Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआर्थिक समृद्धिमा सर्पगन्धा

आर्थिक समृद्धिमा सर्पगन्धा


काठमाडौं । नेपाल प्राकृतिक स्रोत, साधन र सुन्दरताले भरिपूर्ण राष्ट्र हो । समग्र नेपालीको जीविकोपार्जन, विकास र प्रगतिमा यहाँ रहेको प्राकृतिक सम्पदाको उचित व्यवस्थापन र दिगो उपयोगको महत्वपूर्ण भूमिका रहन्छ । प्राकृतिक सम्पदाहरुमध्ये वन जंगल तथा यहाँभित्र पाइने अलौकिक तथा अद्वितीय जडीबुटी तथा गैरकाष्ठ वन पैदावरको महत्वपूर्ण स्थान छ । देशभित्र पाइने सूचीकृत करिब सात सय प्रजातिका जडीबुटीजन्य वनस्पति नेपाल र नेपालीको लागि मात्र होइन, समग्र जीवजन्तु, मानवजाति र विश्व समुदायलाई प्रकृतिको तर्फबाट अद्वितीय उपहार हो । अपार सम्भावना बोकेको महत्वपूर्ण जडीबुटी र गैरकाष्ठ वन पैदावार देशको समग्र र समावेशी विकासका महत्वपूर्ण साधन हुन् ।

वर्षेनी अर्बौँ धनराशीको विभिन्न गैरकाष्ठ वन पैदावारहरु विदेश निकासी भइरहेको छ । देशका ग्रामीण एवं दुर्गम भेगका असंख्य नेपालीहरुको नगद आम्दानी एवं जीविकोपार्जनको प्रमुख आधार गैरकाष्ठ वन पैदावारको संकलन तथा बिक्रीवितरणबाट अर्बौँ धनराशी वर्षेनी भित्रिने गरेको छ । यार्सागुम्बा लगायत अन्य महत्वपूर्ण जडीबुटीको बिक्रीवितरणबाट दार्चुला, जुम्ला तथा डोल्पाजस्ता जिल्लाहरुमा करोडौं रुपैयाँ वर्षेनी जिल्ला भित्रिने गर्दछ । यसैगरी मध्यपहाडका विभिन्न जिल्लाहरुबाट पनि लाखौँ, करोडौँ मूल्य बराबरको जडीबुटी तथा गैरकाष्ठ वन पैदावार विदेश निकासी भएर गइरहेको पाइन्छ । यसै सिलसिलामा यस लेखमा अमृतसमान जडीबुटी तथा गैरकाष्ठ वन पैदावार सर्पगन्धासम्बन्धी चर्चा गर्ने जमर्काे गरिएको छ ।

सर्पगन्धाको स्थानीय नाम सर्पगन्धा तथा चाँदमरुवा हो । यसको अंग्रेजी नाम रावल्फिया, सर्पेन्ट उड, सर्पेन्टाइन रुट, वैज्ञानिक नाम रावल्फिया सर्पेन्टिना हो । एपोसाइनेसी वानस्पतिक परिवारमा पर्ने यो बिरुवा ६० देखि ९० सेन्टिमिटरसम्म अग्लो हुन्छ । यो बहुवर्षे, सदावहार बिरुवा हो । यसको काण्डको प्रत्येक आँख्लाबाट ३–३ वटा पात एकै ठाउँबाट पलाएको हुन्छ । पातहरु साधारण खालका चिल्ला, लामा र भालाकार हुन्छ । यसका फुलहरु सेतो र गुलाबी रङका हुनका साथै झुप्पा झुप्पामा फुल्ने गर्दछ । चैत महिनादेखि फुल्न सुरु भएका फूलहरु पौष महिनासम्म सदावहार फुलिरहन्छ । यो विरुवा नेपालमा प्राकृतिक अवस्थामा १०० देखि १२०० मिटरसम्मको उचाइ पूर्वदेखि पश्चिममा पाइन्छ । यो साल, हर्राे, बर्रो, असना, कर्मा आदिको जंगलभित्रका आद्रतायुक्त चिस्यान क्षेत्रमा प्राकृतिकरुपमा पाइन्छ ।

यो नेपाललगायत भारत, बर्मा, बंगलादेश, श्रीलंका, मलेसिया, इन्डोनेसिया आदि देशहरुमा प्राकृतिक आवस्थामा पाइन्छ । विगत केही दशकदेखि यसको खेती गर्ने गरिएको छ । जलवायुको हिसाबले तुसारो नपर्ने, तातो र आद्रता बढी भएको जलवायुमा यसको खेतीको लागि उपयुक्त मानिन्छ । साथै यो खुला ठाउँ वा अर्ध छायाँ दुवै तथा उष्ण प्रदेशीय हावापानी भएको ठाउँमा राम्रोसँग सप्रिन्छ । नेपालमा तराई र भित्री मधेश यसको खेतीको लागि उपयुक्त स्थान मानिन्छ । साथै सर्लाही, महोत्तरी, रौतहट, बारा आदि जिल्लामा यसको खेती विस्तार गरिएको पाइन्छ । सर्पगन्धा प्रायः सबै प्रकारको माटोमा हुनसक्ने क्षमता भएको बिरुवा हो । तर यसको खेतीको लागि वर्षात्को पानी सोसिएर जानसक्ने, कडा पत्थर नभएको, बढी नआउने र दलदल नहुने ठाउँ उपयुक्त हुन्छ ।

सर्पगन्धा खेती गर्दा, खेती गर्ने जमिनमा सोझै बीउ छरेर गरिएको खेती सफल नहुने भएकोले बीउबाट बेर्ना तयार गरी खेतबारीमा बिरुवा सार्ने चलन व्यावसायिक खेतीको लागि उपयुक्त मानिन्छ । साथै यसको वानस्पतिक प्रसारण गर्दा बीउबाट बिरुवा उमारी खेती गर्ने तरिकाबाहेक पात, जरा तथा हाँगा कलमीबाट पनि गर्न सकिन्छ । सर्पगन्धाको बिरुवाहरु वर्षात्मा रोपिने भएको हुँदा वर्षात्को रोपाइँको समयमा सिँचाइको त्यति आवश्यकता पर्दैन । हिउँद र सुख्खायाममा माटोको अवस्था हेरी कम्तीमा महिनामा दुई पटकसम्म सिँचाइ गर्नुपर्दछ । विरुवा रोपिसकेपछि यसलाई स्याहार सम्भार तथा आवश्यक गोडमेलको पनि आवश्यकता पर्दछ । साथै यसको बिरुवामा विभिन्न किरा तथा रोगहरुले आक्रमण गरेको देखिन्छ । रोगहरुमा पात झर्ने, पातमा खैरो, कालो रंगको दागहरु देखिने गर्दछ । यसमा लाग्ने मुख्य रोगहरु लिफ ब्लाइट, पाउडरी मिल्डिउ, ओइलाउने तथा जरा कुहिने, जरामा गाँठा बनाउने निमाटोड आदि हुन् । यसको बचावटको लागि बेलैमा चनाखो भई आवश्यकताअनुसार जैविक ढुसीनाशक औषधिहरु प्रयोग गर्न सकिन्छ ।

सर्पगन्धाको व्यापारिक रुपमा बोक्रासहितको जरा प्रयोग गरिन्छ । सर्पगन्धामा पाइने ३० क्षाराभ रसायनमध्ये सर्पगन्धाको महत्व यसमा पाइने सरपेन्टाइन, सरपेन्टिनाइन, रिसरपाइन, अजमेलाइन आदि रासायनिक तत्वहरु मुख्य हुन् । करिब चार सय वर्ष अगाडिदेखि यसको औषधीय गुण बारे जानकारी भएको र यसको प्रयोग हाल आएर मानसिक उत्तेजना कम गर्न, उच्च रक्तचाप कम गर्न, निद्रा लगाउन, ज्वरो कम गर्न, सुत्केरीको बेलामा हुने पिडा कम गर्न, मृगी/छारेरोग हटाउन, सर्प–बिच्छीको टोकाई, छालाको रोग, अत्यधिक पसिना आउने, चिलाउने आदिको औषधिहरु बनाउन प्रयोग गरिन्छ । सर्पगन्धाको पातबाट निकालिएको रस आँखाको उपचार गर्ने औषधिमा समेत उपयोग गर्ने गरेको पाईन्छ । साथै दम तथा अल्सरका बिरामीहरुले भने सर्पगन्धाको उपयोग गर्नुहुँदैन ।

नेपालका विभिन्न आर्युवेदिक औषधालयहरुले सर्पगन्धा जडीबुटीबाट सर्पगन्धाबटी, टेन्सारिन र रेसरपाइन नामक औषधि निर्माण गरी वितरण गरेको पाइन्छ । सर्पगन्धाको बाली संकलन भनेको यसको जरा संकलन गर्नु हो । दुई देखि तीन वर्षको बीचमा यसको संकलन गरिन्छ । हिउँदको महिनामा संकलन गर्नुभन्दा केही दिनअगाडि सिँचाइ गरी जरा संकलन गर्न सजिलो गरिन्छ । जरा संकलन गर्दा जराको कुनै प्रकारको चोट तथा दाग लाग्न दिनुहुँदैन । जरा खनिसकेपछि सफासित धोई हावामा सुकाउनुपर्दछ । आवश्यक मात्रामा सुकेपछि भण्डार गर्नुपर्दछ ।

सर्पगन्धा महत्वपूर्ण जडीबुटी भएको कारण नेपालबाट कम हुँदै गएको छ । यसको संरक्षणको लागि नेपाल सरकारले प्रचलित वन ऐन २०४९ र वन नियमावली २०५१ अनुसार यसलाई विना प्रशोधन देशबाट बाहिर पठाउन प्रतिबन्ध गरेको छ । विश्व संरक्षण संघले यसलाई संकटापन्न प्रजातिमा सूचीकृत गरेको छ । यो अमृतसमान जडीबुटी हो ।

तराई तथा चुरे क्षेत्र वन र वनस्पतिको दृष्टिकोणले अत्यन्त महत्वपूर्ण छ । देशले वन क्षेत्रबाट प्राप्त गर्ने राजस्वको महत्वपूर्ण अंश यस क्षेत्रबाट प्राप्त हुन्छ । यद्यपि, यस क्षेत्रबाट प्राप्त हुने आम्दानी र राजस्वको करिब ९९ प्रतिशत भाग काठ, दाउरा तथा खयरको बिक्रीवितरणबाट हुने गर्दछ । यस क्षेत्रमा पाइने करिब छ सय ५० प्रजागिको गैरकाष्ठ वनपैदावार प्रजातिहरुबाट पर्याप्त सम्भावनाका बाबजुद उल्लेखनीय योगदान स्थानीय आम्दानी राष्ट्रले लिनसकेको छैन । उपलब्ध गैरकाष्ठ वनपैदावारहरुलाई वैज्ञानिक अध्ययन, दिगो व्यवस्थापन, व्यावसायिक खेती, मूल्य अभिवृद्धि तथा बजार प्रवर्द्धनद्वारा स्थानीय समुदायको आयस्तामा वृद्धि, रोजगारी सिर्जना र गरीबी न्यूनीकरणका लागि एउटा भरपर्दाे आधार बनाउन सकिन्छ । यी र यस्ता समस्या समाधानका लागि सम्बन्धित निकाय सदा क्रियाशील र समर्पित रहनुपर्दछ ।

अतः नेपालको हावापानी र प्राकृतिक तथा भौगोलिक बनावटको आधारमा हाम्रो देशमा सर्पगन्धा खेतीको प्रचुर सम्भावना छ । सर्पगन्धा खेतीको सम्भावनालाई योजनाबद्ध तरिकाबाट तिनै तहको सरकारले व्यावसायिक रुपमा विकास गरी नेपालमा रहेका विभिन्न आयुर्वेदिक औषधि कम्पनीहरुमा यसको मागलाई पूर्ति गर्नसके देशैमै युवाहरुलाई रोजगारीको सृजना गरी देशको आर्थिक समृद्धिमा चलायमान हुने थियो । (लेखक नेपालमा गुणस्तरीय जीवनको निम्ति स्वास्थ्य, जनसंख्या एवं वातावरण शिक्षाको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारीसंस्थाको भूमिका विषयमा विद्यावारिधिप्राप्त हुन्) 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया