Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा सुर्खेतको तरङ्गामा

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा सुर्खेतको तरङ्गामा


काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुर्खेतको तरङ्गामा पनि शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु-याउने उद्देश्यका साथ बैंकले सुर्खेत जिल्लाको बराहताल गाउँपालिका तरङ्गामा यही फागुन सात गतेबाट एक सय आठौँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको जानकारी दिएको छ ।

उक्त सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी टेकबहादुर कठायतलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरूको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरू उपलब्ध गराउने प्रबन्ध मिलाइएको छ । यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेखनीय विश्वास एवं बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

बैंकले हाल देशैभरि फैलिएका आफ्ना एक सय नौवटा शाखा, ९८ वटा एटीएम र एक सय आठवटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना आदरणीय ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटल च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ ।

यसलाई मूर्तरूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विथ ड्र सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरूको थालनी गरेको छ । यसप्रकारको सेवाबाट डिजिटल बैंकिङ सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

व्यावसायिक ज्ञानको कमी, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसँग परिचित नहुनु तथा व्यावसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पुँजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्यूनीकरण गर्न बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरूका साथसाथै सुलभ र सहजतवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया