किएका छन् र अब उनीहरूलाई पनि खुवाउन प-यो । श्रमशक्ति थपिएकाले बाँझो जमिनमा कमी आउन सक्छ ।

आर्थिक वर्ष २०७५।२०७६ को विगत १० महिनामा २७ अर्ब ९० करोड रुपैयाँबराबरको चामल आयात भइसकेको थियो । आर्थिक वर्ष २०७४।२०७५ मा विश्व बैंकले छ दशमलव ३ प्रतिशत आर्थिक वृद्धिदर भएको जनाएको थियो । आर्थिक वर्ष २०७४।२०७५ मा नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशत थियो भने आर्थिक वर्ष २०७५।२०७६ मा ६ दशमलव ८१ प्रतिशत रहेको थियो ।

नेपालमा २०२९ सालतिर मेची, कोशी, सगरमाथा, जनकपुर नारायणी, लुम्बिनी, सुदूरपश्चिम र पछि सेती (महाकाली अञ्चल गरी ८ वटा धान/चामल निर्यात कम्पनीहरू स्थापना गरिएको थियो । सन् १९७५ मा ती आठवटा कम्पनीहरूले ५५ हजार दुई सय ९० मेट्रिक टन धान/चामल निर्यात पनि गरेका थिए । ती कम्पनीहरूले मुख्य रूपमा स्वदेशी धान/चामल सात वर्षसम्म निर्यात गरेका थिए, आठौँ वर्षमा त नेपालले धान/चामल आयात गर्न थाल्यो र २०३८ सालमा आएर सबै धान/चामल निर्यात कम्पनीहरू बन्द पनि गरियो ।

संयुक्त राष्ट्र संघको साधारणसभाले सेप्टेम्बर २०१५ मा विनागरिबी, शून्य भोकमरी, असल स्वास्थ एवं सबैको भलाइ, गुणस्तरीय शिक्षा, लैंंगिक समानता, स्वच्छ पानी एवं सफासुघर अपनाउन सकिने एवं स्वच्छ ऊर्जा, राम्रो काम गर्ने वातावरण एवं आर्थिक विकास, उद्योग, अन्वेषण एवं पूर्वाधार, असमानतालाई घटाउने, दिगो सहर एवं समुदाय, जिम्मेवारी खपत एवं उत्पादन, जलवायु परिवर्तनबारे सकारात्मक कार्यान्वयन, जमिनमुनिको जीवन, जमिनमाथिको जीवन, शान्ति एवं बलियो न्यायमूलक संस्था र उद्देश्य प्राप्तिको लागि सहभागितासम्बन्धी सन् २०३० सम्मको लागि कसैलाई पछाडि नपार्ने सिद्धान्त लिएर, हाम्रो संसारलाई परिवर्तन गर्ने १७ वटा समष्टिगतरूपमा दिगो विकास कार्ययोजना– एसडीजी (एजेन्डा) पारित गरेको थियो ।

विषेशगरी कृषि क्षेत्रलाई मनन गर्दा एजेन्डा नम्बर २, शून्य भोकमरीलाई विशेष एवं दिगो रूपमा लिन सकिन्छ । वर्तमान एवं भविष्यका सन्ततिहरूलाई सकारात्मक वातावरणीय दृष्टिकोणले दिगोरूपमा खुवाउन, आयआर्जन गर्नसक्नु नै यस लेखको प्रमुख मुद्दा रहेको छ । कुनै पनि विषयमा कृषि क्षेत्रको बहस गर्दा आदर्श एवं व्यावहारिकताजस्ता दुई शब्दलाई हामीले कदापि बिर्सनु हुँदैन । जस्ले पनि आदर्शभन्दा त व्यावहारिकतालाई छान्दछन, होइन त ? यस लेखका स्तम्भकारले व्यावहारिक हिसाबले कसरी दिगो रूपमा धान उत्पादन गर्न सकिन्छ भन्ने विषयलाई केन्द्रबिन्दुमा राखेर शब्दले होइन कि कामले नै आफूले आफैं व्यावहारिकरूपमा गरेको कामको आधारमा विशेष प्रकाश पारेका छन् । देशमा खाद्यान्नबालीहरूमध्ये उत्पादन र क्षेत्रफलको हिसाबले धानबाली एक नम्बरमा आउँछ । संसारभरकै धान उत्पादन विशेषगरी मनसुनमा भरपर्ने गरेको पाइएको छ ।

साधारणतया धानको उत्पादन राम्रो भयो भने नेपालको आर्थिक स्थिति, आर्थिक वृद्धिदर नै माथि जान्छ र धानको उत्पादन घट्यो भने आर्थिक स्थिति तल खस्कन्छ । नेपालमा धान सुरक्षा भनेको नै खाद्य सुरक्षा हो । कुल खाद्यान्न उत्पादनमा धानको ५० प्रतिशतभन्दा बढी योगदान हुनेगरेको छ । विश्वको आधाभन्दा बढी जन संख्याको मुख्य खाना नै चामल हो ।

धानको ९० प्रतिशतभन्दा बढी उत्पादन र खपत एसियाली देशहरूमा हुनेभएकोले धानले एसियालीहरूलाई एक स्थानमा ल्याउन सेतुको काम पनि गर्दछ । फेरि एसियाली देशहरूमा उत्पादन हुने जम्मा धानको ५० प्रतिशत जति त चीन र भारतले मात्र उत्पादन गर्नेगरेका छन् । तसर्थ यी दुई देशहरूमा धानको उत्पादन घट्यो भने संसारभरि चामल उपयोग गर्ने देशहरूबीच नै हलचल पैदा हुन्छ । त्यसैले धानबालीको अनुसन्धान र विकास कार्यक्रमलाई देशले प्राथमिकता दिनु अति नै जरुरी छ ।

बढ्दो जनसंख्या, घट्दो खेतीयोग्य जमिन र खस्कँदो माटोको उर्वराशक्तिबाट दिगोरूपमा उत्पादन र उत्पादकत्व बढाउन नयाँ जात, सन्तुलित एवं एकीकृत पोषक तत्व व्यवस्थापन, सिँचाइ, पढेर, परेर, गरेर सफलतापूर्वक आफ्नो क्षमता प्रदर्शन गरिसकेका विज्ञको उपयोग र खेती गर्ने तौरतरिकाले ठूलो भूमिका खेल्न सक्दछ । एक किलो नाइट्रोजनले २० किलोग्राम धान उत्पादन गर्दछ । तसर्थ ज्ञान, विज्ञान, प्रविधि, अन्वेषणको आधारमा धानखेती गरिनुपर्दछ ।

आर्थिक वर्ष २०७५।२०७६ अनुसार नेपालमा ५६ लाख १० हजार मेट्रिक टन ऐतिहासिक धान उत्पादन भएको थियो । तर पनि देशलाई करिब १० लाख मेट्रिक टन धान अपुग रहेको थियो । आर्थिक दृष्टिले भन्ने हो भने नेपालमा धान उत्पादन र सहउत्पादन सामग्री गरी एक खर्ब ५० अर्ब रुपैयाँभन्दा बढीको हुनआउँछ ।
धानबालीमा हरियो मलको रूपमा ढैँचाको प्रयोग ढैँचालाई घन्सी, मनेजरको नामहरूले पनि चिनिन्छ । ढैँचालाई धानबालीको परममित्रको रूपमा चित्रण गर्न सकिन्छ । यो कुरा अध्ययन, अनुसन्धान, परीक्षणद्वारा संसारभर ध्रुवसत्य भइसकेको छ । ढैंँचा एक उपयोगी, व्यावहारिक र किफायती जैविक मल वा हरियो मलको रूपमा नाइट्रोजनको लागि दिइने युरिया मलको मात्रालाई आधा घटाए पनि धानको उत्पादकत्व बढाउन सघाउने विकल्पको काम गर्छ ।

हाल नेपालमा देखा परिरहेको रासायनिक मलको समस्यालाई मध्यनजर गरी अब ढैँचाजस्तो हरियो मललाई विशेष प्राथमिकता दिई अगाडि बढनु बुद्धिमानी ठहर्नेछ । ढैँचा करिब ५०–६० प्रकारका छन् । यसको डाँठ र हाँगाहरू नरम हुन्छन् र माटोमा पल्टाई केही चिस्यान दिएमा सजिलैसँग कुहिन्छ । हरियो अवस्थामा माटोमा मिलाई मलको काम लिइने भएकोले नै यसलाई हरियो मल पनि भनिन्छ । ढैँचाले खडेरी र जमेको पानी दुवै राम्ररी खप्न सक्छ । ढैँचाको छिप्पिएको डाँठलाई दाउरा एवं कोइला, रेशाहरूलाई डोरी बनाउन र हरियो स्याउलाहरूलाई मल र गाईवस्तुको आहाराको रूपमा प्रयोग गर्न सकिन्छ । ढैँचा खेती सबैप्रकारको माटोमा गर्न सकिन्छ ।

बढी उब्जनी लिन उन्नत बीउ, कीटनाशक औषधि उन्नत औजार आदिको साथै मल पनि एउटा मुख्य नभई नहुने तत्व हो । बोटबिरुवालाई सबै कुरा पु-याए पनि पोषकतत्व उचित मात्रामा दिन सकिएन भने त्यसले भनेजस्तै उब्जनी दिन सक्दैन । हाम्रो देशमा हाल रासायनिक मल बनाउने कुनै कारखाना छैन । विदेशबाट यस्ता मल आयात गरी हामीले काम चलाउँदै आएका छौँ । अब हामीले अरुको भर पर्ननपर्ने गाउँघरमा पाइने सामानहरूबाट आफैंले बनाउन सकिने खालको मल बनाउनतिर पनि लाग्नु अति जरुरी भइसकेको छ किनभने कहिलेकाहीँ कुनै आफूलाई जरुरी परेको बेला रासायनिक मल किनेर हाल्न पनि पाइँदैन । यस्तो अवस्थामा के गर्ने त ? हाम्रो माटोलाई त्यसै अनुत्पादक बनाई छोड्ने ? धेरै कृषकहरू मल हाल्न चाहेर पनि पैसाको अभावले गर्दा प्रयोग गर्न सक्दैनन् ।

रासायनिक मल प्रयोग गर्न प्राविधिक ज्ञान हुनु पनि अति जरुरी छ । नत्र गलत प्रयोगले पैसाको दुरूपयोग र माटो बिग्रन पनि सक्छ । विभिन्न दीर्घकालीन मलखाद परीक्षणहरूवाट प्रमाणित भइसकेको छ कि वातावरणीय दृष्टिकोण एवं दिगोरूपले माटोमा अधिक उत्पादन दिने क्षमता कायम राख्न रासायनिक मलको साथै फ्युजन गरी जैविक मल पनि दिनु अति जरुरी छ ।

नयाँ प्रविधि अपनाई एक वर्षमै दुई या तीन विकासी बालीहरू लिन थालेका छौँ र जमिनलाई एकछिन पनि फुर्सद दिँदैनौं । यस्तो अवस्थामा माटोलाई यथेष्ट मात्रामा पोषक तत्व दिइरहनु जरुरी छ । हामीले हाम्रो जमिनमा खेती गर्नथालेको २५/५० या भनौँ सयौँ वर्ष भइसक्यो । हामी प्रत्येक वर्ष उब्जनी घट्दै छ भन्छौँ तर लिने मात्र नगरी माटोलाई दिने बानी पनि बसालौँ । नयाँ जंगल फँडानी गरेको ठाउँमा केही वर्षसम्म मल नदिए पनि उब्जा राम्रै हुन्छ । हामीले माटोलाई हाल अन्याय गरिराखेका छौँ । एकातिर रासायनिक मल हाले माटो बिग्रन्छ भन्छौँ र अर्कोतिर सिफारिस गरेभन्दा कम र असन्तुलित मल दिन्छौँ या दिँदैदिँदैनौँ र फेरि उत्पादन यथावत वा घटिरहेछ पनि भन्छौँ ।

हाल हाम्रो माटोले लामो समयसम्म दिगो रूपमा उत्पादन कायम गर्न नसक्ने भइसकेको छ । अब जमिन बढाएर उत्पादन बढाउने गुञ्जायस छैन । त्यसैले हामीले कुनै न कुनै प्रविधि अपनाई पूरा खेती प्रणालीको दृष्टिकोणले प्रतिहेक्टर प्रतिदिनको उत्पादकत्व पो बढाउनुपरेको छ । विकसित देशका कृषकहरूको तुलनामा नेपाली कृषकहरूको आर्थिक दुष्टिलाई समेत मध्यनजर राखी पैसा नै नपर्ने प्रविधि, कम खर्चिलो या धेरै पैसा नपर्ने प्रविधिहरू विकास गर्नु समयानुकूल देखिन्छ । माटोको उर्वरा शक्ति कायम राख्न हामीले हाम्रो स्वास्थ्यलाई ध्यान राखेजस्तै माटोको स्वास्थ्यलाई पनि राम्ररी हेर विचार गर्नुपर्छ ।

माटोको स्वास्थ्य कायम राख्न अन्य धेरै उपायहरूको साथै नेपालको तराईजस्ता गरम भू–भागहरूमा ढैँचाले हरियो मलको रूपमा ठूलो योगदान दिन सक्छ । ढैँचाको प्रयोग गर्नाले सिफारिस गरेअनुसार धानबालीमा नाइट्रोजनको मात्रा आधा हाले पनि सन्तोषजनक उत्पादन लिन सकिन्छ । साधारणतया विकासे अथवा उन्नत जातका धान, मकै, गहुँबाली प्रत्येकको लागि प्रतिहेक्टर करिब एक सय किलोग्राम नाइट्रोजन, ६० किलोग्राम फोस्फोरस र ४० किलोग्राम पोटास हाल्न कृषि अनुसन्धानद्वारा सिफारिस गरिएको छ ।

ढैँचाले करिब ५० किलोग्राम नाइट्रोजनको बचत गराउन सक्छ भन्ने कुरा २०/२५ वर्षसम्म यस स्तम्भकारको अनुभवले धनुषा जिल्लास्थित हर्दिनाथ कृषि फार्म (हाल राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम)मा बृहत् क्षेत्रमा गरिएको अध्ययन, अनुसन्धानबाट पनि प्रमाणित भइसकेको छ । जस्तै नेपालको हालको राष्ट्रिय औसत धानको उत्पादकत्व तीन हजार पाँच सय किलोग्राम प्रतिहेक्टर छ भने हर्दिनाथ कृषि फार्मको करिब चार हजार टन प्रतिहेक्टर पाइएको थियो ।

हर्दिनाथ कृषि फार्ममा जैविक, हरियो मलको रूपमा ढैँचा र रासायनिक मल दुवैलाई मिलाई, फ्यूजन गरी धानबालीमा एकीकृतरूपमा पोषक तत्व, खाद्यतत्व दिने गरिएको थियो । यसलाई व्यावहारिक एवं दिगोरूपमा सफलताको कथा, गाथा पनि भन्न सकिन्छ । यसरी २०औँ वर्षसम्म प्रत्येक वर्ष २० हेक्टर जमिनमा धानबाली लगाउनु अगाडि ढैँचालाई हरियो मलको रूपमा प्रयोग गर्दा सिफारिस गरेअनुसार युरियाबाट दिइने नाइट्रोजन तत्वलाई ५० प्रतिशतले घटाउन सकी विदेशी मुद्राको बचावट गराउन सकियो । उल्लिखित फार्ममा ढैँचा प्रयोग गरी नाइट्रोजन ४० किलो, फोस्फोरस २० किलो र पोटास त्यस समय किन्न नै नपाइने भएकोले शून्य प्रतिहेक्टर मात्र प्रयोग गरिन्थ्यो । यो प्रविधि सामान्य कृषकहरूले पनि सहजै अपनाउन सक्छन् । साथै २०औँ वर्षदेखि अटुटरूपमा सरदर प्रत्येक वर्ष दिगो रूपमा यस स्तम्भकारले पाँच वर्षसम्म फार्म मेनेजर भई काम गर्दा एक सय २० टन गुणस्तरीय धानको मूल बीउ उत्पादन गर्न सक्षम भए जुन परिमाण नेपालमा तत्कालीन कृषि सामग्री संस्थानले प्रत्येक वर्ष बिक्री गर्ने धान बीउको ३० देखि ४० प्रतिशत हुनआउँथ्यो ।

पाँच वर्ष यस स्तम्भकारले हर्दिनाथ कृषि फार्ममा फार्म मेनेजरको रूपमा यसरी खेती गराउँदा छ सय टन धानको बीउ उत्पादन गर्न सफल भएको र हालको मूल्यमा छ सय टन धानको मूल बीउ भनेको करिब छ करोड रुपैयाँभन्दा बढीको हुन आउँछ । युरिया मल र ढैँचा दुवैलाई नाइट्रोजनको रूपमा एकीकृत वा फ्युजन गरी प्रयोग गर्दा माटो बीउको स्वास्थ राम्रो भयो र खेती पनि दिगो भयो ।

यिनै कुराहरूलाई मध्यनजर राखी यस प्रविधिलाई हामी वातावरणीय दृष्टिकोणले व्यावहारिक रूपमा नै ठोकुवा दिएर दिगो खेती भन्न सक्छौँ । यो दीर्घकालीन सफल प्रविधि अरुको लागि पनि उदाहरणीय एवं अनुशरणीय छ । फेरि नौ सय रोपनी क्षेत्रफल भएको त्यस बृहत् हर्दिनाथ कृषि फार्म (हाल राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम) मा एक दिन पनि जमिन खाली नराखी कृषि यान्त्रीकरण गरी वर्षमा दुई बाली धान र हिउँदे बाली गरी तीन बाली सघन रूपमा लिने गरिन्थ्यो ।

जैविक मल भनेको के हो ? मानिसहरूलाई सबैभन्दा धेरै खानामा भातको जरुरी परेजस्तै बिरुवाहरूलाई नाइट्रोजन भन्ने तत्व अति जरुरी पर्छ जसले गर्दा बिरुवा हलक्क बढ्ने र हुर्कने गर्छ । नाइट्रोजनको लागि हामी युरिया (४६ प्रतिशत नाइट्रोजन पाइने) अथवा एमोनियम सल्फेट (२१ प्रतिशत नाइट्रोजन पाइने) किनेर माटोमा हाल्छौ र डाइएमोनिय सल्फेटमा त १८ प्रतिशत नाइट्रोजन र ४६ प्रतिशत फोस्फोरस दुवै तत्वहरू पाइन्छ तर हाम्रो वायुमण्डलमा पनि नाइट्रोजन पाइन्छ र सबैजसो कोसेबालीहरूको जरामा रहने गिर्खाहरूभित्र रहेका राइजोविया व्याक्टेरियाको माध्यमद्वारा उक्त वायुमण्डलीय नाइट्रोजन स्थिरीकरण गरेर या सोसेर लिन्छ र माटोको मलिलोपन कायम राख्न मदत पु-याउँछ । रीम भन्ने एक जना वैज्ञानिकले सन् १९६० मा प्रकाशन गरेको तथ्यांकअनुसार एक हेक्टर जमिनमाथि वायुमण्डलमा करिब २५ लाख अमेरिकन डलरबराबरको नाइट्रोजन पाइन्छ भनी सैद्धान्तिक अनुमान गरेका थिए ।

विशेषगरी कोसेबालीहरूमा वायुमण्डलीय नाइट्रोजन स्थिरीकरण गर्ने गुण रहन्छ र ढैँचा पनि एउटा कोसेबाली नै हो । धानको स्थानीय अथवा उन्नत जातको १५ देखि २० किलोग्राम धान उत्पादन गर्न १ (एक) किलोग्राम नाइट्रोजन आवश्यक पर्छ । एसियाली देशको धेरै जसो धान खेतमा वायुमण्डलीय नाइट्रोजनको प्रयोगले गर्दा नै एकदेखि दुई टन प्रतिहेक्टर धान उत्पादन कायम रहेको छ । यस स्तरबाट धानको उत्पादन बढाउन अरु नाइट्रोजनको जरुरत पर्दछ । नाइट्रोजन, फोस्फोरस र पोटास सबै सन्तुलितरूपमा प्रयोग गर्नु अति जरुरी छ । नेपाली कृषकहरूले प्राय नाइट्रोजनको रूपमा असन्तुलित युरिया मात्र प्रयोग गरेको पाइन्छ । यो भनेको दाल र तरकारी नखाई भात मात्र खाएको भन्ने बुुझे हुन्छ । हालसम्मको अध्ययनबाट एउटा हरियो मल माटोमा पल्टाउनाले सजिलैसँग कम्तीमा पनि औसत ५० किलोग्राम नाइट्रोजन प्रतिहेक्टर पाईन्छ भन्ने कुरा अनुसन्धानबाट प्रमाणित भइसकेको छ ।

जमिनमा ढैँचा कसरी प्रयोग गर्ने ? जुन जमिनमा ढैँचा पल्टाउने हो त्यही जमिनमा बीउ छरेर गर्न सकिन्छ जसलाई ग्रीन म्यानियोरिङ भनिन्छ । अर्कै ठाउँमा उमारिएकोे बिरुवाको पात या स्याउला काटेर ल्याई खेतमा प्रयोग गर्न सकिन्छ । जसलाई ग्रीन लिफ म्यानुयोरिङ भनिन्छ । तराईमा ५० दिनभित्र ढैँचाको करिब ३० मेट्रिक टन हुन्छ । मकैको पहिलो र दोस्रो गोडाइको समयमा ढैँचाको बीउलाई अन्तरबालीको रूपमा छरी धान रोपाइँ गर्नुअघि हिल्याउँदा ढैँचा समेत पल्टाएर हरियो मलको काम लिन पनि सकिन्छ । ढैँचा माटोमा पल्टाई कुहियाउन केही पानीको आवश्यकता पर्छ तर असिञ्चित क्षेत्रमा भने ढैचाको कम्पोष्ट बनाएर प्रयोग गरे हुन्छ । प्रायजसो ढैँचालाई माटोमा पल्टाउने समयमा वर्षा भएकै पनि हुन्छ । ढैँचालाई आलीमा लगाएर पनि हरियो मल या बीज वृद्धि गर्न सकिन्छ ।

प्रायः जसो तराई र भित्री मधेशमा चैत्रको आधाआधी वा अन्त्यतिर गहुँ काटिन्छ र धान भने साउनमा रोपाइँ गरिन्छ । यही गहुँ काट्ने र धान रोप्नेबीचको खाली समयमा ढैँचालाई हरियो मलको रूपमा उपयोग गरिन्छ । गहुँ काटेपछि ढैँचा बीउ छर्ने र सो ढैँचाको बोट ६/७ हप्ताको भएपछि जोतेर माटोमा मिलाई धान रोप्नु करिब एक हप्ताअघि सिँचाइ गरिदिने र यही ढैँचा सढेर धानलाई हरियो मलको काम गर्छ ।

ढैँचा पल्टाएको एक दिनपछि नै धान रोप्दा पनि अधिकतम उत्पादन लिन सकिने कुरा भारतमा गरिएको अनुसन्धानबाट प्रमाणित भइसकेको छ । तराई क्षेत्रमा ढैँचाको बीउबाट बीउ उत्पादन गर्न भने करिब ४–५ महिना लाग्छ । यो पनि भनिन्छ कि धानखेती गर्न माटो नै मलिलो हुनुपर्छ, गहुँलाई जरुरी छैन । धानमा हामीले त्यत्रो खर्च गरी टपड्रेस गरेको युरियाको करिब ६०–७० प्रतिशत नाइट्रोजन चुहिएर, बगेर, एमोनिया ग्यास भई उडेर नोक्सान हुन्छ र धानले त खाली ३० प्रतिशत जति मात्र खास उपयोग गर्छ । त्यसैले ढैँचाको प्रयोगले विशेषगरी माटोको सबै गुणहरू राम्रो बनाई धानको उत्पादन बढाउँछ भन्ने कुरा हाल नेपालको साथै संसारमा नै ध्रुवसत्य भइसकेको छ ।

नेपालमा नयाँ ढैँचाको प्रवेश : हाल भइरहेको सबै कोसेबालीहरूको जरामा नाइट्रोजन सोस्ने गिर्खाहरू हुन्छन् । हाल भइरहेको ढैँचाको वैज्ञानिक नाम सेसवानीया क्यानाबिना हो तर यस स्तम्भकारले सन् १९८५ मा नेपालमा प्रथम पटक भित्र्याएका नयाँ ढैँचा सेसवानीया रोष्ट्रामा भने जराको साथै जमिनको माथि नै डाँठ र हाँगाहरूमा समेत राइजोविया व्याक्टेरिया हुने भएकोले वायु मण्डलीय नाइट्रोजन बढी मात्रामा सोस्न सक्छ भन्ने कुरा ठोकुवा दिएर भन्न सक्छौँ ।

सेनेगल देशमा अनुमान गरेअनुसार नयाँ ढैँचाले दुई सय ६७ किलोग्राम वायुमण्डलीय नाइट्रोजन (छ सय किलोग्राम युरियाबराबर) प्रतिहेक्टर स्थिरीकरण गर्नसक्छ । जसमध्ये एक तिहाइ खण्ड धानले उपयोग गर्छ बाँकी दुई तिहाइ भागपछिको बालीहरूले उपयोग गर्छन् । फिलिपिनस्थित अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था आईआरआरआई र बंगलादेशमा गरिएको परीक्षणअनुसार नयाँ ढैँचाले क्रमशः दुई सय र दुई सय ५२ किलोग्राम प्रतिहेक्टर नाइट्रोजन स्थिरीकरण गर्नसक्ने पाइएको छ ।

निष्कर्ष : विश्व एवं नेपालको परिप्रेक्षमा व्यावहारिक वातावरणीय दृष्टिकोण र दिगो खेतीको हिसाबले ढैँचाजस्तो जैविक मललाई प्राथमिकता दिनु अति आवश्यक एवं समयानुकूल देखिन्छ । त्यसमा पनि डाँठ र हाँगाहरूमा समेत वायुमण्डलीय नाइट्रोजन स्थिरीकरण गर्नसक्ने क्षमता भएको राइजोविया व्याक्टेरिया हुने गिर्खाहरू भएको सेसवानिया रोष्ट्राटाको विस्तृत सम्भाव्यता अध्ययन अन्य ठाउँहरूमा पनि व्यापकरूपमा हुनु अति जरुरी छ । स्रोत बीउ केही मात्रामा केही फार्म, केन्द्रहरूले बिक्री गर्नसक्छन् । बीउ उत्पादन गर्दा दाउरा, जर्ना पनि प्रशस्त उत्पादन हुन्छ र जर्ना भनेको तराईको लागि बहुमुल्य सम्पत्तिजस्तै हुन्छ ।

हालसम्म परीक्षण भएअनुसार यो नयाँ ढैँचा सर्वोत्तम छ र यसमा नाइट्रोजन सोस्ने गिर्खाहरू अरुभन्दा पाँचदेखि १० गुणा बढी हुन्छ । दीर्घकालीनरूपमा सोच्ने हो भने जैविक मललाई रासायनिक मलको साथ संयुक्तरूपमा मिलाई अथवा फ्युजन गरी प्रयोग गर्नाले माटोको स्वास्थ्य कायम नै राखी दिगोरूपमा धानबालीको उत्पादकत्व बढाउन सकिन्छ । जैविक मलले रासायनिक मल हटाउने होइन तर घटाउने काम अवश्य पनि गर्छ ।

रासायनिक मलमा जैविक मल मिलाई अथवा फ्युजन गरी प्रयोग गर्नाले सुनमा सुगन्ध थपेजस्तो हुन्छ । जो कृषकले रासायनिक मल प्रयोग गरेकै छैन निजको लागि पनि ढैँचाजस्तो जैविक मल वरदानसिद्ध हुनेछ । एक पटक खेतमा ढैँचा प्रयोग गरेपछि कृषक स्वयंले प्रयोगात्मक रूपमा ढैँचाको महत्व बुझ्नेछन् । नेपालमा हाल विकराल रूपमा देखा परिरहेको रासायनिक मलको हाहाकार टार्न हरियो मलको रूपमा ढैँचा प्रयोग गर्नसके केही मात्रामा समस्या समाधान हुनसक्ने थियो भन्ने कुरा यस स्तम्भकारको रहेको छ । (वरिष्ठ धानबाली विज्ञ, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट अवकासप्राप्त)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया