Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकृषि क्षेत्रलाई औद्योगिकीकरण गर्न लगानी बढाउनु पर्छ : अध्यक्ष नेपाल

कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्न लगानी बढाउनु पर्छ : अध्यक्ष नेपाल


काठमाडौँ । अखिल नेपाल किसान महासङ्घद्वारा शुक्रबार आयोजित अन्तर्राष्ट्रिय जैविक पर्यावरणीय प्रयोगात्मक कृषि तालिमको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनतालाई गरिबीबाट मुक्त बनाउन कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्न लगानी बढाउनुपर्ने बताएका छन् ।

अध्यक्ष नेपालले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए । उनले कृषि उत्पादनमा सरकारले उपलब्ध गराउने अनुदानबाट कृषि उत्पादनको लागत घट्ने बताए ।

उनले वर्गीय शोषणको अन्त नहुँदा आर्थिक रुपान्तरण हुन नसकेको बताए । मुलुकमा भएका राजनीतिक आन्दोलनबाट जनताले राजनीतिक अधिकार प्राप्त गरेको भए पनि आर्थिक–सामाजिक अधिकार प्राप्त नभएको बताए । उत्पादन, रोजगारी नै समाजवादीको मुख्य आधार भएको बताउँदै अध्यक्ष नेपालले उद्यमशीलताको विकास गरी आत्मनिर्भर अर्थतन्त्रका लागि कृषि उत्पादनमा जनतालाई जोड्नुपर्ने विचार व्यक्त गरे।

बहुर्राष्ट्रिय कम्पनीले स्थानीय बीउबिजनलाई प्रतिस्थापन गरी कृषि उत्पादनको संरचना, उद्योग कलकारखाना ध्वस्त पार्ने काम गरिहेको महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले बताए । यस्ता कामले पुँजीवादी मोटाउँदै जाने अवस्था रहेकाले त्यसको विकल्पमा समाजवादको खाँचो रहेको बताए । नेपाल, भुटान, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, घाना, अर्जेन्टिना, नाइजेरिया, बेल्जियमलगायत ११ मुलुकका ३२ किसानको सहभागिता रहेको तालिम यही कात्तिक २८ गतेसम्म चल्ने छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया