Techie IT
×
गृहपृष्ठविचारनेपालमा कोरोना महामारीपछिकै धेरै पर्यटक !

नेपालमा कोरोना महामारीपछिकै धेरै पर्यटक !


काठमाडौं । सन् २०२२ को जनवरीदेखि जुलाईसम्मको सात महिनामा नेपालमा दुई लाख ८५ हजार ३६३ विदेशी पर्यटकले भ्रमण गरेका छन् । यो तथ्यांंकको आधारमा हेर्दा कोरोना महामारीको चपेटापछि सन् २०२२ मा नेपालमा सबैभन्दा धेरै विदेशी पर्यटक आउने पक्का भयो । किनभने, सन् २०१९ को कोभिड–१९ महामरीपछि सन् २०२० र २०२१ मा विश्वभरि नै घुम्न निक्लिने विदेशी पर्यटकको संख्या लगभग ८० प्रतिशतले कमी आएको थियो । विश्वव्यापी रुपमा परेको पर्यटनको सो असरले नेपालमा मात्रै अछूतो रहने कुरो भएन । फलतः सन् २०१९ मा लगभग १२ लाख विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएकोमा सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेको तथ्यांक रहेको थियो भने, सन् २०२१ मा सन् २०१९ को तुलनामा अझ घटेर एक लाख ५० हजार ९६२ विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए ।

तर, नेपालको सन्दर्भमा विदेशी पर्यटक आगमनको कुरो गर्दा सन् २०२२ भने धेरै नै सुखद हुने लक्षण देखिएको छ । किनभने, सन् २०२२ को सात महिनामै दुई लाख ८५ हजार ३६३ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरिसकेको भन्ने माथि नै लेखिसकिएको छ । हुन त बाँकी समय (पाँच महिना) पनि सही सलामत रहेमा सन् २०२२ मा कम्तीमा पाँच लाख विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने पक्काजस्तै देखिन्छ । कसरी त ? भन्दा बाँकी पाँच महिनामा मासिक कम्तिामा ४० हजार विदेशी पर्यटक आउने सामान्य अनुमान गरौं । यसरी सजिलै यो वर्ष पाँच लाख विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने आँकडा प्रक्षेपण गर्न सकिन्छ । सम्भवतः कोरोना महामारीको पाँचौँ, छैठौं लहर चलेन, कोरोना महामारी रोकियो भने त अक्टोबर र नोभेम्बर महिनामा नेपालमा अरु बढी संख्यामा विदेशी पर्यटक भित्रिनेछन् । यसो किन भनिएको हो भने, विगत लामो समयदेखि नै नेपालमा मार्च–अप्रिल र अक्टोबर–नोभेम्बर महिनामा अन्य महिनाको तुलनामा अलि बढी नै संख्यामा विदेशी पर्यटक आउने गरेको तथ्य–तथ्यांक रहने गरेको छ । स्मरणीय छ, सन् २०२० मा दुई लाख ३० हजार ८५ जना विदेशीले नेपाल भ्रमण गरेको तथ्यांक रहेको छ भने, सन् २०२१ मा एक लाख ५० हजार ९६२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक रहेको छ । (तथ्यांक स्रोतः सिन्ह्वा न्युज, २०२२–०१–०३ ।)

तर, विगत लामो समयदेखि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्यामा भारतीय पर्यटकको सख्या ठूलो हुने गरेको छ । नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको विभिन्न वर्षको तथ्यांक हेर्दा ३३/३४ प्रतिशतदेखि ४०/४१ प्रतिशतसम्म भारतीय पर्यटकले ओगटेको देखिन्छ । अब नेपालमा कस्ता र कुन स्तरका भारतीय पर्यटकहरु आउँछन् ? अहिले नै त्यातिर बहस र छलफल गर्नतिर नलागौं । तर, हामीले जापान, दक्षिण कोरिया, अष्ट्रिया, जर्मनी, चीन, स्वीट्जरल्यान्ड, फ्रान्स, अमेरिका, मोनाको, नर्बे, फिनल्यान्ड, डेनमार्क, इटली, बेल्जियम, लक्जेमबर्ग, बेलायत, अष्ट्रेलिया आदि तुलनात्मक रुपमा अलि बढी खर्च गर्ने, गर्नसक्ने विदेशी पर्यटकलाई पनि आकर्षित गर्ने कार्यक्रमहरु सँगसँगै ल्याउनुपर्ने देखिन्छ, जति सक्दो चाँडै ।

अब लागौँ, विश्वमा पर्यटन व्यवसाय व्यवसायिक ढंगले, संस्थागत ढंगले कसले र कहिले सुरु गरे भन्नेतर्फ । किनभने, यसबारेमा आम पाठकलाई थिोरै जज्ञासा र चासो हुन सक्छ, हुनु पनि पर्छ । त्यसैले नेपालको वर्तमान पर्यटन र पर्यटन व्यवसायको अवस्थाबारे केही लेख्नुअघि यहाँ विश्वमा संस्थगात ढंगले कहिलेदेखि पर्यटन व्यवसाय सुरु भयो ? भन्नेबारे थोरै लेख्ने प्रयास गरएको छ ।

विश्वमा संस्थागत ढंगले पर्यटन व्यवसाय सुरु गर्ने काम बेलायतका नागरिक थोमस कुकले गरेको मानिन्छ । उनले सन् १८४१ मा आफ्नै देश बेलायतका पाँचसय जना नागरिकलाई पर्यटकको रुपमा रेलमार्फत आफ्नै देशको ‘लेईस्टर वा लेईस्चर’देखि ‘लोउफब्रो वा लोउफबोरो’सम्म भ्रमण गराएका थिए । यसरी थोमस कुकले संगठित रुपमा भ्रमण व्यवसाय अर्थात् ‘ट्राभल बिजनेस’को सुरुवात गरेका थिए । त्यसैले विश्वले थोमस कुकको भ्रमण टोलीलाई पर्यटकको दर्जा वा भनौं मान्यता दिइएको देखिन्छ । त्यसरी घुम्न निक्लने मानिसहरु कुनै उद्देश्य, नाफा वा व्यक्तिगत स्वार्थ नलिई घुम्न निक्लेका हुनाले उक्त भ्रमण टोलीलाई नै विश्वको पहिलो ‘पर्यटकीय टोली’ मानियो । यसरी स्वदेशकै मानिसहरुलाई आन्तरिक पर्यटकलाई घुमाउने व्यवस्था मिलाएर थोमस कुकले ‘ट्राभल बिजनेस’को सुरुवात गरेका थिए । सोही कारणले गर्दा थोमस कुकलाई पर्यटनको सुरुवातकर्ताका साथै पर्यटन क्षेत्रको ‘गड फादर’ मान्ने गरिन्छ ।

तर, सुरुमा उनले उनले दीर्घकालीन योजना बिना नै भ्रमण व्यवसाय सुरु गरेकाले सुरुमा उनले नाफा होइन, घाटा खाए । हुन पनि घाटाको व्यापार कति समयसम्म गर्न सकिन्छ र ? अतः उनले यसबाट पाठ सिकेर फेरि कमिसनको आधारमा ‘ट्राभल बिजनेस’को सुरुवात गरे । सुरुमा उनले लागत खर्चबाहेक पाँच प्रतिशत (खुद नाफा) कमिसन खान्थे । उनले विगतको घाटाको व्यापारबाट सम्झेर, पाठ सिकेर उनले सन् १८४५ मा फेरि पाँच प्रतिशत कमिसन खाएर व्यवसाय सुरु गरेपछिका दिनमा पछाडि फर्केर हेर्नु परेन । यसरी विश्व पर्यटनको इतिहास हेर्दा आजको समयमा आई पुग्दा लगभग एकसय ८१ पुगेको छ । त्यसयता विश्वका अधिकांश देशका हजारौं होइन, करोडौं होइन, अरबौं–अर्ब मानिसहरुले विश्वका प्रायः सबै देशको पर्यटकीयस्थल, हिमाल, पहाड, ऐतिहासिकस्थल, धार्मिकस्थल, सांस्कृतिकस्थल, प्राचीन स्मारक, ऐतिहासिक किल्ला, गढी, मनोरमस्थलहरु तथा मानव निर्मित कृत्रिमस्थल आदिको भ्रमण गरिसकेका छन् ।

नेपालमा भने, सन् १९९० को प्रजातान्त्रिक परिवर्तनसँगै पर्यटनले पनि केही बढी महत्व पाएको मान्न सकिन्छ । त्यसपछि बनेको सरकारले आर्थिक उदारीकण र खुल्ला अर्थ व्यवस्थाको वकालत गरेको थियो । तापनि नेपालको पर्यटनका लागि सरकारी तवरबाट गर्व गर्नलायक कामहरु भने भएनन् । तत्कालीन श्री ५ को सरकारले नेपालको पर्यटन क्षेत्रका लागि केही गरेन त ? प्रश्न उठ्छ । हो, नेपालको पर्यटन क्षेत्रमा तत्कालीन श्री ५ को सरकारले देखिने गरी गरेको काम ‘नेपाल पर्यटन बोर्ड’को गठन एक हो  ।

पछिल्लो समय नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या लगातार बढी रहेकै थियो । बरु नेपाल आउने पर्यटकले गर्ने प्रतिव्यक्ति, प्रतिदिन, दैनिक खर्च र प्रतिदिन, प्रतिव्यक्ति नेपाल बसाइ अवधिमा भने खासै सुधार हुनसकेको थिएन/सकेको छैन । तथापि सन् २०२० मा विदेशी पर्यटकले नेपालमा गर्ने प्रतिदिन प्रतिव्यक्ति दैनिक खर्च र, उनीहरुको नेपाल बसाइ अवधि बढेको देखिन्छ । पर्यटन विभागले केही समयअघि सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२०२०’ नामक किताबमा उल्लेख भएअनुसार सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रतिदिन, बसाइ अवधि १५.१ दिन र प्रतिव्यक्ति, प्रतिदिन खर्च गराई ६५ अमेरिकी डलर छ ।

विश्वका प्रायः सबै देश र ती देशका आम सर्वसाधारण जनहरुबीच ‘त्राहि माम, त्राहि माम !’ को अवस्थामा रहेको कोरोनाको महामारी (कोभिड–१९) ठीक अवस्थामा फर्किएपछि नेपाल भ्रमण गर्नमा आउने विदेशी पर्यटकको संख्या बढाउने दायित्वका साथै गुणस्तरमा अझै सुधार ल्याउन के गर्ने ? भन्ने सम्बन्धमा समय छँदै हामीले बहस र छलफल गरेर अघि बढ्नुपर्ने देखिन्छ । सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रतिदिन बसाइ अवधि १५.१ दिन जुन छ, कायमै राख्नुका साथै नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको प्रति व्यक्ति, प्रति दिन खर्च गराई ६५ अमेरिकी डलर पुगेको जुन छ, सो दर/रेटलाई बढाउन नसके पनि कायम राख्नका लागि प्रयास गर्नैपर्ने देखिन्छ ।


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया