Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमाओवादी प्रवक्ताको टाउकोमा खाओवादी–काण्डका भारी

माओवादी प्रवक्ताको टाउकोमा खाओवादी–काण्डका भारी


काठमाडौं । दशैँको वरपर सत्तासञ्चालक घटकको दोस्रो ठूलो दल माओवादीका बारेमा केही भिन्न प्रकारका कुराहरु आए । एउटा त यसका अध्यक्ष आफैँले माओवादीको नामकरण खाओवादीमा गरिदिए ।

यो नामकरणले मात्रै भएन, यो दलभित्रका सबैभन्दा बढी खाओवादी भनी चिनिएका व्यक्ति यसका प्रवक्तामा नियुक्त भए । यी दृश्यहरु प्रकट भइरहँदा एक जना पूर्वसचिव (रामेश्वर खनाल) ले त दशैँको शुभकामनामा मिसाएर ‘माओवादीको समाप्ति जति छिटो, देशको प्रगति त्यति छिटो’ भन्दै आउँदो चुनावमा यो दललाई एक मत पनि नदिन नागरिकसमक्ष अपिल नै गरे आफ्नो सामाजिक सञ्जाल एकाउन्टमार्फत ।

यसअघि यो दलका अध्यक्षले पनि माओवादीको अब कुनै अस्तित्व नरहेको, केही छ भने त्यो छलछाम मात्र बाँकी रहेको बताएका थिए ।

असोजको पहिलो हप्ता (४ गते) आफ्नो पार्टीको केन्द्रीय कार्यालयमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूलाई जनताले माओवादी होइन खाओवादी भन्न थालेको जानकारी गराएका थिए । सूर्यनाथ रान यादवको स्मृति दिवसमा आयोजित कार्यक्रममा उनले ‘हामीलाई माओवादी होइन खाओवादी भन्छन्’ भनी स्वीकारेका हुन् । उनले भनेका थिए– अहिलेकै जस्तो माओवादी मुलुकलाई आवश्यक छैन, मैले भन्ने गरेको छु, यही स्थिति रह्यो भने त यो पार्टी नभए पनि के भयो र ? जनतालाई जालझेल, ठगठाग गरेर पार्टी बनाउनुभन्दा त त्यस्तो पार्टी नहुनु बरु राम्रो हो ।

अध्यक्षले नै यो पार्टी अर्थात् माओवादी जालझेल र ठगठाग गरेर पार्टी बनेको भनेर सरकार गरेको केही दिनपहिले यो पार्टीले आफ्नो प्रवक्तामा यस्ता व्यक्तिलाई छान्यो जो यो दलभित्र त भए नै देशभरबाट पनि सबैभन्दा बढी खाओवादी भनी चिनिएका थिए । जुन पार्टीको प्रवक्ता नै यस्ता हुन्छन् भने त्यो पार्टी आफैँ कति खाओवादी होला अनुमान गर्न सकिन्छ ।

यो आरोप होइन विवरणहरुले नै यसलाई पुष्टि गर्छन् । अध्यक्षले नै र करिब करिब औपचारिक रुपमा नै आफ्नो पार्टी खाओवादीमा परिणत भइसकेको भनी जानकारी गराउन थालेका समयमा नै यो दलमा प्रवक्ता फेरिए । यसका नवनियुक्त प्रवक्ता हुन् कृष्णबहादुर महरा । उनका टाउकामा कतिवटा काण्डहरु थुप्रिएका छन् भन्नेले वास्तवमा नै यो दललाई खाओवादीकै रुपमा चिनाउँछ ।

महरा यसअघि तीन पटक उपप्रधानमन्त्रीसहित छ पटक मन्त्री भएका थिए । त्यसमाथि सभामुख पनि थपियो । यी सबैपटक उनको परिचय खाओवादीकै रुपमा हुँदै आयो ।

सभामुखजस्तो अति मर्यादित पदमा रहँदा त उनी बलात्कारी नै हुनपुगे । उनी सभामुख भएको संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लाग्यो । यो २०७६ असोज १२ को कुरा हो । त्यसबापत उनी जेलमा नै परे । नैतिकताको तिलाञ्जली पनि खाओवादीको विशेष पहिचान मानिन्छ ।

महरासँग जोडिएको खाओवादी भनी चिनाउने अर्को काण्ड हो चिनियाँसँग मागेको ५० करोडको टेप काण्ड । उनले एक चिनियाँ व्यवसायीसँग ५० करोड मागेको अडियो टेप २०६७ भदौ १८ गते सार्वजनिक भयो भारतबाटै प्रसारण हुने नेपाली भाषाको एउटा टिभी च्यानल नेपाल वानमा । त्यसबेला आफ्ना नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन भनी उनले प्रधानमन्त्रीको निर्वाचनका लागि ५० सांसद खरिद गर्नुपर्ने र त्यसका लागि ५० करोड नेपाली रुपैयाँ आवश्यक परेको भनेका थिए । यो टेपवार्तामा उनले चिनियाँ नागरिकलाई ५० करोड नेपाली रुपैयाँ प्राप्त गर्नका लागि आफू सिङ्गापुर, हङकङ अथवा चीनको छेन्दु सहरमा मिटिङका लागि आउन तयार रहेको भनेर बोलेको कुरा त्यो वार्तामा स्पष्टै सुनिन्छ ।

त्यसपछि उनी केही दिन गायब पनि भए । त्यसबेला धेरैले अनुमान गरे, त्यो रकम उनले हात पारे तर यता जुन प्रयोजनका लागि सो रकम खर्च हुनुपर्ने थियो त्यो काम नै सकियो अर्थात् प्रचण्डले प्रधानमन्त्रीको उम्मेदवारी नै फिर्ता लिए ।

हेक्का रहोस् त्यसको १० वर्षपछि २०७६ को अन्ततिर एउटा त्यस्तै ७० करोडको कमिसनकाण्ड प्रकट भयो ओली सरकारका मन्त्रीले गरेको टेपवार्ताबाट । त्यसपछि उनको राजीनामा आयो  । तर महराले भने उनको स्वरमा रेकर्ड भएको ‘यो वार्ता झुटो’ भनेर पन्छिन पाए । यो ५० करोड उनले सहजै पचाएको मानियो सबैतिरबाट । कसैले अनुसन्धान गर्न पनि आवश्यक ठानेन ।

एकताका महरामाथि अकूत सम्पत्ति कमाएकोमा उजुरी पनि प¥यो छानबिनका लागि । उनी अख्तियारको अनुसन्धानको घेरामा पनि परे । यो २०७३ सालको कुरा हो । तर त्यही वर्षको साउन २१ मा उनी अर्थमन्त्रीमा नियुक्त भए । अख्तियारले उनलाई १३ पन्ने फारम भराएर अनुसन्धान थालेको अवस्थादेखिका आफ्नो अकूत सम्पत्तिबारे बयान दिन पुगेका कुरा सबैलाई यो नियुक्तिले ओझेलमा पारिदियो । यही बेला उनी उपप्रधान तथा अर्थमन्त्री भए । अकूत सम्पत्तिवाललाई अर्थमन्त्री बनाउने काम खाओवादीले मात्रै गर्न सक्लान् ।

यी प्रवक्ता महरामाथि शिविरमा राखिएका आफ्नै लडाकुका लागि लागि सरकारले उपलब्ध गराउने रकममा भ्रष्टाचार गरेको आरोप अझै गम्भीर अवस्थामा नै छ । लडाकुका लागि दिइने रकम उनले आफ्नो नाममा चेकमार्फत बुझ्ने गरेका थिए । तर त्यो रकम शिविरमा नपुगेको पनि नक्कली नाममा वितरण भएको भनेर हिनामिना भएको मानिएको थियो त्यसबेला ।

त्यस बेलादेखि बेला–बेला आइरहने गरेको विवरणअनुसार यस्तो रकमको अंक करिब चार अर्बको हाराहारीमै थियो । राज्यले २०६४ वैशाख ७ गतेदेखि शान्ति मन्त्रालयअन्तर्गतको शान्तिकोषबाट ३० हजार आठ सय ५२ माओवादी लडाकुका लागि मासिक पाँच करोड ७३ लाख ८५ हजारका दरले नौ महिनासम्म सरकारले ५२ करोड निकासा गरेको थियो । उक्त रकमको चेक बुझ्ने व्यक्ति हुन् महरा ।

सार्वजनिक भएका विवरणअनुसार शान्ति प्रक्रियाको पहिलो वर्ष महालेखा परीक्षकको कार्यालयले ४६ करोड १० लाखको बेरुजु देखाएको थियो । जुन त्यस वर्ष भएको खर्चको ९२ प्रतिशत हो । शान्ति सम्झौता भएदेखि चैतसम्म लडाकुको नाममा महराले बुझेको रकमको हिसाब यो २०७८ सालको आजको दिनसम्म सार्वजनिक भएको छैन ।

यो बेहिसाबलाई सरकारी निकायहरुले पनि उठाउँदै आएका पाइन्छ । महालेखा परीक्षकको कार्यालयले २०६८ सालसम्म माओवादी शिविरमा भएको उक्त खर्चलाई बेरुजु राखेको थियो । २०६९ वैशाख २१ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त रकमलाई बेरुजुबाट हटाउने निर्णय गरेको थियो । राज्यकोषबाट हिनामिना भएको रकम मन्त्रिपरिषदले मिनाहा गरेर हुँदैन । तर खाओवादीका लागि भने अहिलेसम्म यो मान्य भइरहेको छ । त्यो बेलादेखि यो बेलासम्म माओवादी निरन्तर नै सत्तामा छ अपवादबाहेक । यसको अर्थ हो महराहरुले जसरी पनि खाने काम गरिरहेकामा कतै विघ्नबाधा परेको छैन ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया