Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिअमेरिकन फौजी कीराको प्रकोपले मकै किसान चिन्तित

अमेरिकन फौजी कीराको प्रकोपले मकै किसान चिन्तित


सुबास बस्ना्ेत
दोलखा, जेठ ११
वाग्मती प्रदेशअन्तर्गतका केही जिल्लामा पछिल्लो समय अमेरिकन फौजी कीराको प्रकोप बढेको पाइएको छ । अमेरिकन फौजी कीराको प्रकोपले मकै बाली सखाप पार्न थालेपछि पहाडी जिल्लाहरू दोलखा, रामेछाप, सिन्धुलीलगायतका किसान चिन्तित बनेका छन् । मकै बालीलगायतका महत्वपूर्ण वर्षे बालीमा फौजी कीरा फैलिने गर्छ । फौजी कीराले गत वर्षहरूमा जस्तै यसवर्ष पनि किसानलाई दुःख दिएको छ । दोलखाको सदरमुकाम चरीकोट र रामेछापको मन्थली, चिसापानीलगायतका ठाउँमा कीराको प्रकोप बढेको किसानले बताएका छन् । दोलखाको सदरमुकाम चरीकोट नजिकै हुर्किँदै गरेको मकैबालीमा फौजी कीराको प्रकोप देखिएको छ ।

भीमेश्वर नगरपालिका–६, चोथाङमा हुर्कँदै गरेको मकैवालीमा दुई हप्तादेखि फौजी कीराको प्रकोप देखिएको हो । चोथाङको करिब एक सय ५० रोपनीमा लगाइएको मकैबालीमा फौजी कीराको प्रकोप देखिएको भीमेश्वर नगरपालिका–६ का वडाध्यक्ष नविन लामाले जानकारी दिए । विस्तारै हुर्कँदै गरेको मकैमा कीरा लागेर मेलैसँग मकैको बोट नै नष्ट गरेको सो क्षेत्रका किसानहरूले दुखेसो गरेका छन् । कीराले घुँडासम्म आएको मकै सबै सखाप बनाउन थालेपछि किसानको दुखेसो बढेको वडा अध्यक्ष लामाले बताए । गत वर्ष पनि जिल्लाको मेलुङ गाउँपालिकाको पवटी र वैतेश्वर गाउँपालिकाको केही क्षेत्रमा फौजी कीराको प्रकोप देखिएको थियो । यसवर्ष भने सो भेगमा कीराको प्रकोप गत वर्षको तुलना केही नियन्त्रण आएको पहाडी वाली अनुसन्धान कार्यक्रम काब्रे, दोलखाका संयोजक एवं मकैवाली विज्ञ नारायणबहादुर धामीले बताए ।

उनका अनुसार मुख्यतया फौजी कीरा रातको समयमा सक्रिय हुने गर्छ । यसले एक पटकमा एक सयदेखि दुई सयसम्म सेतो, गुलाबी, हल्का हरियो रंगका फूलहरू पार्ने गर्दछ । फौजी कीराले आफ्नो जीवनकालमा एक हजार पाँच सयदेखि दुई हजारसम्म फुल पार्दछ । लार्भाको जीवन अवधि १४ देखी २१ दिनसम्मको हुन्छ । यो अवस्था नै बढी हानिकारक हुने गरेको उनले बताए । बाली विज्ञ धामीका अनुसार यसको प्युपा अवस्था माटोमुनि ६ देखी ८ सेमी गहिराइसम्म जान्छ र गर्मीमा ८ देखि ९ दिनसम्म र जाडोमा २० देखि ३० दिनसम्म सक्रिय रहन्छ । त्यसैगरी वयस्क पुतली ७ देखि २१ दिनसम्म बाँच्ने भएकाले छोटो समयमा नै बाली सखाप पार्ने गरेको उनले बताए । कीराको पूरा जीवनचक्र २४ देखि ४० दिनसम्मको हुन्छ । सुरुको लाभ्रेले पातको तल्लो सतहबाट हरियो पदार्थ कोत्रेर खाने भएकोले पातमा सेता धब्बाहरू देखिन्छन् । त्यसपछि पात खाँदै जाँदा पातमा थुप्रै प्वालहरू र आलो दिशा प्रस्ट देखिन्छ । लार्भाले गुभो खान सुरु गरेपछि गुभो खोतलेरर च्यातेर हेर्दा लार्भा प्रस्ट देख्न सकिने उनले बताए । मकै बढ्दै गएपछि लार्भाले धानचमरा, जुँगा, खोस्टामा प्वाल पारि घोगा दानामा समेत क्षेती पु-याउने गरेको पाइएको उनले बताए ।

पहाडी बाली अनुसन्धान केन्द्र काब्रे दोलखाका बालीविज्ञ धामीले राम्रोसँग खनजोत गरेर मकै रोपे फौजी कीरा केही हदसम्म नियन्त्रण गर्न सकिने बताए । एउटै खेतबारी मकैसँगै अन्तरबालीको रूपमा कोशेबाली लगाएर पनि कीराको प्रकोप कम गर्न सकिने उनको भनाइ छ । मकैमा कीरा नियन्त्रण गर्न घरेलु विषादी प्रयोग गर्न सकिने उनको भनाइ छ । मकैको गुभोमा माटोको धुलो, खरानीको धुलो राख्नाले कीराको प्रकोप कम हुँदै जाने उनले बताए । साथै गाइको पिसाबमा हरियो खुर्सानी पकाएको झोल एक भाग र दश भाग पानी मिसाएर गुभोमा प्रयोग गर्नाले पनि फौजी कीरा नियन्त्रणमा आउने उनले बताए । किसानले खेतबारीमा लगाएको वाली निरीक्षण गरी हातले कीराको फुल नष्ट गरेर पनि कीरा नियन्त्रण गर्न सक्नेछन् ।

किट विज्ञान महाशाखा खुमल्टर, ललितपुरका डाक्टर प्रेमनिधि शर्माका अनुसार सुरुको अवस्थाको लक्षण (पातको माथिल्लो सतहमा सेता लाम्चा झिल्लीसहितका धब्बा र धर्साहरू) देखिनासाथ विषादी एजाडीराक्टीन १५०० पीपीएम ५ मिलिलिटर प्रतिलिटर पानीमा मिसाएर छर्न सकिन्छ । जैविक विषादी व्याक्तटेरियामा आधारित मह शक्ति, डाइपेल २ मिलिलिटर वा २ ग्राम प्रतिलिटर पानीमा मिसाई मकै बालीमा लागेको कीरा नियन्त्रण गर्न सकिने उनको भनाइ छ । त्यसैगरी मकैको पातमा प्वाल वा गुभोमा क्षतिको लक्षण देखिनासाथ इमामेक्टीन बेन्जोयट ५ प्रतिशत, एसजी जिरो दशमलव ४ ग्राम प्रतिलिटर पानीमा मिसाई छर्किन सकिन्छ । साथै क्लोरएन्ट्रानिलीप्रोल १८ दशमलव ५ प्रतिशत, एससी जिरो दशमलव ४ मिलिलिटर प्रतिलिटर पानीमा मिसाएर छर्ने वा स्पाइनोस्याड ४५ प्रतिशत, एससी जिरो दशमलव ३ मिलिलिटर प्रतिलिटर पानीमा मिसाएर छर्किएर पनि अमेरिक फौजी कीरा नियन्त्रण गर्न सकिने पहाडीबाली अनुसन्धान कार्यक्रम, काब्रे दोलखाले जनाएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया