Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबाथ रोगबारे जान्नैपर्ने कुराहरू

बाथ रोगबारे जान्नैपर्ने कुराहरू


काठमाडौं । सामान्य भाषामा बाथरोग अर्थात् आरथ्राईटिस भन्नाले शरीरका विभिन्न जोर्नी र जोर्नीवरपरका संरचनाहरू (हाड, मांसपेशी र यिनीहरूलाई परस्परमा जोडेर राख्ने नसाहरू) दुख्ने, सुन्निने, कक्रक्क हुने र अररो भई राम्ररी चलमल गर्न नसकिने अवस्था बुझिन्छ । नेपाली समाजमा जोर्नी र जीउ दुख्ने समस्याको प्रमुख कारणमा विभिन्न किसिमका बाथरोगहरू पर्दछन् । चिकित्सा विज्ञानमा एक सयभन्दा बढी किसिमका बाथरोगहरूको बारेमा वर्णन भएको पाइए पनि नेपाली समाजमा देखा परेका मुख्य बाथरोगहरूमा जोर्नी खिइएर हुने बाथ (ओस्टियो–आरथ्राइटिस), जोर्नीलाई क्षतविक्षत पार्ने आम बाथ (-युमटोइड आरथ्राइटिस), युरिक एसिड बढेर हुने बाथ (गाउटी आरथ्राइटिस), काछको जोर्नी र ढाडमा असर पार्ने बाथ (स्पोंडिलो–आरथ्राइटिस), बाल्यावस्थामै सुरु हुने बाथ (जुभेनाइल आरथ्राइटिस र मुटुको बाथज्वरो), रगतको नसा सुजन हुने बाथ (भास्कुलाइटिस), विशेषगर युवतीहरूमा बढी देखा पर्ने कडा किसिमको बाथ (लुपस), छाला बाक्लो हुने बाथ (स्क्लेरोडर्मा) र मांसपेशी एवं नसाहरू दुख्ने समस्या (-युमटिज्म) प्रमुख छन् ।

बाथरोग हरेक उमेर, लिङ्ग र पेसाका मानिसहरूमा हुनसक्ने साझा रोग हो । सामान्यतया बाथरोग लामो समयसम्म रहिरहने दीर्घरोग भए पनि रोगको किसिम र प्रकृति हेरी कुनै बाथरोग पूर्णतया निको हुने खालको हुन्छ भने धेरैजसोमा लामो समयसम्म (सम्भवत जीवनभरि नै) औषधि सेवन गर्नुपर्ने हुन सक्छ । विभिन्न अध्ययनअनुसार बाथरोगहरू अमेरिकालगायत विश्वभरि नै शारीरिक दुर्बलताको सबैभन्दा प्रमुख कारण भएको थाहा हुन आएको छ । नेपालमा बाथरोगसम्बन्धी यकिन आँकडा उपलब्ध नभए पनि अरु देशको आँकडासँग तुलना गर्दा कुल जनसंख्याको १० प्रतिशतभन्दा धेरैलाई कुनै न कुनै किसिमको बाथरोग भएको अनुमान गरिएको छ । विभिन्न अध्ययनका अनुसार बाथरोग भएका दुई तिहाइभन्दा बढी बिरामीहरू ६० वर्षभन्दा कम उमेर समूहका र आर्थिक हिसाबले उत्पादनशील उमेर समूहका छन् । कतिपय बाथरोगले त बच्चा र वयस्कहरूलाई मात्रै असर गरेको पाइन्छ । यसबाट बाथरोगले व्यक्ति, परिवार, समाज र देशकै स्वास्थ्य स्थिति र अन्ततः अर्थ व्यवस्थामा समेत कतिसम्म नराम्रो असर पु-याउन सक्छ भनेर आकलन गर्न सकिन्छ ।

कसरी चिन्ने बाथरोग ?
तल प्रस्तुतमध्ये केही अवधिदेखि एक वा सोभन्दा बढी समस्या देखा परेमा आफूलाई बाथरोग छ कि भनी शंका गर्नुपर्छ र बाथरोग विशेषज्ञ चिकित्सकसँग परामर्श लिनु उत्तम हुन्छः
-जोर्नीहरू दुख्ने, सुन्निने, अररो हुने
– बिहान र साँझपख (चिसोमा) चलमल गर्न गाह्रो हुने
– ढाड, गर्दन र फिला दुख्ने
– शरीरको विभिन्न भागका मांसपेशीहरू दुख्ने
– हातगोडाका औँलाहरू कक्रक्क हुने, राति र बिहानपख सिरक तान्न गाह्रो हुने, झ्यालढोकाको चुकुल खोल्न गाह्रो हुने
– चिसो पानी छुँदा हातका औँलाहरूको रंग परिवर्तन हुने (क्रमशः सेतो, नीलो र रातो हुने)
– हातगोडालगायत शरीरको छाला बाक्लो हुने
– अनुहार र शरीरका विभिन्न भागको छालामा विभिन्न किसिमका दागहरू देखिने, इत्यादि ।

बाथरोगको असर जोर्नी र मांसपेशीमा मात्रै सीमित नरहिकन शरीरका हरेक अङ्गहरूमा पर्न सक्ने भएकोले बाथरोगका बिरामीहरू अरु नै विभिन्न किसिमका समस्या लिएर चिकित्सककहाँ पुग्न सक्छन् । उदाहरणको लागि आँखा दुख्ने, आँखा रातो हुने, घाममा हेर्न गाह्रो हुने, मुख र गुप्ताङ्गमा घाउहरू आउने, दम बढ्ने, छाती दुख्ने, खोकी लाग्ने, मुटु हल्लिने, पेट दुख्ने, दिसामा रगत जाने, हातगोडाहरू झमझम गर्ने, निदाउने, लुलो हुने इत्यादि ।

बाथरोगसँग सम्बन्धित भ्रम र वास्तविकता
१. भ्रम : बाथरोग बुढ्यौलीसंँगै आउने रोग हो ।
वास्तविकता : बाथरोगले हरेक उमेरसमूह (बालबालिका, वयस्क, वृद्धावस्था) का व्यक्तिहरूलाई असर गर्न सक्छ । रोग छिप्पिँदै जाँदा शरीरमा नकारात्मक असर पनि बढ्दै जाने भएकोले बालबालिका तथा वयस्क अवस्थामा देखा परेको बाथरोगले कालान्तरमा जोर्नीमा अझ धेरै असर पार्न सक्छ ।

२. भ्रम : बाथरोग जोर्नीको मात्रै रोग हो ।
वास्तविकता : बाथरोगले जोर्नीमा मात्रै सीमित नरहीकन शरीरका विभिन्न अङ्गहरूमा असर पार्न सक्दछ । बाथरोगको प्रकार, प्रकृति र सिकिस्तपनअनुसार शरीरका विभिन्न महत्वपूर्ण अङ्गहरूमा जटिल असर पार्नेदेखि लिएर समयमा उचित उपचार नभएमा बिरामीको आयुसमेत घटाइदिन सक्छ ।

३. भ्रम : रगतमा युरिक एसिड बढ्नाले बाथरोग हुन्छ ।
वास्तविकता : हाम्रो समाजमा जुनसुकै उमेर, लिङ्ग वा वर्गको मानिसमा जोर्नी, मांसपेशी वा हातगोडा दुखेमा, सुन्निएमा वा झमझम गरेमा युरिक एसिड बढेर यस्तो भएको मानिन्छ, जुन धेरै हदसम्म सत्य होइन । युरिक एसिड बढी भएर हुने बाथ (गाउट) प्रायजसो वयस्क र बढ्दो उमेरका पुरुषहरूलाई हुन्छ । धेरै प्रकारका बाथरोगहरूमध्ये युरिक एसिडको बाथ एक हो । अरु किसिमका बाथरोगहरू युरिक एसिडसँग सम्बन्धित हुँदैनन्, अरु नै कारणले हुन्छन् ।

४. भ्रमः दुखाइ कम गर्ने औषधि (पेनकिलर) सेवन गरेर बाथरोगको उपचार गर्न सकिन्छ ।
वास्तविकता : रोगको प्रकृति र सिकिस्तपन हेरी बाथरोगको उपचारमा आवश्यकतानुसार पेनकिलर औषधिको प्रयोग गरिन्छ । तर यसको प्रयोगले मात्रै बाथरोगको उपचार हुन सक्दैन । बाथरोगको मुख्य औषधि सेवन नगरी खाली पेनकिलर मात्रै सेवन गर्दा औषधिको कुप्रभाव स्वरूप पेट, मिर्गौला, मुटुलगायतका अङ्गमा असर गरी ज्यानै जोखिममा पर्न सक्छ । चिकित्सकसँगको परामर्श बेगर आफूखुसी लामो समयसम्म पेनकिलर औषधि सेवन गर्दा यस्तो समस्या हुनसक्छ ।

५. भ्रम : बाथरोगमा प्रयोग हुने औषधिले मिर्गौलामा असर गरी मिर्गौलाको कार्य–विफलता (किड्नी फेल) गराउँछ ।
वास्तविकता : चिकित्सकको नियमित परामर्शमा रही औषधि सेवन गर्दा बाथरोगविरुद्धका औषधिहरूले मिर्गौलालगायत अरु अङ्गहरूमा असर पार्ने सम्भावना एकदमै कम हुन्छ । यसको लागि डाक्टरको निकट निगरानीमा रही बेला–बेलामा रगत परीक्षण गर्नुपर्ने हुन्छ । बरु जथाभावी आफूखुसी औषधि सेवन गर्दा किड्नी फेल भएको उदाहरण धेरै पाउन सकिन्छ ।

६. भ्रम : खानेकुरा बारेर बाथरोग निको पार्न सकिन्छ ।
वास्तविकता : बाथरोगबाट ग्रसित बिरामीहरूको अनुभवअनुसार भिन्नभिन्न किसिमको खानेकुराले बाथरोग र दुखाइ बढाएको भन्ने कथन पाइन्छ । त्यसैले कुन खानेकुराले आफुलाई अप्ठ्यारो पारेको अनुभव छ, त्यसलाई परहेज गर्नु राम्रो हुन्छ । हरेक बाथरोगीको अनुभव फरक–फरक हुने हुँदा उस्तै खानेकुराले सबैलाई समस्या बढाउँछ भन्नु उचित हुँदैन । सामान्यतया धुमपान र मद्यपानको सेवनले समस्या बढ्न सक्छ । धेरै मात्रामा रातो मासु, चिल्लो, बोसोयुक्त खानेकुरा सेवन गर्नु हुँदैन । अरु सामान्य व्यक्तिले जस्तै बाथरोगका बिरामीहरूले पनि सन्तुलित मात्रामा पोषणयुक्त खानेकुरालगायत प्रशस्त फलफूल, हरिया सागसब्जी सेवन गर्नु राम्रो मानिन्छ ।

७. भ्रम : बाथरोगलाई स्याल तथा चिप्ले कीराको मासु खाएर वा स्यालको मासुबाट बनाएको रक्सी सेवन गरी निको पार्न सकिन्छ । बिजुलीको तेलले सेक्दा बाथरोग निको हुन्छ ।
वास्तविकता : नेपाली समाजमा यस्ताखाले विभिन्न खालका भ्रामक चलनहरू विद्यमान छन् । यी कुनैमा पनि वैज्ञानिक आधार नभएको हुनाले यस्ता कुराको पछि नलागी बाथरोगको शंकास्पद व्याक्तिले सकभर छिटो उचित ठाउँमा गई चिकित्सकको परामर्श लिएर औषधिउपचार गराई हाल्नुपर्छ । प्रभावित जोर्नीमा विभिन्न तेल लगाएर मालिस गर्दा क्षणिक राहत पाउन सकिन्छ, तर बाथरोग निको हुँदैन ।

८. भ्रम : प्राकृतिक चिकित्सा, एक्युपन्चर, एक्युप्रेसर आदिले बाथरोगलाई नियन्त्रण गर्न सकिन्छ ।
वास्तविकता : प्राकृतिक चिकित्सालगायतका वैकल्पिक उपचार पद्धतिले जोर्नीको दुखाइबाट क्षणिक राहत दिए पनि बाथरोग बढ्न नदिन र सम्भाव्य जटिलता हुनबाट जोगाउन खासै सहयोग पु-याएको पाइएको छैन ।

९. भ्रम : आयुर्वेदिक पद्धति तथा विभिन्न जडीबुटीको प्रयोग गरेर बाथरोगलाई नियन्त्रण गर्न सकिन्छ ।
वास्तविकता : आयुर्वेदिक पद्धतिद्वारा पनि बाथरोगको औषधिउपचार गर्ने पुरानै प्रचलन भए पनि हिजोआज धेरै ठाउँमा आयुर्वेदिक औषधिको नाम दिएर विभिन्न पेनकिलर र स्टेरोइड औषधिको बेनामी धुलो औषधि सेवन गराएको पाइएको छ । यस्तो औषधिले ज्यानै जोखिममा पर्न सक्ने भएकोले कसैले पनि कहिल्यै पनि बेवारिसे र बेनामी औषधि सेवन गर्ने गराउने गर्नु हुँदैन ।

१०. भ्रम : बाथरोगको उपचार गर्दा जोर्नीको पानी झिक्नु वा जोर्नीमा सुई लगाउनु हुँदैन ।
वास्तविकताः बाथरोगको परीक्षण र उपचारको क्रममा आवश्यकतानुसार जाँच–पड्ताल एवं उपचारको लागि जोर्नीको पानी झिक्नुपर्ने वा जोर्नीमा विशेष किसिमको औषधिको सुई लगाउनुपर्ने हुन सक्छ । विशेषगरी एक–दुईवटा जोर्नीहरू दुखेको–सुन्निएको अवस्थामा दक्ष चिकित्सकबाट यस्तो सुई लगाउन सकिन्छ । यसले जोर्नीको दुखाइ घटाएर पेनकिलर औषधिको सेवन कम गर्न समेत मद्दत पु-याउँछ .
(लेखक वरिष्ठ बाथरोग विशेषज्ञ हुन् ।)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया