Techie IT
×
गृहपृष्ठविचारमहिलालक्षित साक्षरताको आवश्यकता

महिलालक्षित साक्षरताको आवश्यकता


बाबुकाजी कार्की
विज्ञान र प्रविधिको द्रुतगतिमा विकास र विस्तार भइराखेको एक्काईसौं शताब्दीमा पनि विश्वमा ७५ करोड ९० लाख जनता निरक्षर प्रौढ छन् । जसमा करिब हरेक तीन निरक्षरमध्ये दुई जना महिला पर्छन् । वि.सं. २०६८ को जनगणनाअनुसार नेपालको साक्षरता प्रतिशत ६५.९ प्रतिशत छ । यसमध्ये पुरुष ७५.१ र महिला ५७.४ प्रतिशत साक्षर छन् । महिला र पुरुषबीचको साक्षरताको खाडल करिब १८ प्रतिशत रहेको देखिन्छ । सामाजिक आर्थिक रुपान्तरण गरेर समृद्ध नयाँ नेपाल बनाउने सपनालाई यथार्थमा बदल्न आधा आकाश ओगटेका महिलाहरूको सशक्तीकरणको विकल्प छैन ।

साक्षरता सशक्तीकरणको पहिलो खुट्किलो हो । यसै वास्तविकतालाई आत्मसात् गरेर तत्कालीन अनौपचारिक शिक्षा केन्द्रले महिलालाई विशेष ध्यान दिएर कार्यक्रम सञ्चालन गर्दै आएको पाइन्छ । साक्षर नेपाल अभियानअन्तर्गतका कार्यक्रमहरुमा महिला सहभागितालाई उच्च प्राथमिकता दिनु बुद्धिमानी ठहर्छ । अहिले पनि साक्षरता अभियानका स्वयंसेवक, स्थानीय निरीक्षक तथा पढ्न आउने निरक्षर समेतमा महिला सहभागिता बढाउन प्राथमिकता दिनुपर्ने प्रावधान राखेको छ । फलस्वरुप महिला साक्षरतामा उल्लेख्य वृद्धि भएको छ । मातृ तथा बालमृत्यु दर घटेको छ । राज्यका विभिन्न निकाय र कार्यक्रममा महिलाको पहुँच क्रमिकरुपमा बढेको छ । साक्षर वा भनौँ शिक्षित र सचेत महिला आमा भएको परिवारको बालबालिकाको पढाइको स्तर स्वभावैले बढ्न जान्छ ।

साक्षरताले मानवको अन्तर्निहित प्रतिभा प्रस्फुटन गरेर सक्षमता ल्याउँछ । सक्षमताले पौरखी हातहरुलाई परिमार्जित र परिष्कृत गरेर हरेक व्यक्तिको जीवनमा आमूल परिवर्तन गर्छ । उसमा सूचना र प्रविधिको जानकारी राख्ने क्षमतामा वृद्धि हुुन्छ । साक्षरताले आत्मबल र आत्मविश्वासमा बढोत्तरी भई एक सफल र सबल नागरिकका रुपमा जीवनयापन गर्न अहम् भूमिका खेल्दछ । साथै साक्षरता सहज आधुनिक जीवनको अपरिहार्य कुञ्जी हो । आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण गरी देश विकास गर्न साक्षरता प्रतिशत उच्च हुनु पहिलो शर्त हो । मानव विकास सूचकांकलाई उच्च राख्न आवश्यक शर्तहरु स्वास्थ्य, शिक्षा, विद्यालय भर्नादर, मातृशिशु मृत्युदर, पोषण आदिको आधारशिला पनि साक्षरता हो । अन्तर्राष्ट्रिय राष्ट्रियस्तरमा प्रतिबद्ध सबैखाले विकासका लक्ष्य हासिल गर्न साक्षरता आधारभूत र अनिवार्य शर्त हो । त्यसकारण राज्यले आफ्ना नागरिकलाई यथाशक्य छिटो साक्षर बनाउन विभिन्न योजना, अभियान र कायक्रम ल्याउनुपर्ने हुन्छ । निरक्षरता र गरिबी एक अर्काको परिपूरक हुन । सहज र सफल जीवन जीउन कम्तीमा साक्षरताको विकल्प छैन ।

अशिक्षाका कारणले विपन्नता अन्धविश्वास, बेरोजगार, परावलम्बी तथा कमजोर स्वास्थ्य आदि नकारात्मक प्रवृत्तिले महिलालाई बढी गाँजेको हुन्छ । जबसम्म महिला र पुरुषलाई शिक्षामा पहुँच उनीहरुको क्षमताका आधारमा सुनिश्चित गरिन्न तबसम्म विकासको गति तीव्र नहुने यथार्थता हो । निरक्षरता दूरी पिछडिएको जातजाति, सो दुर्गम तथा निर्धनहरुको बसोबास क्षेत्रमा अधिक छ । नेपाल गाउँ नै गाउँले भरिएको भौगोलिक विकटता र सामाजिक, धार्मिक, सांस्कृतिक विविधता भएको देश हो । यस्तो विषम परिस्थितिमा साक्षरतालाई सुगमतापूर्वक निरक्षरको पहुँचभित्र ल्याउन निश्चय नै ठूलै अठोट र आँट चाहिन्छ ।

महिला जनसङ्ख्या बढी भएको हाम्रोजस्तो देशलाई नयाँ नेपाल बनाउन महिला साक्षरतालाई विशेष महत्व दिएर सघन कार्यक्रम ल्याउनुपर्ने हुन्छ । आधा आकाश ढाकेका महिलाको सशक्तीकरण नगरी समृद्ध समाजको अपेक्षा गर्न सकिन्न । युनेस्कोले पनि अन्तर्राष्ट्रिय साक्षरता दिवसहरुमा महिला सशक्तीकरणका लागि साक्षरतालाई केन्द्रित गर्दै आएको छ । सशक्तीकरण भन्नाले प्राप्त सूचनाहरुको सही जानकारी गरी निर्णय गर्ने क्षमताको विकास गर्नु हो । किनकि महिलाले समान अधिकार र अवसरको उपयोग जबसम्म गर्न पाउँदिनन् तबसम्म दिगो विकासको कल्पना पानीको फोकाजस्तै हुन्छ ।

भनिन्छ एक जना पुरुष शिक्षित भए, आफूमा मात्रै सीमित हुन्छ तर एक जना महिला शिक्षित भए परिवार नै शिक्षित हुन्छन् । त्यसकारण महिला शिक्षित हुनु भनेको पारिवारिक सक्षमता आउनु हो, आयआर्जन बढेर आत्म निर्भर बन्नु हो, इलममा बढोत्तरी गरी सम्पन्नतातिर लम्किनु हो । आफ्नो हक, अधिकार र कर्तव्यप्रति सजग र सचेत भई स्वाभिमानपूर्वक आत्मनिर्भर जीवनयापन गर्न कम्तीमा साक्षरताको विकल्प छैन । नेपालमा पनि महिला साक्षर र सशक्तीकरणका कार्यक्रम ल्याउने धेरै निकाय र संघ/संस्था छन् । जसमा अनौपचारिक शिक्षा केन्द्र सानोठिमीले अग्रणी भूमिका खेल्दै आएको भए पनि अहिले अनौपचारिक शिक्षाको नेतृत्व लिने छुट्टै निकाय छैन । संघीय संरचनाअनुसार अहिले अनौपचारिक शिक्षाको व्यवस्थापनकोे जिम्मेवारी स्थानीय तहलाई सरे पनि खासै ध्यान पुगेको पाइँदैन ।

अनौपचारिक शिक्षा केन्द्रले विगतमा महिला सशक्तीकरणका लागि विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको थियो । उदाहरणार्थ महिला साक्षरता प्रथम, द्वितीय, आयआर्जन समूहमार्फत आफूले अंगालेका र सम्भाव्य पेशाहरुलाई परिष्कृत गरेर आत्मनिर्भर बनाई आफ्नो खुट्टामा उभिनसक्ने सक्षमता प्रदान गर्ने नीति लिएको छ । त्यसैगरी आयआर्जनमा वृद्धि गरी महिलाको जीवनस्तर उठाउन, आफ्ना कुराहरु निर्धक्कसँग राख्न अभ्यस्त बनाउन र संगठित भई हक र अधिकार सुनिश्चित गर्ने खालका कार्यक्रमहरु सामुदायिक सिकाइ केन्द्रमार्फत आयआर्जन समूह गठन गरी सञ्चालन गरेको छ ।

त्यस्तै स्वास्थ्य र सरसफाइसम्बन्धी जनचेतना फैलाउने कार्यक्रमहरु पनि सञ्चालन गरेको छ । विगत वर्षहरुदेखि राष्ट्रव्यापी साक्षरता अभियान सञ्चालन हुँदै आएको छ । अभियानमा महिला सहभागितालाई प्रोत्साहित गरेको गर्न खोजेको पाइन्छ । साक्षरता कक्षा केन्द्र तोक्ने, स्वयंसेवक एवम् स्थानीय निरीक्षक नियुक्ति तथा व्यवस्थापनमा समेत महिला सहभागिताको सुनिश्चित गरेको छ । फलस्वरुप साक्षरतासम्बन्धी अनौपचारिक कार्यक्रममा महिला सहभागिता ८० प्रतिशतभन्दा बढी भएको प्रारम्भिक प्रतिवेदनले पुष्टि गरेको छ ।

आधारभूत साक्षरता सीप हासिल गरेपछि महिलाको निरन्तर शिक्षाका लागि अनौपचारिक प्रौढ विद्यालयहरु विकास र विस्तार हुने क्रममा छन् । जहाँ महिलाले एसएलसीसम्म पढ्न पाउने अवसर पाउँछन् । त्यस्तै सामुदायिक अध्ययन केन्द्रमार्फत पायक पर्ने ठाउँमा आयआर्जन समूह गठन गरी उत्पादन वृद्धि र प्राप्त आर्जनलाई सामूहिक रुपमा बचत गर्ने अभ्यास गराउँदै आएको छ ।

उल्लिखित कार्यक्रमहरूको फितलो व्यवस्थापनका कारण प्रभावकारी हुनसकेका छैनन् । मागअनुसार पर्याप्त कार्यक्रम प्रदान गरिएको पाइँदैन । निश्चय नै हात्तीको मुखमा जिरा भएको छ । कार्यक्रमको सफलताको लागि पर्याप्त साधन स्रोतको तर्जुमा, प्रभावकारी कार्यान्वयन एवम् सेवाग्राहीको अनुगमन निरीक्षण कार्यप्रगतिको आधारमा पुरस्कारको र दण्डको व्यवस्था गर्ने कार्यमा सबैको साथ सहयोग भएमा निश्चय नै हामी सुगमतापूर्वक साक्षरताको लक्ष्यमा पुग्न सक्छौँ । त्यसकारण महिला साक्षरतालाई प्रत्येक नेपालीले घर–घरबाट सुरु गर्दै पारिवारिक साक्षरतालाई प्रोत्साहित गर्नुपर्दछ । अरुले के ग¥यो भन्दा पनि मैले के गरेँ भन्ने कुराले महत्व राख्छ । अन्धविश्वास र पछौटेपनलाई छिमल्दै समृद्धितिर लम्किन हरेक नागरिक साक्षर हुँदै शिक्षित हुनुको विकल्प छैन ।


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया