Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपर्यटनको पर्खाइमा बराहपोखरी क्षेत्र

पर्यटनको पर्खाइमा बराहपोखरी क्षेत्र


काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक क्षेत्रको रूपमा परिचित बराहपोखरीकै नामबाट नामांकित बराहपोखरी गाउँपालिका भौगोलिक विविधताले भरिपूर्ण छ । खोटाङ जिल्लाको दक्षिण–पूर्वी भू–भागमा रहेको राकुली खोला र टोवा खोलाको दोभानमा करिब समुद्र सतहबाट एक सय ६१ देखि एक हजार आठ २६ मिटरको उचाइमा अवस्थित छ ।

साबिक बराहपोखरी गाविसअन्तर्गत पर्ने यस बराहपोखरी ताल यस गाउँपालिकाको उत्तरी भेगमा अवस्थित छ । पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको यस जैविक विविधतापूर्ण बराहताललाई स्थानीय भाषामा ‘वहा पोखरी’ भनिन्छ । मनोरम प्राकृतिक सौन्दर्यले भरिएको बराहपोखरी स्थानीय किंवदन्तीअनुसार यस क्षेत्रमा परापूर्वकालमा १२ वटा घरहरू रहेको र त्यसमध्ये एउटा घर राई समुदायका धामी झाक्रीको काम गर्ने बिजुवा बिजुइन बस्दथे । एक रात १२ बहिनीमध्येकी एक बहिनीले ‘हामी पोखरी यहाँ सर्दै छौँ तिमीहरूले यो ठाउँ छोडिदेऊ’ भनेको त्यहाँ बस्ने बिजुवाले सपना देखेछन् । तर ती बिजुवाले सपनाको कुरा वास्ता गरेनन् । दुई÷तीन दिनपछि बिहानै बिजुवाको घरमा एउटा भ्यागुता निस्कियो । बिजुवाले त्यस भ्यागुतोलाई मारिदिए । एकछिनपछि रातो माछा निस्कियो । त्यस माछालाई पकाएर खाइदिए । त्यसपछि एकै क्षणमा पानी निस्किएर जलमग्न भयो र त्यहाँ भएका सबै १२ वटै घर डुबायो र सबै मानिसको मृत्यु भयो । १२ वटा घरहरू डुबेको कारणले गर्दा यस पोखरीको नाम बराहापोखरी रहन गएको भन्ने एउटा किंवदन्ती छ ।

अर्को किंवदन्तीअनुसार १२ बहिनी पोखरीमध्ये यो पोखरी कान्छी बहिनी रहेको हुँदा यस पोखरीको नाम बराहापोखरी रहन गएको भन्ने भनाइ रहेको छ । त्यस्तै अर्को किंवदन्तीअनुसार भगवान् विष्णुले राक्षससँग लडाइँ गर्दा भाग्ने क्रममा यो ठाउँमा जलक्रिडा गर्नको लागि बराहा अवतार लिएर जलक्रिडा गरिरहेको बेला राक्षसले देखेपछि भगवान् विष्णु पोखरीको मुनिबाट भुल्के भन्ने ठाउँमा निस्केर चार पाँच कोष पर सुनकोशी नदीको दोभानबाट पौडिँदै बराहा क्षेत्र पुग्नु भएको कारणले गर्दा यस ठाउँको नाम बराहापोखरी रहन गएको हो भन्ने पनि रहेको छ । यसै प्रसिद्ध ठाउँको नामबाट बराहपोखरी गाउँपालिकाको समेत नामकरण भएको छ ।

खोटाङ जिल्लाका १० वटा स्थानीय तहमध्ये प्राकृतिक स्रोत साधन, जैविक विविधता र सुन्दरताले भरिपूर्ण एक प्रमुख यो गाउँपालिका खोटाङ जिल्ला सरदरमुकाम दिक्तेलदेखि अन्तिम विन्दु पूर्व–दक्षिण भेगमा अवस्थित छ । काठमाडौंबाट बीपी राजमार्ग सिन्धुली हुँदै दुई सय ३८ किमि तथा दिक्तेलबाट ७६ दशमलव ८ किलोमिटर टाढाको दूरीमा अवस्थित बराहपोखरी खोटाङ जिल्लाकै अग्ला–अग्ला पहाड तथा महाभारत पर्वतले ओगटेगको अन्यन्तै रमणीय र स्वस्थकर मौसम तथा हावापानी भएको गाउँपालिका हो ।

बराहपोखरी गाउँपालिका खोटाङ जिल्ला सदरमुकाम दिक्तेलबाट दक्षिणी भेगमा करिब २१ कोष (६७ दशमलव २ किमि)को दूरीमा अवस्थित छ । प्रसिद्ध बराहपोखरीको नामले प्रख्यात यो गाउँपालिका बराहपोखरी तालबाट दक्षिणतिर १५ किमिको दूरीमा रहेको बाघखोर भञ्ज्याङमा पर्दछ । साबिकका गाविसहरू क्रमशः बराहपोखरी, सुन्तले, साउनेचौर, फाक्टाङ, पौवासेरा र मौवाबोटे गरी छवटा वडामा विभाजित यस गाउँपालिकाको कुल क्षेत्रफल एक सय ४१ दशमलव ६ वर्गकिमि रहेको छ । पूर्वमा जन्तेढुङ्गा गाउँपालिका, पश्चिममा उदयपुर जिल्ला, उत्तरमा खोटेहाङ गाउँपालिका र दक्षिणमा उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकासँग जोडिएको छ ।

बराहपोखरी गाउँपालिकाको प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरू शङ्खेश्वरी शिव मन्दिर, बराहपोखरी, बराहपोखरी ताल, सुनापाताल, गोकुलथुम्का, सिन्ताङ, घोप्टेथलो, वंशिलाघाट, धाप्लाङघाट, सुनकोशी नदी किनार आदिले यस क्षेत्रलाई विशेष आर्कषणको केन्द्रविन्दु मानिन्छ । दोस्रो पशुपतिनाथ हलेसी मन्दिर, रूपाकोट मझुवागढी नगरपालिकाको बुइपा, खोटेहाङ गाउँपालिकाको खोटाङ बजार, सिम्पानी बजार, छितापोखरी, इन्द्रेणीपोखरीलगायत खोटाङ जिल्लाकै अन्य रमणीय तथा दर्शनीय स्थलहरू तथा भित्री मधेश उदयपुरका प्रमुख स्थल तथा सहरहरू बेल्टार, बसाहा, गाइघाट, हडिया, रौतामाइ, लिम्चुङबुङ र तराईका अन्य जिल्ला मोरङको विराटनगर, सुनसरी जिल्लाको धरान, सप्तकोशी ब्यारेज, धनुषा जिल्लाको जनकपुरधामलगायत काठमाडौँको चन्द्रागिरी पहाड समेतको दृश्यावलोकन गर्न सकिने जिल्लाकै प्रसिद्ध एक हजार आठ सय २६ मिटर उचाइमा फैलिएको सुनापातल डाँडा रहेको छ । यस डाँडालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सके गाउँपालिकाको आर्थिक वृद्धि र विकासमा महत्वपूर्ण टेवा पु-याउने निश्चित छ ।

चार्डपर्व तथा सांस्कृतिक उत्कृष्टता रहेको यस गाउँपालिकामा हरेक धर्ममा पनि जाति विशेष चाडपर्वहरू फरक–फरक तरिकाले मनाउने गरेको पाइन्छ । परम्परागतरूपमा मनाइने चाडपर्वहरूमा दशैँ, तिहार, हरितालिका तीज, रामनवमी, शिवरात्री, फागु पूर्णिमा, वुद्धपूर्णिमा, नागपञ्चमी, माघेसंक्रान्ती, साउने संक्रान्ती, कृष्णजन्माष्टमी, चैतेदशैँ, हरिशयनी एकादशी, हरीबोधनी एकादशी, कुशेऔँसी तथा अन्य चाडपर्वहरू परम्गरागतरूपमा मनाइन्छ । चण्डीनाच, लाखे जात्रा, हिले जात्रा, हुर्रानाच, तमाङको सेलो, संगिनी बालन, मकर संक्रान्ती मेला, पारेगौढा वा लसुते चण्डी नाच, उँधौली÷उँभौली, चकलीदेवी मेला बजार आदि जातिविशेषमा मनाइने गरिन्छ । विशेषतः चकलीदेवी मेलाको अवसरमा ठाउँ–ठाउँमा मेलाको आयोजना गर्ने गरिन्छ ।  दशैँ तथा तिहारबाहेक यस गाउँपालिकाका बासिन्दाहरूले बुद्धजयन्ती, गुरू पूर्णिमा, साउने संक्रान्ती, नागपञ्चमी, रक्षाबन्धन, माघेसंक्रान्ती, ल्होसार, श्रीपञ्चमी, महाशिवरात्री, फागु पूर्णिमा, चैतेदशैँ आदि पर्वहरू मनाउँछन् ।

विश्वमा सूचना र संचारको जगतमा एक्काईसौं शताब्दीमा देखिएको दु्रत विकासको साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजी बजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूको लागि वस्तु तथा श्रम बजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हासिल गर्दै पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ ।

आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारको लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकाशशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ । यसै परिवेशमा विश्वमा माहामारीको रूपमा फैलिएको कोरोना माहामारीले हाम्रो जन्मभूमिमा पनि धक्का दिएको छ । सो क्रममा वैदेशिक रोजगारीमा गएका दाजुभाई, दिदीबहिनी जन्मभूमिमा फर्किरहेका छन् । सो कारण बेरोजगारीको समस्या हल गर्नको लागि कृषि तथा पर्यटन व्यवसायलाई अगाडि बढाउनु अपरिहार्य छ ।

समृद्ध गाउँ तथा नगरको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रविन्दु युवा जनशक्तिको विदेश पलायनतालाई रोक्दै स्वदेश एवं जन्मभूभिमा नै उद्यमशीलता र रोजगाारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा धार्मिक, संस्कृतिक र पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो ।

यस क्षेत्रमा तुलनात्मकरूपमा मध्यमस्तरको जनशक्ति एवं कम पुँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक पर्यटन उद्योगको विकासबाट यस क्षेत्रको आर्थिक सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रस्ट देखिन्छ । नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रूपमा रहेको छ । जसबाट यस क्षेत्रको जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्दछ ।
यस क्षेत्र प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकहरूको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवं पर्यटकीयस्थल हुँदाहुँदै पनि सो स्थानको पर्यटकीय विकास हुन सकेको छैन । यसबाट प्रस्ट हुन्छ कि उत्कृष्ट पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन ।

सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण बराहपोखरी क्षेत्र आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र सम्वद्र्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहना प्राकृतिक सौन्दर्यको अनुपम उपहार बराहपोखरी क्षेत्र हो ।

यस क्षेत्रको लागि एकीकृत कृषि तथा पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा पालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाको रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा सुविधालाई पनि प्रभावकारी बनाउन बजेटको अभावमा सकिएको स्थिति पाइँदैन । यस क्षेत्रका पर्यटकीय सम्भावना बोकेको अधिकांश स्थलहरू पालिकाका विभिन्न क्षेत्रमा छरिएर रहेका छन् र यहाँ पर्याप्त र राम्रो पर्यटकीय सेवा सुविधा दिइने आवश्यक पक्की सडक, सञ्चार, विद्युत्, खानेपानीको उचित व्यवस्थापन, होमस्टे तथा होटलहरूको स्थापना, स्थानीय कृषि उपजको व्यवस्थापन आदिको विकास गर्नुपर्ने अवस्था छ । त्यसैले, बराहपोखरी क्षेत्रको लागि पर्यटकीय सम्भाव्यता अध्ययन गरी व्यवस्थित पर्यटकीय गुरुयोजना तर्जुमा गर्नु समयको माग हो । अतः कृषि, अमूल्य वनस्पति तथा जडीबुटी, पर्यटन विकास, धार्मिक, सांस्कृतिक, पर्यटन सम्पदा तथा पर्यटन सेवा र सुविधालाई प्याकेजिङ गरी विकास गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।

यस क्षेत्रको समग्र आम्दानीमा कृषि तथा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सिर्जना गर्न र अन्तरगाउँपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत कृषि तथा पर्यटन एउटा महत्वपूर्ण माध्यम हुनसक्छ । बराहपोखरी गाउँपालिकामा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक देखिन्छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य स्रोत र साधनले भ्याएसम्म गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ ।

प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्दछ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरीने तत्वहरूको विकास गरी कृषि तथा पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न आवश्यक रहेको छ । कृषि तथा पर्यटनको माध्यमबाट काम वा रोजगारी सिर्जना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै बराहपोखरी गाउँपालिका क्षेत्रभित्रका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ ।

समुदायमा आधारित यस क्षेत्रको प्राकृतिक तथा सांस्कृतिक धरोहरको प्रयोग गरी पर्यटकीय, सामुदायिक विकासका कार्यहरू सञ्चालन गर्न सकिन्छ । अतः हाल निर्वाचित स्थानीय सरकारले यस क्षेत्रको विकासमा जनसहभागिता जुटाई विकास गर्नु आजको आवश्यकता हो ।
(लेखक: डा. अधिकारी गुणस्तर जीवनमा विद्यावारिधि ।)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया