Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगस्वस्थ्यको लागि योग

स्वस्थ्यको लागि योग


विश्वनाथ खरेल
आजको संसारभरि नै योगको महत्व बढ्दै गएको छ । योगले सुख, शान्ति र समृद्धिको सुसंजोग जुटाउँछ भने वियोगले दुःख, अशान्ति र पछौटेपनको रोग निम्त्याउँछ । त्यसरी नै यतिबेला संसारभरका मानिसहरू विभिन्न तनावको कारणले गर्दा चुचुरोतिर लम्किरहेको जस्तो भान हुन्छ । तनावकै कारण आज संसारभर एक अर्बभन्दा बढी मानिस उच्च रक्तचापबाट पीडित छन् । त्यस्तै गरी ४० करोडभन्दा बढी मानिस मधुमेहपीडित छन् । त्यस्तै, थाइराइड, युरिक एसिड, मुटुरोग, पाचन प्रणालीसम्बन्धी कम्तीमा एउटा रोगले पीडित नभएको घर फेला पार्नै मुस्किल छ । यसैले गर्दा योग एकाग्रहता, अनुभूति र रूपान्तरण पनि एक हो । यसै कारणले गर्दा योगको उद्देश्य जोड्नु हो । यसलाई विभिन्न परिभाषाहरू गर्न सकिन्छ ।

यसलाई अर्को शब्दमा भन्नुपर्दा योग भनेको जोड्ने काम हो । आत्माको जोड परमात्मासँग भन्ने पनि बुझिन्छ । त्यसै गरी जुटाउनेको नाम योग हो । यसमा निस्काम भावले कर्म गर्नुको नाम योग हो । यसको साथसाथै काम, क्रोध, लोभ, मोह र भयबाट टाढा रहनुको नाम योग हो । स्वप्नबाट अलग रहनुको नाम योग हो । यसर्थ कोरा कल्पना योग होइन, यथार्थ भन्नु योग हो । यसै कारणले गर्दा नै आज आएर योगाभ्यास एउटा उत्तम ज्ञान हो । यो प्राप्त गर्न सम र दम दुवै साधनाबाट सम्पन्न हुन जरुरी छ । अध्यात्मशास्त्रको एउटा विषय नै हो योगशास्त्र हो । अतः आत्मामा नै बढी अनुराग राख्ने, स्वयंको चिन्तन गर्ने, आफूभित्र परमात्मा खोज्ने प्रक्रियाको नाम नै योग हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भनेअनुसार योग सबै उमेरमा गर्न सकिन्छ । बालबालिकादेखि वयस्कसम्म सबैलाई अति आवश्यक मानिएको छ । सहरीया जीवनशैली, अनुपयुक्त खानपान, शारीरिक सक्रियताको कमीलगायतले गर्दा स्वास्थ्य समस्या थपिँदो छ । अझ भन्ने हो भने योग बुढ्यौली, उदासी र एक्लोपनमा बढी आवश्यक हुन्छ । युवावर्गमै शारीरिक गतिविधि अपर्याप्त हुन थालेको छ । एक्काइसौँ शताब्दीको दैलो उघार्नेबित्तिकै मानव समाज सूचना प्रविधिको घनघोर जंगलभित्र प्रवेश गर्न थाल्यो । प्रविधि तथा सामाजिक सञ्जालमा मानिसको पहुँच यति सस्तो हुन थाल्यो जसले मानिसलाई सूचनाको पहुँच निकै सहज, द्रुत बनाइदियो । विश्वले बिगुल फुकेको छ, विकास र सभ्यताको उचाइ थपिएको छ भन्ने । फर्केर हेर्दा विश्व अहिलेभन्दा पहिले नै अझै सभ्य, समृद्ध अनि स्वस्थ रहेको प्रमाण छ । विश्व धेरै अर्थमा पछाडि फर्किरहेको छ, यसका प्रमाणहरूमध्ये एउटा ज्वलन्त प्रमाण हो योग अभ्यास हो ।

हाम्रो देशको एउटा गाउँदेखि अमेरिकासम्म, जापानदेखि नेपालको दुर्गमसम्म विहान बेलुका घर आँगन अगाडि सुकुल विछ्याएर योग अभ्यास गर्ने मान्छेहरूको उपस्थिति अब विस्तारै देखिन थालेको छ । एक हिसाबमा योग भनेको केवल व्यायाम मात्र हो अनि योगलाई धर्मसँग जोडेर बुझ्ने अर्थ कमैलाई मात्र थाहा होला । अहिलेसम्म भेटिएका सभ्यताहरू, उत्खननहरू जो पुराना सभ्यताहरू छन् एसियाली सभ्यताहरू, दक्षिण एसियाली सभ्यताहरू । यसमा योगका त्यो उत्खनन गर्दा मूर्तिहरूमा योगका मुद्राका मूर्तिहरू पाइन्छन् । कमसेकम अहिलेभन्दा पाँच हजार वर्ष अगाडि, छ हजार वर्ष अगाडि अहिले उत्खनन भएका मूर्तिहरू हेर्दा योगमुद्रा आशनमा बसेको पाइन्छ ।

योग आज होइन धेरै अगाडिदेखि नै नेपालका परापूर्वकालका ऋषिमुनीहरूले सुरुवात गरेको भन्ने प्रमाणहरू विभिन्न इतिहासहरूबाट स्पष्ट हुन्छ । अहिलेसम्म सबैभन्दा पुराना मन्त्रहरू वेदका मन्त्रहरू हुन् । सबैभन्दा पुरानो लय वेदको लय हो । सबभन्दा पुराना छन्दहरू वेदका छन्दहरू हुन । वेद खालि वेद मात्रै होइन । वेदको सबैभन्दा दीर्घजीवी र उत्तम मानिएको सारगर्वित मन्त्र नै गायत्री मन्त्र हो । जुन यहाँ गायत्री मन्त्र उल्लेख गरिएको छ । ‘ॐ भूर्भुवः स्वःतत्सवितुर्वरेण्यंभर्गो देवस्य धीमहिधियो यो नः प्रचोदयात’ यो मन्त्र नै बेदको सबैभन्दा निचोड मन्त्रको रूपमा रहेको छ । यसलाई परापूर्वकालमा कोशी किनारको चतराधाममा बसेर ऋषिहरूले रचना गरेका थिए । त्यसै कारणले गर्दा नेपाललाई भनिन्छ, तपोभूमि, ज्ञानभूमि, ध्यानभूमि, देवभूमि आदि भन्ने गरिन्छ । किनभने सम्पूर्ण देवताहरूको बास यही पुण्य भूमिमा हुन्थ्यो । यो देव भूमि हो र ज्ञानको सृजना यही भएको थियो र यहीबाट विस्तार भएको थियो । यसरी हामी गर्व गर्न सक्छौँ । हामीले त्यही गरौँ व्यक्तिगत तवरमा योगलाई हाम्रा ऋनिमुनिहरूले, जान्नेहरूले पहिलेदेखि आफ्नो जीवन पद्धति बनाए । तत्कालीन समयका ऋषिमुनिहरूलाई हेर्दा झरिला र भरिला देखिन्थे ।

समग्रमा भन्नुपर्दा योग वास्तवमै गहिरो विषय भएकाले लरतरो शब्द र व्याख्यामार्फत् परिभाषित हुने कुरा पक्कै हैन, तथापि योगको महत्व आजको घम्साघम्सीसहितको जीवनमा हामी सबैलाई प्रशस्तै छ । आफूले जीवनमा कमाएका पैसा, गाडी, शरीर, सौन्दर्य र ऐश्वर्य समयसँगै सकिन थाल्छ तर हाम्रो आत्मिक शुद्धता, चिन्तन र सकारात्मक तरंगहरू सदासर्वदा रहनेछन् । तर कतिका बुझाइमा अनुलोम, विलोम, कपालभाती आदि योग हो भने त्यो योग नभई श्वसन प्रक्रिया मात्र हो, विज्ञजन बताउँछन् । योगलाई शारीरिक कसरतका रूपमा मात्रै लिने पनि छन् । योगलाई तन, मनको सुस्वास्थ्यबाहेक आत्मा परमात्मासितको मेलका रूपमा व्याख्या पनि गरिएको छ ।

अतः योगको जन्म परापूर्वकालमा हाम्रो देशमा भएको कारणले गर्दा सबै पक्षहरू नेपालले जति अरुले बुझ्दैन । यो धर्ती, यहाँको हावा, यहाँको पानी, यहाँको वातावरणले जति योग बुझेका छन् अन्यतिरकाले बुझ्दैनन् । यसर्थ योगको अभ्यास लिपि र भाषा बन्नुभन्दा अगाडिदेखि हुँदै आएको हो । हाम्रा ऋषिमुनिले हजारौँ वर्ष अगाडि यस सम्बन्धमा चिन्तन मनन, साधना, खोज, अध्ययन, अनुसन्धान आदि गरेका थिए । तसर्थ हामी गीतामा योगको वर्णन पाउँछौँ । अतः मानवको स्वास्थ्य नै धन हो । यदि, प्रत्येक व्यक्ति स्वस्थ भएन भने विश्वमा कुनै पनि समृद्धि हुन सक्दैन ।

विश्व चेतनाको विकासको लागि शारीरिक, मानसिक र संवेगात्मक विकास अपरिहार्य छ । मुलुकको कुरा गर्ने हो भने अस्वस्थ शरीर, अस्वस्थ्य मन, वचन, अस्वस्थ्य मानसिकताबाट बच्न आफैँलाई अस्वस्थ्य चिन्तन प्रवृित्त अनेक कुराहरूले ग्रस्त बन्न नदिनबाट जोगाउन योगलाई बढवा दिएको पाइन्छ । अन्तमा वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बन्न लागेको परिप्रेक्षमा यही क्षेत्रबाट पुनर्जागरण गर्न जनचेतना जगाउने कार्यमा लाग्नुपर्ने समयको माग भएको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया