Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमानव स्वास्थ्यमा : लागुपदार्थको असर

मानव स्वास्थ्यमा : लागुपदार्थको असर


काठमाडौं । मानव समुदायलाई तनावमा पारिरहेको सबैभन्दा विशाल र डरलाग्दो विषय लागुपदार्थ हो । लागुपदार्थहरू मद्यपान र धुम्रपानभन्दा हजारौँ गुणा हानिकारक र खतरनाक छ । मद्यपान र धुम्रपानले त बरु केही वर्षमा गएर रोगहरू जन्माउँछन् भने लागुपदार्थहरूले तुरुन्तै असर गर्दछन् । यी पदार्थहरू यति खतराजनक छन् कि २/४ पटक प्रयोग गर्दैमा बानी बसिहाल्छ । यी पदार्थहरूले रगत र शरीरमा यस्ता असरहरू छाड्छन्, जसको अभावमा सेवनकर्ता सुखमय भएर जीउन सक्दैन । यी पदार्थको दुर्व्यसनीहरूले जब यी वस्तुहरू पाउँदैनन्, उनीहरू प्रायः अचेत हुन्छन् । तब उनीहरू यी पदार्थ पाउन जे–जस्ता कार्य (अपराध) पनि गर्न तयार हुन्छन् ।

यिनीहरू यी वस्तुको सेवन गरेर मुर्दाको रूपमा सुतिरहेका हुन्छन् । जब उनीहरू निद्राबाट ब्युँझिन्छन्, फेरि यही पदार्थ सेवन गर्न उद्यत हुन्छन् । स्म्याक, ब्राउन सुगर, एलएसडीजस्ता कैयौँ नामका लागुपदार्थहरू आजकल प्रयोगमा ल्याइएका छन् । यस्ता पदार्थहरू तरल र इनजेक्सनका रूपमा पनि प्रयोगमा ल्याइएका छन् । १९६० को दशकमा व्यस्त जीवनबाट छुट्कारा पाउन चाहने पश्चिमी देशका युवायुवतीहरू पर्यटकको रूपमा नेपाल आउनु र साथमा विभिन्न किसिमका लागुपदार्थ भित्रिनु साथै पश्चिमी भन्नासाथ अन्धाधुन्ध अनुकरण गरिने परिपाटी केही नेपालीमा पनि देखिन थाल्यो ।

समाजमा चलेको मूल्य, मान्यता र व्यवहार आदिलाई वास्ता नगरी आनन्दी र बन्धनमुक्त हुने आसयले काठमाडौँको मन्दिर, गल्ली र रेष्टुँरा, होटेलमा लागुपदार्थ सेवन गरेर आफ्नै मोजमस्तीमा रम्नेगरेको व्यवहार नेपाली युवा जमातले पनि सिके । यसको नकारात्मक असरले गर्दा देशका युवापुस्तालाई समेत विस्तार विस्तार गाँज्न थाल्यो र उनीहरूको नैतिकता, धर्म संस्कृतिमाथि समेत ह्रास हुनथालेको अनुभूति हुनथाल्यो ।

यसरी अर्काको देखासिकी गर्न वा तन्द्रामा रम्न गाँजा, चरेश, हिरोइन आदि पदार्थ सेवनमा आकर्षित हुनथाल्नाले हाम्रो देशमा पनि दुर्व्यसनको समस्याले पिरोल्न थालेको देखिन्छ । यस्तै दुर्व्यसनका कारणले गर्दा एर्चआईभी/एड्स संक्रमण, चोरी, लुट, बलात्कार, हत्या, डकैती, यसको बेचबिखन, कालाबजारीजस्ता असामाजिक व्यवहार तथा अपराधले गर्दा आज आएर युवा जगत नै बदनामी र बर्बाद भएको देखिन्छ । भारतको सीमाक्षेत्रबाट विभिन्न तरिकाबाट वीरगञ्ज, जनकपुर, काकडभिट्टा, भैरहवा, विराटनगर, धनगढी, नेपालगञ्ज आदि क्षेत्रबाट ब्राउन सुगर तथा अन्य लागुपदार्थ भित्रिने गरेको छ । साथै नेपालमै पनि विभिन्न क्षेत्रमा यसको उत्पादन हुनेगरेको छ । यसको रोकथामको लागि उचित व्यवस्था नभएको व्यापक गुनासो छ । हाम्रो देशमा पनि थाहा पाउँदा नपाउँदै लागुपदार्थ सेवन गर्नेहरूको संख्या लाखौँ पुगिसकेको अनुमान गरिएको छ ।

साथै कोभिड–१९ महामारीको कारण युवाहरूमा मानसिक तनाव बढ्न गई लागुपदार्थ दुर्व्यसनमा फस्न गइरहेका छन् । सोबाट युवा जनशक्तिलाई बचाउनुपर्ने समेत ठूलो चुनौतीको रूपमा खडा भएको छ । यसै सिलसिलामा हरेक वर्ष जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसको रूपमा मनाउँदै आइएको छ । सो संयुक्त राष्ट्र संघको १९८७ को घोषणपत्रको ४२ को ११२ खण्डमा प्रस्तुत गरिएको छ । यस दिवसको मुख्य उद्देश्य विश्व समुदायमा लागुऔषधिको असर र कारोबारबाट मुक्त गर्ने हो । हाल विश्वमा वर्षेनी सोबाट लाखौँको मृत्यु र करोडौँको स्वास्थ्यमा असर पु-याएको पाइन्छ ।

मानिस चेतनशील प्राणी हो । उसको चेतनाले शरीरका सम्पूर्ण गतिविधिलाई नियन्त्रण गर्दछ । मानिसको जीवनमा घटनाक्रम सधैं एकनास रहदैंन । दुःख सुख, राम्रो नराम्रो, असल खराबजस्ता कुरादेखि लिएर सम्झने, बिर्सने, जाडो, गर्मी, खराब, तातो, चिसोजस्ता कुराले मानिसलाई सधैँ प्रभावित पार्दछ । यस्ता शारीरिक र मानसिक पीडा र कोभिड–१९ समेतको तनावलाई भुल्न तथा मुक्त गर्न लागुपदार्थ सेवन गर्ने गरेको पाइन्छ, जसले शरीरको कार्यमा नकरात्मक प्रभाव पार्दछ । यसअन्तर्गत धेरै वस्तुहरू पर्दछन् । जस्तैः अफिम, हेरोइन (स्म्याक, व्हाइट पाउडर), पेथेडिन, अफिम कोडिन, गाँजा, चरेश, कोकिन इत्यादि ।

यस्तै चेतना, मनस्थिति र व्यवहारलाई प्रभावित पार्ने अरु पनि धेरै औषधिहरू छन् । जो चक्की वा झोलमा हुन्छन् । तिनीहरूलाई मनोद्वीपक औषधि भनिए पनि लागुपदार्थ नै हुन् । फरक यति मात्र हो कि यसको सेवन र कारोबार अवैध मानिँदैन तर यसमा हाल आएर गृह मन्त्रालय, औषधि व्यवस्था विभाग र अधिकारप्राप्त सम्बन्धित डाक्टरको सिफारिसविना क्रमशः आयात, बिक्रीको लागि राख्न तथा बिरामीले प्रयोग गर्न समेत निषेध गरिएको छ । त्यसकारण मानिसको स्नायु प्रणालीलाई प्रभावित पारी चेतना, अनुभूति र मनोभावलाई विकृति आउने कुनै पदार्थ वा त्यस्तो पदार्थबाट प्रशोधित औषधिलाई नै लागुपदार्थ भनिन्छ । यी तथ्यहरूलाई हेरेर निष्कर्षमा के भन्न सकिन्छ भने लागुपदार्थ त्यस्तो पदार्थ हो जसको सेवनले सेवनकर्ताले शारीरिक र मानसिक स्थितिमा प्रभाव पारेर प्रभावबाट सेवनकर्ता लठ्ठिने, उत्तेजित हुने, बर्बराउने, उन्मुक्त हुने, शिथिल हुनेजस्ता अवस्थामा पुग्छ । यदि यस्ता लागुपदार्थ सेवनकर्ताले सेवन गर्न नपाए छट्पटिने, रुने कराउने गर्दछन् ।

हाम्रो देशमा एकातिर आमाबाबुहरूलाई बच्चा जन्माएर लालनपालन गरेर हातखुट्टा लगाइदिन एउटा ठूलो समस्या भई दैनिक हजारौँ वैदेशिक रोजगारमा भासीएका छन् भने अर्कोतिर आफ्नो छोराछोरी लागुपदार्थको कुलतमा नफसुन् भन्ने सबैभन्दा ठूलो चिन्ता तेर्सिएको अवस्थामा कोभिड–१९ को महामारीले पनि मावन स्वास्थ्यमा नै कुप्रभाव परेको अवस्था छ । लागुपदार्थको सेवन गलत लत मात्र नभएर मृत्यु पनि हो । लागू औषधी दुर्व्यसनीहरूमा यो रोग संक्रमणबाट क्षति न्यूनीकरण कार्यक्रम नेपालले हाल ल्याएको पाइन्छ । यस्ता कार्यक्रम अझ प्रभावकारी बनाउनुपर्ने हुन्छ न कि कागजी घोडा मात्रको कार्यक्रमले वास्तविकरूपमा समस्या हल नभई निहित स्वार्थमा परिणत हुनसक्छ ।

अतः नागरिक समाज, शिक्षक, विद्यार्थी, युवा, राजनीतिक दल र तिनका भातृसंगठन, राष्ट्रसेवक, वास्तविक नेपाली जनता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आदिसँग नेपाल सरकारले समन्वय गरी कार्यक्रम सञ्चालन गर्नसके लागू औषधिको सेवनले मानवलाई सामाजिक, आर्थिक एवं मानसिकरूपमा नै अपाङ्ग बनाइरहेको अवस्थामा लागूऔषधिको उत्पादनदेखि बिक्रीवितरण, ओसारपसार, दुरूपयोग र सेवनकर्ता सबै पक्षमा नियन्त्रणको प्रभावकारी नीति र संयन्त्र भई समस्या हल गर्न मदत पुग्नेछ । र नेपाललाई यसबाट बचाउनु आज हामी सबैको कर्तव्य हुनआएको छ ।

एकातिर कोभिड–१९ को महामारी र कमजोर आर्थिक स्थितिको कारण प्राण धान्न धौ–धौ परेको बेलामा र मानव समाजलाई नै जनसंख्या र आर्थिक सन्तुलन कायम गर्नुपर्ने जटिल परिस्थितिमा अर्कोतिर विध्वंशकारी धुम्रपान, मद्यपान र लागुपदार्थका असरहरू र तिनीहरूको परिणाम हामीले भोग्नुपरेको छ ।

हाम्रो प्रयास मानवलाई बचाउने र स्वस्थ्य समाजको सिर्जना गराउने दिशातिर उन्मुख हुनुपर्दछ । त्यसैले जनचेतना र सदव्यवहारजस्ता हाम्रा संकल्प र प्रयासहरूले मात्र कोरोना महामारीको व्यवस्थापनका साथै दुर्व्यसनमा रोक लगाउन सकिन्छ । खास गरेर कोरोना महामारी र लागुपदार्थ दुर्व्यसनको नियन्त्रणको लागि सरकारीस्तरबाट, व्यक्तिको आर्थिक अवस्था उठाउन राष्ट्रिय शिक्षालाई सैद्धान्तिक मात्र नभएर व्यावहारिक तथा व्यावसायिक बनाउनुपर्छ भने गैरसरकारी संघसंस्थाहरूले पनि आफ्नो क्षमताअनुसार कोरोना महामारी व्यवस्थापन गर्नसक्ने र लागुपदार्थ दुर्व्यसनीलाई हटाउन सक्ने किसिमको कार्यक्रमहरू सञ्चालन गरी व्यक्ति तथा समुदायलाई आफ्नो बारेमा सोच्न र सजग हुन सहयोग गर्नुपर्दछ । कोरोना महामारीसँगै यो लतका कारण हाम्रा देशका हजारौँ युवाहरूको स्वास्थ्यमा समस्या पु-याउनुको साथै विकराल स्थितिको सामना गर्नुपर्ने देखिन्छ ।

अतः समयमै लागुपदार्थजन्य समस्याको रोकथाम तथा उचित निराकरण गर्न संघ, प्रदेश र स्थानीय सरकारले आवश्यक पहल गर्नु आवश्यक छ । यसो भएमा मात्र हरेक वर्ष जुन २६ मा मनाइने अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसले सार्थकता पाउनेछ । (लेखकः डा. अधिकारी गुणस्तर जीवनमा विद्यावारिधि)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया