Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिदुग्ध उत्पादक संस्थाले दूध नउठाउँदा बिक्रीमा समस्या

दुग्ध उत्पादक संस्थाले दूध नउठाउँदा बिक्रीमा समस्या


चितवन । पछिल्लो समय जिल्लाबाट उत्पादित दूध नियमितरुपमा बिक्री हुन छाडेको छ । जिल्ला बाहिरका २८ देखि ३० वटा दुग्ध उत्पादक संस्थाले यहाँको दूध उठाउने गरेकामा पछिल्लो समय नियमित दूध उठाउँन छाडेसँगै बिक्रीमा कमी आएको हो ।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष किशोर बगालेका अनुसार कम्पनीहरूले हप्ताको एकपटक मात्रै दूध उठाउने गरेका छन् । उनले भने, “दूध उठ्न छाड्यो । अब कसरी बिक्री वितरण गर्ने ?” नियमित दूध बिक्री गर्ने अवस्था नभएको उनले बताए ।

जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमध्ये एक लाख ५० हजार लिटर बाहिरी जिल्लामा जाने गरेको थियो । दूध बिक्री हुन नसक्दा किसान चिन्तित भएका छन् ।

बगालेका अनुसार जिल्लाबाट बाहिर जाने दूध उठ्न छाडेपछि यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले दुग्ध उत्पादक किसानलाई सताउन थालेको छ । उनले भने, “हामीले प्रदेश र सङ्घीय सरकारका मन्त्री, मुख्यमन्त्री र प्रधानमन्त्रीलाई समेत जानकारी गराइसकेका छौँ । अहिलेसम्म समस्याको समाधान हुनसकेको छैन ।”

बाहिरबाट आयातित दुग्धजन्य वस्तुका कारण यहाँ उत्पादित वस्तुको बिक्री वितरण हुन नसकेको बगालेले राससलाई बताए । उनले भने, “रात्रिबसमा लुकाइछिपाई न्वाउनी, पाउडर दूधलगायत वस्तु भारतीय नाकाबाट आउने गरेका छन् ।” सरकारले प्रतिबन्ध गरेका वस्तुसमेत चितवनका बजारमा भेटिँदा स्थानीय प्रशासनले खासै चासो नदिएको उनले आरोप लगाए ।

बगालेले भन, “यही अवस्था रहे किसान आन्दोलनमा उत्रनुको विकल्प छैन”, किसानहरू सडक सङ्घर्षमा उत्रिएर आफ्नो समस्याको समाधान आफैँले खोज्नुपर्ने दिन नजिकिएको उनको भनाइ थियो ।

रामनगरमा रहेको चितवन मिल्क उद्योगमा उत्पादित वस्तु खपत नहुँदा बन्द गरेपछि अझै समस्या थपिएको दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष बगालेले बताए । उनले भने, “दूध उत्पादक किसानले असोजदेखिको भुक्तानी नपाउनु र निजी संस्थाले दूध नलानुले किसान मारमा परेका छन् ।”

बगालेका अनुसार अहिले केही मात्रामा दुग्ध विकास संस्थान ९डिडिसी०ले दूध उठाउने गरेको छ । निजी संस्थाहरूले लैजाने दूधमध्ये केही मात्रामा संस्थानले लैजाने भए पनि धेरै दूध उठ्न नसकेको उनको भनाइ थियो ।

दुग्ध उत्पादक किसानको समस्या समाधानका लागि सबै सरोकारवालाहरूले चासो दिन नसकेको सङ्घले जनाएको छ । दूध नउठ्ने अवस्था आए किसान पलायन हुनुपर्ने बाध्यता आउने उनले बताए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया